Please Update Your Browser.

एचआईभी/एड्सको जोखिममा महिला तथा बालबालिका

13495158_10208680597006627_2715644492827620588_n
मीरा राजभण्डारी अमात्य

६७ वर्षीया कृष्णकुमारी (नाम परिवर्तन) को दिनचर्या बिहान ४ बजे शुरु हुने गर्छ । बिहान उठेर घरको बढारकुढारदेखि पूजापाठसम्म भ्याउनुपर्छ उनलाई । दैनिकीको त्यो अघोषित तालिका त छँदै छ, नियमित गर्नुपर्ने यूरिक एसिडदेखि लिएर अन्य औषधि सेवनको तालिका पनि अलग्गै छ उनको । उनी अस्पताल त एक पटक मात्र गइन् तर औषधि भने कहिले श्रीमानले त कहिले छोराले ल्याइदिने गरेको छ । नियमित खानुपर्ने एउटा औषधि केको लागि हो भन्ने कुरा उनैलाई थाहा छैन । ‘बुढेसकालमा खाने तागतकै औषधि त होला नि’ – उनको बुझाइ छ । जीवनभर श्रीमानलाई देवताका रूपमा पुज्दै आएकी कृष्णकुमारीलाई थाहा छैन – उनै ‘देवता’का कारण अहिले उनी एचआईभीबाट सङ्क्रमित भएकी छिन् ।

अहिले वीर अस्पताल, शिक्षण अस्पताल तथा शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण केन्द्रमा कृष्णकुमारी जस्ता सयौँ महिला आफ्ना श्रीमानका कारण एचआईभी सङ्क्रमित भई उपचारका लागि धाइरहेका छन् । रोगका कारण आत्मविश्वास डगमगाएको त छ नै, समाजले थाहा पाउला र छोराछोरीको भविष्य बिग्रेला भन्ने चिन्ता पनि उति नै छ ती महिलालाई ।

उसो त अस्पतालले एचआईभी सङ्क्रमित पुरुष वा महिलालाई मनोपरामर्श दिने क्रममा आफ्नो जीवनसाथीलाई पनि ल्याउन सल्लाह दिइरहेको हुन्छ तर यो त्यसो गर्नुपर्ने बाध्यता नभएका कारण सङ्क्रमितका श्रीमतीहरूलाई उपचारको दायरामा ल्याउन कठिन भइरहेको छ । श्रीमतीले थाहा पाएमा घर भाँडिने र परिवारका सदस्यहरूको आँखाबाट खस्ने त्रासका कारण कैयौँ सङ्क्रमित पुरुषले श्रीमतीलाई आफ्नो रोगबारे थाहा दिएका हुँदैनन् । त्यस्तै आफू सङ्क्रमित भएको थाहा दिएमा कण्डम प्रयोग गर्नुपर्ने डरले पनि सङ्क्रमितहरूले श्रीमती वा प्रेमिकालाई जानकारी दिने नगरेको अनुभव छ यस क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको । यस प्रवृत्तिबाट महिलाहरूको स्वास्थ्यमा नकारात्मक असर त परेको छ नै, सङ्क्रमितहरूको सङ्ख्यामा पनि वृद्धि हुने सम्भावना पनि छ । सङ्क्रमित महिलाबाट जन्मिने बच्चामा पनि एचआईभी सर्ने तथा सतर्कताको कमीका कारण ती महिला तथा पुरुषका रगतबाट अन्यलाई सङ्क्रमित बनाउने अवस्था पनि उत्तिकै रहन्छ ।

वीर अस्पतालको एआरटी क्लिनिक (एण्टी रेक्टोभाइरल थेरापी क्लिनिक) परिसरमा घरि यता घरि उता गरिरहेका विराटनगरका हीराबहादुर (नाम परिवर्तन) को अनुहारमा पछुतोको भाव थियो । छोरी र श्रीमतीसहित परामर्शका लागि अस्पताल आएका उनी आफूले नगर्नुपर्ने काम गरेकोमा पछुतो लागिरहेको थियो । काम विशेषले श्रीमतीबाट टाढा रहँदा यौनकर्मीको संसर्गमा लागेकै कारण पाँच वर्ष पहिले एचआईभीबाट सङ्क्रमित उनले काउन्सलिङ इन्चार्जकै परामर्शमा बल्ल श्रीमतीलाई आफ्नो रोगबारे बताउन र मनोपरामर्श गराउनका लागि आफ्नी श्रीमतीलाई पनि सँगै ल्याएका थिए । श्रीमानको छटपटिको कारण नबुझेकी उनकी श्रीमती घरि आफ्ना श्रीमानलाई त घरि मनोपरामर्शदाता पूर्णिमा शाक्यलाई प्रश्नवाचक दृष्टिले हेर्दै थिइन् । कोही सङ्क्रमितले आफ्नी श्रीमती वा प्रेमिकालाई आफ्नो रोगबारे बताउन सँगै एआरटी क्लिनिकमा ल्याउँदा बडो पीडा हुने गर्छ मनोपरामर्शदाता शाक्यलाई । लोग्ने वा प्रेमी सङ्क्रमित भएको थाहा दिएपछि उनीहरूका अनुहारमा देखिने भय र दुःखलाई व्यहोर्न बडो गाह«ो हुने गर्छ । त्यस्तै वास्तकिता थाहा पाएपछि श्रीमान श्रीमतीबीच झगडा परेर अस्पतालको वातावरण नै खल्बिलिने गरेका थुप्रै उदाहरण छन् पूर्णिमालगायतका स्वास्थ्यकर्मीहरूसँग ।

