Please Update Your Browser.

हेयर कटिङ् व्यवसाय सुरुवात गरेर नमूना

झलक पाली,

डोटी, ३० कार्तिक । डोटी सदरमुकाम सिलगढीका एक युवाले जिल्लाकै ईतिहासमा पहिलो पटक हेयर कटिङ् व्यवसायको शुरुवात गरेर नमूना बनेका छन् ।

सिलगढीका २० वर्षे युवा अशोक विकले जिल्ला प्रहरी कार्यालय डोटी नजिकै रहेको प्रहरी ब्यारिअलको छेउमा हेयर कटिङ् व्यवसाय शुरु गरेका हुन् ।

कक्षा १२ मा पढ्दै गरेका अशोकले यहि कार्तिक २१ गतेबाट मात्रै व्यवसाय शुरुवात गरेका हुन् । अहिले उनको हेयर कटिङ् शैलुनमा दैनिक सरदर २० जना ग्राहक आईरहेको उनले बताए ।

1-1भारत घर भएका चमन अन्सारीको सिलगढीमै रहेको मस्तान हेयर शैलुनमा करिब ८ महिनासम्म काम गरेर सिप सिकेका उनले झण्डै ६० हजारको लगानीमा मासिक पन्ध्र सय भाडामा लिएर टिनको खोकामा व्यवसाय शुरुवात गरेका हुन् ।

प्रति ग्राहक कपाल काटेको ५० रुपैंया र दाह्री काटेको ४० रुपैंया लिने गरेको उनले बताए । उनले दैनिक सरदर एक हजार रुपैंया बचत गरिरहेका छन् ।

नवलपरासीको भार्तीपुर–७ मा पुख्र्यौली घर भएका उनका बुबा मोतीराम विक कामको (मिस्त्री) शिलशिलामा माईती ठाउँ सिलगढीमा आएका थिए । उनीहरु करिब १४ वर्षदेखि सिलगढीमै बस्दै आएका छन् ।

अहिलेको शिक्षाबाट सहजै रोजगारी पाउन नसकिने र कामको खोजिमा भारत या विदेश चाहारिनु पर्ने अवस्थामा स्थानीय तवरमै व्यवसाय गर्न सकिन्छ भन्ने सोचाईका साथ हेयर कटिङ् व्यवसायमा लागेको उनले बताए ।

बुबाको अवस्था कमजोर रहेको र आफु जेठो छोरो भएकाले जीवन निर्वाह गर्न आर्थिक आर्जनको जिम्मेवारी काँधमा आएको महशुस गरेर व्यवसायमा लागेको उनी सुनाउँछन् । उनकी आमाले कडा श्रमजन्य काम गर्दै घर खर्च चलाउँदै आएकी थिईन् । अब आमालाई पनि ठूलो सहयोग पुग्ने अशोकको विश्वास छ ।

उनका भाई गोबिन्द विक पनि दाजुसँगै सोहि सिप सिकिरहेका छन् । केहि समय यता स्थानीय त्रिवेणी एफएममा काम गर्दै आएका गोबिन्द पनि कक्षा १२ मै पढ्छन् । उनकी बहिनी अश्मिता अहिले कक्षा ९ मा पढ्छिन् । सबै पारिवारिक खर्च चलाउन अब सहज हुने निश्चित देखिन्छ ।

प्राय सबै डिजाईनमा हेयर कटिङ् गर्न सिकीसकेका अशोकले अब यसै व्यवसायलाई आधुनिकीकरण गर्दै लैजाने अठोट गरेका छन् ।

अशोक र उनका भाई गोविन्द नृत्यमा पनि विशेष दखल राख्दछन् भने गोबिन्दले क्यारीक्याचरमा समेत दखल राख्दछन् ।

सिलगढीमा रहेको राणाकालिन दरबार हाल सिलगढीका स्थानीय संस्कार अमात्यको नाममा रहेको मुलढोकाको संरक्षण तथा हेरचाहको जिम्मेवारी लिएवाफत ५ सदस्यीय परिवार निशुल्क रुपमा डेरा गरि बस्दै आएका छन् ।

‘गरे सबै सम्भव’ छ भन्ने मान्यताका अशोकले शुरुवात गरेको हेयर कटिङ् व्यवसायको सम्मान गर्दै कपाल काट्न पुगेका सानागाउँ गाविसका गणेश कोलीले खुशी व्यक्त गरे । अशोकले शुरुवात गरेको कामको गाउँ–गाउँसम्म अनुकरण भईदिए राम्रो हुने उनले बताए ।

सिलगढीमा एउटा मात्रै व्यवसायिक शैलुन भएकाले निकै समय लाईन बस्नुपर्ने र कहिले काहिं आधा घण्टाको यात्रा गरेर दिपायल पुग्नुपर्ने बाध्यता रहेको थियो । उनको यस व्यवसाय शुरुवातसङ्गै यो बाध्यता पनि टर्ने देखिन्छ ।

यसभन्दा पहिले जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी निकायले हेयर कटिङ्का लागि तालिमहरु दिईसकेको भए पनि व्यवसाय शुरुवात भने कसैले पनि गरेका थिएनन् ।

यस्तो उदाहरणीय काम गर्ने जो कोहिले योजना सहित नगरपालीकामा आएमा सहयोग गर्न आफुहरु तयार रहेको दिपायल सिलगढी नगरपालीकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद जोशीले बताए ।