Please Update Your Browser.

बालविवाह गरे ३ पुस्ते नामावली टाँस्ने अभियान शुरु

01-15बैतडी, १० माघ । बैतडीको हाट गाविसलाई बालविवाह शुन्य गाविस बनाउनका लागि पहल थालिएको छ । गाविसमा उमेर नपुग्दै बिहे गर्ने गराउनेको तीन पुस्ते नामावली टाँस्ने अभियान सुरु गरेको युवा सञ्जालले जनाएको छ ।

बालविवाह न्यूनीकरणका लागि गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत समूह अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तरक्रिया गर्ने, बालविवाह गर्नेहरुलाई सामाजिक रुपमा बहिष्कार गर्ने लगायतका कार्यक्रमहरु तय गरिएका हाट स्वास्थ्यचौकीका इन्र्चाज विनोद कुमार कुवरले जानकारी दिए । बालविवाहले महिलाको समग्र जीवनमा समस्या आउने, शिक्षा ग्रहण गर्न नपाउने लगायतका समस्याहरु देखिएपछि बालविवाह न्यूनीकरणको अभियान थालिएको उनले बताए ।

हाटलाई जिल्लाकै नमूना स्वास्थ्य गाविस घोषणा गर्न पनि बालविवाह अन्त्य गर्नुपर्ने भएकाले बालविवाह न्यूनीकरणको अभियान सुरु गरिएको गाविसस्तरीय बालसञ्जालका प्रतिनिधि लालबहादुर भण्डारीले बताए । बालविवाह गर्न कानुनले बन्देज लगाएको भएपनि कतिपय ठाउँमा अझै पनि बालविवाह भइरहेकाले यसको अन्त्यका लागि प्रयास भइरहेको भण्डारीले जानकारी दिए ।