अर्की पात्र हुन् १८ वर्षीया यौनकर्मी प्रतिमा (नाम परिवर्तन) । विगत छ वर्षदेखि यौन पेशामा लागेकी प्रतिमा १२ वर्षकै उमेरमा एचआईभीबाट सङ्क्रमित भएकी थिइन् । यौन रोगको उपचारका क्रममा उनी एचआईभी सङ्क्रमित रहेको पत्ता लागेको थियो । उनी सो रोगबाट कहिले सङ्क्रमित बनिन् भन्ने कुरा उनैलाई थाहा छैन । सानै उमेरमा बाबा गुमाउनुपरेको थियो उनले । आमा पनि रक्सीको कुलतमा परेपछि प्रतिमा पेट पाल्नकै लागि यौन पेशामा लाग्न बाध्य भएकी थिइन् । अहिले पनि दिनको सरदर पाँच ग्राहकलाई सेवा दिँदै आएकी छिन् । किशोरी प्रतिमाको भविष्य त अँध्यारो भयो भयो, उनीसँग बिना सुरक्षा यौन सम्पर्क राख्ने ग्राहक तथा उनीहरूका श्रीमती तथा पे्रमिकाहरूको भविष्य पनि एचआईभी सङ्क्रमितको सूचीमा आउने निश्चित छ ।
नेपालमा यौन बजार प्रतिबन्धित भए पनि अव्यवस्थित रूपमा यसले अस्तित्व लिइरहेको छ । यसले गर्दा यौन पेशामा लागेकाबाट एभआईभि सङ्क्रमित हुने क्रम बढ्दो छ । आफू सङ्क्रमित भएको थाहा पाएमा ग्राहक घट्ने डर छ प्रतिमालाई । रोग सर्ला भनी कण्डम प्रयोग गर्न आग्रह गर्दा ग्राहकहरू स्वयम् नमान्नाले प्रतिमालाई अन्य यौनरोगले सताउने गरेको त छ नै, ग्राहकहरू तथा उनीहरूका माध्यमबाट उनीहरूसँग जोडिएका अन्य महिला पनि एचआईभीलगायतका यौन रोगबाट सङ्क्रमित भइरहेका छन् ।

त्यस्तै कथा छ काठमाडौँका विजयलाल (नाम परिवर्तन) को । सानैमा लागुपदार्थ दुव्र्यसनि बनेका उनलाई २० वर्षकै उमेरमा एचआईभी सङ्क्रमण भएको थियो । आफू सङ्क्रमित भएको थाहा पाएपछि आफ्नी श्रीमतीले समेत साथ छोडेको दुःखद् स्मरण छ उनीसँग । एआरटी क्लिनिकबाट उपचार लिन शुरु गरेको १६ वर्ष भइसकेको विजय अहिले सामान्य मानिस जस्तै आफ्नो काममा लागिरहेका छन् । विजयको बुझाइ छ – समाजले वर्जित गरेका काम कसैलाई नगर भन्दैमा नगरिने होइन, सही वा गलत खुट्याउने क्षमता आफैमा नभएसम्म कुनै पनि दुव्र्यसन नियन्त्रित हुँदैन ।

अहिले वीर अस्पताल तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्रका एआरटी क्लिनिकमा सङ्क्रमितहरूको आवागमन बाक्लै हुने गरेको छ । वीर अस्पतालमा मात्रै दिनको सरदर पाँच जना नयाँ बिरामी एचआईभी परीक्षणका लागि आउने गरेका छन् भने नियमित औषधि लिन तथा मनोपरामर्शका लागि दैनिक १० जना आउने गरेका छन् । अस्पतालमा आउने सङ्क्रमितहरू प्रायः न्यून आय भएका पाइएबाट आर्थिक स्तर राम्रो भएकाहरू आफ्नो रोग लुकाउनका लागि बाहिर निजी क्लिनिकमा परीक्षण गरी औषधि खाने गरेको अनुमान गर्दै सङ्क्रमितको सङ्ख्या प्रकाशमा आएभन्दा बढी हुनसक्ने सम्भावना यस क्षेत्रमा काम गरिरहेका विज्ञहरूले व्यक्त गरेका छन् ।

15726359_1444378765575333_7057244162782164285_n

के हो एचआर्ईभी ?

