Please Update Your Browser.

एक वर्षमा ११ जना महिला हराए

२९ माघ, इलाम । 

सन् २०१५ मा रोजगारीकालागि भन्दै इलामबाट भारत गएका इलामका ११ युवती सम्पर्कमा छैनन् । रोजगारीको सिलसिलामा पूर्वी नाकाबाट पशुपतिनगरबाट लुकिछिपी भारत गएका १७ जनामध्ये ११ जना कहाँ छन् भन्ने कुनै टुङ्गो छैन ।

एक वर्षको सो अवधिमा १७ जनाका आफन्त तथा परिवारले माइती नेपाल पशुपतिनगर आवधिक गृहमा खोजी गरिदिन भन्दै निवेदन दिएका थिए । निवेदन परेपछि खोजी गरी ६ जनालाई आफन्तको जिम्मा लगाइएको आवधिक गृहका संयोजक होम ढकालले जानकारी दिए ।

उनीहरूलाई भारतको दार्जिलिङ, सिक्किम, सिलिगुढीलगायतका घर तथा होटलबाट उद्धार गरी परिवार तथा अभिभावकको जिम्मा लगाइएको छ । इलामको पूर्वी क्षेत्रका दर्जनौँ अवैध नाका हुँदै रोजगारीका लागि भारत हिँडेका तीन सय ९७ जनालाई सीमाक्षेत्रबाटै परामर्श गरी घर फर्काइएको माइती नेपालले जनाएको छ । रोजगारीका लागि भारत पुगेका एक सय २१ जनालाई माइती नेपाल, विभिन्न सङ्घसंस्था, प्रहरीको सहयोगमा उद्वार गरी पुनस्थापना केन्द्रमा राखिएको छ ।

इलामको जिर्मले, श्रीअन्तु, पशुपतिनगर, समालबुङ, गोर्खे, जोगमाई, माईमझुवा र मावु गाविसका चोरबाटोबाट दलालले नेपाली चेलीलाई भारतका विभिन्न शहर पुर्याउने गरेको पाइएकाले त्यस क्षेत्रमा माइती नेपाल र प्रहरीले संयुक्त रूपमा सञ्जाल बनाएर निग्रानी बढाइएको इलामका डिएसपी प्रकाश रानाभाटले बताए ।

१६ देखि ३० वर्षउमेर समूहका युवतीलाई जागिरको प्रलोभन देखाएर दलालले भारत पुर्याउने गरेको पाइएको छ ।रानाभाटले भनेत्यसरी भारत जानेहरूमा भूकम्प प्रभावित सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, काभ्रेलगायतका जिल्लाबाट युवती बढी छन् ।