Please Update Your Browser.

पाँच वर्ष मुनिका बालबालिकाले मासिक चार सय पाउने

downloadअछाम, २४ पुस । पाँच वर्ष मुनिका सबै बालबालिकाले मासिक रुपमा ४ सय रुपैँया बाल पोषण भत्ता पाउने भएका छन् । मानव विकास सुचकांकमा सबैभन्दा पछाडी परेको जिल्ला अछाममा बाल संरक्षण अनुदान अन्र्तगत भत्ता दिन लागिएको हो ।

सरकारले चालु आर्थिक वर्षको माघ महिनादेखि नै जिल्लाका सबै बालबालिकालाई भत्ता दिने व्यवस्था मिलाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समितिलाई पत्र पठाउँदै आर्थिक वर्ष ०७३र०७४ को बजेटमा सबै क्षेत्रका विपन्न परिवारका २ जना बालबालिकाले क्रमशः बाल संरक्षण अनुदान प्राप्त गर्दै जाने उल्लेख भए बमोजिम अनुदान दिन लागिएको बताएको छ ।

पत्र अनुसार एकै परिवारका बढिमा दुई बालबालिका र भर्खर जन्मिएकादेखि पाँच वर्षभित्रका बालबालिकाले मात्र सो भत्ता पाउने छन् ।
मन्त्रालयले बाबु वा आमा मध्ये कुनै एक सरकारी सेवा तथा औपचारिक संगठन सेवामा लागेका वा कुुनै व्यवसाय दर्ता गरी बसेको भए तिनका बालबालिकालाई पनि बाल पोषण भत्ता नदिने स्पस्ट पारेको छ ।

पत्रमा पोषण भत्ता पाउन योग्य बालबालिकाको तथ्याङ्क र दरखास्त माघ मसान्तसम्म संकलन गर्ने र सोको आधारमा बजेटको अख्तियारी माग गर्नुपर्ने पनि उल्लेख गरिएको छ । मन्त्रालय अन्र्तगतको केन्द्रीय पञ्जीकरण विभागले प्रत्येक गाविस तथा नगरपालिकामा बाल पोषण भत्ता पाउन योग्य बालबालिकाको तथ्यांक संकलनमा गाविस सचिव तथा नगरका वडा सचिवलाई परिचालन गर्न र उनीहरूलाई यस बारेमा तालिम दिन निर्देशन दिएको छ ।

जिविसका योजना अधिकृत मित्रदेव लम्सालले बालबालिकाको पोषण अवस्था सुर्धाने उद्देश्यले सरकारले यो कार्यक्रम ल्याएको र बालबालिकाको तथ्यांक संकलनका लागि तत्कालै गाविस सचिवलाई परिचालन गरिने जानकारी दिए। अछामका स्थानीय विकास अधिकारी तोयानारायण सुवेदी भन्छन्, ‘भत्ता आवश्यक भएका बालबालिकाले मात्र पाउन भन्ने हाम्रो उदेश्य हो, यसबारे सबै सरोकारवासँग छलफल गर्नेछौं ।’