एचआईभी (ह्युमन इम्युनो डिफिसियन्सी भाइरस) एक जीवाणु हो । यसको सङ्क्रमणबाट मानिसको शरीरमा रोगहरूसँग लड्ने प्रतिरक्षा शक्ति कम भई कालान्तरमा रोगी एड्सको अवस्थामा पुग्दछन् । यो जीवाणु मानिसको रगत, वीर्य र योनीरसमा बाँच्दछ र यिनैका माध्यमबाट अर्काे व्यक्तिमा सर्दछ । एचआईभी शरीरमा पस्ने बित्तिकै यसबाट सङ्क्रमित भएकोबारे सम्बन्धितलाई जानकारी भने हुँदैन ।

नेपालमा एचआईभी

अफ्रिकामा पाइने एक प्रकारको चिम्पाञ्जीको रगतबाट मानिसमा सरेको यो रोग बीसौँ शताब्दीको ७० को दशकमा अमेरिका लगायत विश्वका अन्य देशमा पनि क्रमशः फैलिएको थियो । नेपालमा बीसौँ शताब्दीको ८० को दशकमा पहिलो पटक एचआईभी सङ्क्रमित फेला परेको थियो । विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदन अनुसार विश्वमा सन २०१५ सम्ममा सात करोड मानिस एचआईभीबाट सङ्क्रमित भइसकेका थिए । तीमध्ये साढे तीन करोड मानिसको मृत्यु भइसकेको छ भने तीन करोड ६० लाखभन्दा मानिस सङ्क्रमित अवस्थामा छन् । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रद्वारा सन् २०१५ मा सार्वजनिक गरिएको एक प्रतिवेदन अनुसार नेपालमा ३९ हजार ३९७ जना एचआईभी सङ्क्रमित छन् । तीमध्ये १५ देखि ४९ वर्षको उमेर समूहका ३० हजार ७४ जना छन् भने सोभन्दा कम उमेरका एक हजार ५८९ बालबालिका पनि यस जीवाणुबाट पीडित छन् । वीर अस्पतालमा २०६७ सालदेखि हालसम्म उपचारका लागि आएका सङ्क्रमितको सङ्ख्या दुई हजार ८९३ रहेको छ भने नियमित औषधि र उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्या ४८१ रहेको छ । त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा एक हजार ९५९ सङ्क्रमित दर्ता रहेका छन् । तीमध्ये नियमित औषधि खाने एक हजार ६३४ छन् ।

जोखिममा महिला तथा बालबालिका

हालसम्मको अध्ययनले लागू औषध दुव्र्यसनी, यौन व्यवसायी तथा ग्राहक, समलिङ्गी, वैदेशिक रोजगारीमा जाने पुरुष तथा उनीहरूका श्रीमतीहरू बढी मात्रामा यस जीवाणुबाट सङ्क्रमित भएको पाइएको छ । यसमा पनि महिलालाई सङ्क्रमित बनाउनमा पुरुषहरू नै बढी कारक देखिएको छ । विशेष गरी वैदेशिक रोजगारीमा जाने तथा काम विशेषका कारण श्रीमतीबाट टाढा रहने पुरुषबाट महिला अनाहकमा सङ्क्रमित हुनु परेको अवस्था छ । आफ्नो घर भाँडिएला भनी पुरुषले श्रीमतीबाट दशकौँसम्म अनेक बहानामा रोग लुकाउने, असुरक्षित यौन सम्पर्क राख्ने र श्रीमती वा प्रेमिकालाई उपचार तथा मनोपरामर्शमा ल्याउने नगरेका कारणले महिलाहरू पुरुषमा भएको रोग आफ्नो शरीरमा लिन बाध्य भइरहेका छन् ।

