धनगढी, १ माघ । भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकप २०७३ को उपाधि ए डिभिजन क्लव मनाङ मस्याङ्दी च्याम्पीयन वनेको छ । शनिवार ७ हजार दर्शक रहेको धनगढी रंगशालामा मनाङले काठमाडौंको अर्को क्लव संकटालाई १–० ले किनारा लगाएर नगद ५ लाख हात पारेको हो ।
शनिवार दिउँसो भएको फाईनलमा मनाङले खेल सुरु भएको ३ मिनेटमा गरेको गोल नै निर्णय भएको हो । जर्सी नम्वर १० का कप्तान अनिल गुरुङले संकटाको आपसी तालमेल विग्रेको मौकालाई सदुपयोग गर्दै वललाई गोलपोष्टको दिशा दिएका हुन् । पहिलो हाफमा अधिकांश समय मनाङको कव्जामा वल भएपनि दोस्रो हाफमा संकटाले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन् ।
संकटाले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा उपविजेतामा चित्त वुझाउँदै दुई लाख ५१ हजार नगद हात पारेको छ । संकटाका जर्सी नम्वर १७ का विश्व अधिकारीले खेलको अन्त्यतिर प्रहार गरेको वल मनाङका गोलरक्षक दिनेश थापा मगरले वचाउ गरेका हुन ।
जितपछि प्रतिक्रिया दिदै मनाङका कप्तान अनिल गुरुङले आफुहरु जित्नका लागि आएको र पहिलो पटक सुदुरपश्चिम खप्तड गोल्डकपको च्याम्पीयन हुन पाउँदा खुशी लागेको बताए ।
संकटाका प्रशिक्षक सल्यान खड्गीले आफुहरुलाई भाग्यले साथ नदिएका कारण र पाएको पेनाल्टी खेल फाल्दा पराजित भएको बताए ।
पुस २१ गतेदेखि सञ्चालन भएको गोल्डकपको उत्कृष्ट खेलाडी मनाङका कप्तान अनिल गुरुङ भए । दुई खेलमा म्यान अफ द म्याच भएका उनले ३ गोल समेत गरेका थिए । सर्वोउत्कृष्ट खेलाडी वनेका उनले यमाहा मोटरसाईकल हात पारेका छन् ।
गोल्डकपमा संकटाका गोरक्षक राजु नगरकोटी उत्कृष्ट गोरक्षक, मनाङका विराज महर्जन उत्कृष्ट रक्षक, डुकस्टार भुटानका केन्चो तावगे उत्कृष्ट स्ट्राईकर, सुदुरपश्चिम ११ का नरेन्द्र चौधरी उदयमान खेलाडी, मनाङका प्रशिक्षक छिरिङ लोप्चन गुरुङ उत्कृष्ट प्रशिक्षक र सुदुरपश्चिम ११ का मणीराम चौधरी सर्वाधिक गोलकर्ता भए । उनले दुई खेलमा एक ह्याट्रिक गरेका थिए ।
भागेश्वर गुप्रको मुख्य प्रायोजनमा भएको गोल्डकपका विजयी खेलाडीहरुलाई सांसद मदनकुमारी शाह, एन्फाका केन्द्रिय सदस्य गणेश चन्द, कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंह, मुख्य प्रायोजक भागेश्वर गुप्रका सञ्चालक टेकवहादुर वोगटी लगायतले नगद सिल्ड तथा प्रमाण पत्र वितरण गरे ।
सुदुरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले समापन समारोहमा आगामी वर्षको गोल्डकपको नगद धनराशी दोव्वर गर्ने घोषणा गरे । उनले विजेताले नगद ११ लाख ११ हजार १ सय ११ तथा उपविजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ पाउने घोषणा गरे ।
६ महिना अगाडी स्थापना भएको क्लवले पहिलो पटक सुदुरपश्चिममा गोल्डकप आयोजना गरेको हो । सुदुरपश्चिममा आयोजना भएको पहिलो गोल्डकपले यसक्षेत्रको फुटवल विकासका लागि महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।