त्यस्तै सङ्क्रमित श्रीमानबाट गर्भवती भएका महिला तथा सङ्क्रमित गर्भवतीबाट जन्मिएका बालबालिका समेत एचआईभीको शिकार भइरहेका छन् । वीर अस्पतालमा त्यस्ता दुई वर्षदेखि १३ वर्षसम्मका बालबालिका उपचार गराइरहेका छन् । त्यस्तै सङ्क्रमित युवकले पनि विवाह गरी असुरक्षित यौन सम्पर्क गर्दा नवविवाहितालाई समेत जोखिममा पारेको घटना प्रशस्तै छन् । हालै गरिएको एक अध्ययनका अनुसार सडक बालबालिका समेत एचआईभी सङ्क्रमणको उच्च जोखिममा रहेका छन् । सो अध्ययनका अनुसार २८ प्रतिशत बालबालिका सात वर्षदेखि १४ वर्षको हुँदा बलात् यौन सम्पर्कमा पर्ने गरेका छन् । उनीहरूलाई एचआईभीबारे न्युन ज्ञान हुने र असुरक्षित यौन सम्पर्कमा आउने कारण उनीहरू एचआईभी सङ्क्रमणको जोखिममा रहेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

निष्कर्ष

विगतमा एचआईभीलाई प्राणघातक रोगका रूपमा हेर्ने गरिए पनि अहिले त्यो अवस्था छैन । अहिले यसलाई पनि एक दीर्घ रोगका रूपमा ग्रहण गर्न थालिएको छ । वास्तवमा रोग लाग्नुलाई दुर्भाग्य मान्नुभन्दा पनि यसको व्यवस्थापन तथा सर्न नदिनका लागि सतर्कता अपनाउनतिर ध्यान दिएमा हरेक रोगबाट बच्न सकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालस्थित एआरटी क्लिनिकका इञ्चार्ज सीता पोखरेल बताउनुहुन्छ ।

पोखरेलको सुझाव छ, “वैदेशिक रोजगारीमा रहेका तथा काम विशेषले श्रीमानबाट टाढा रहेका श्रीमतीहरूले कम्तीमा एक दिन आफ्ना श्रीमानलाई सुरक्षित यौन सम्पर्क राख्न तथा भोलीपल्ट एआरटी क्लिनिकमा रगत परीक्षणका लागि ल्याउन सकेमा पनि एचआईभीबाट धेरै हदसम्म बच्न सकिन्छ ।” त्यस्तै आफ्ना विश्वासिलो व्यक्तिसँग मात्र सुरक्षित यौन सम्बन्ध राख्नुपर्ने सुझाव पनि उहाँ दिनुहुन्छ ।

समयमै औषधि खाएमा एड्स हुनबाट बच्न सकिन्छ भने दीर्घकालसम्म सामान्य मानिस जस्तै बाँच्न सकिन्छ । अहिले यसको रोकथामका लागि गरिने सबै उपचार सरकारले निःशुल्क उपलब्ध गराइरहेको छ । विगतमा रु. ४० हजारसम्म पर्ने औषधि अहिले देशका सबै एआरटी क्लिनिकहरूबाट निःशुल्क वितरण भइरहेको छ भने किनेरै खान पनि रु. तीन हजारसम्म मात्र पर्ने गरेको छ । काठमाडौँमा वीर अस्पताल तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका एआरटी क्लिनिकहरूमा निःशुल्क परामर्श तथा रक्त परीक्षणदेखि औषधि पनि निःशुल्क पाइन्छ । यस्ता एआरटी क्लिनिक नेपालमा ६५ वटा सञ्चालनमा छन् ।

रोग लाग्नै नदिन सवैभन्दा पहिले आफै सतर्क रहनुपर्ने त छँदै छ तर लागी हालेमा मनोपरामर्शमा जाने, नियमित औषधिको सेवन गर्ने, आत्मविश्वासी बन्ने तथा आफूले यौन सम्बन्ध राखेकाको पनि स्वास्थ्य परीक्षण गराउने गरेमा सङ्क्रमितको सङ्ख्या विस्तार नहुने बताउनुहुन्छ वीर अस्पताल एआरटी क्लिनिकका इञ्चार्ज पूर्णिमा शाक्य ।

शाक्य भन्नुहुन्छ, “कुनै बेला बिफरको महामारी हुन्थ्यो तर बिफर संसारबाट हराइसकेको छ । त्यस्तै एचआईभी सङ्क्रमण पनि शून्यमा झार्ने लक्ष्य विश्व स्वास्थ्य सङ्गठनको छ । यो लक्ष्य हासिल गर्नका लागि सुरक्षित यौन सम्पर्कमा रहने र एचआईभीबाट जोगिने अन्य उपाय अपनाउने तत्परताको मात्र आवश्यकता छ ।” गोरखापत्रबाट साभार