Please Update Your Browser.

सिंचाई कुलो निर्माणले सयौं हेक्टर जमिन सिंचित

कालिकोट, १८ माघ । जिल्लाको नाग्मगाड सिंचाई कुलो निर्माण भएपछि फोइमहादेव गाबिसको सयौं हेक्टर जमिनमा सिंचाई पुगेको छ । साना सिंचाई परियोजनाबाट ३ किलोमिटर ४ सय मिटर लामो सिंचाई कुलो निर्माण भएपछि गाबिसका वडा न.१ र २ का सयौं हेक्टर जमिन सिंचाई पुगेको हो ।

सिंचाई कुलो निर्माण भएपछि गाउँमा स्याउ, तरकारी खेती अन्न उत्पादनमा बृद्धि भएको छ ।

गाउँमा पानी नभएको र हिउँदको समयमा खडेरीका कारणले स्याउ, अन्नबाली सिंचाई गर्न समस्या हुदाँ उत्पादन कमी हुने गरेको र हाल सिंचाई कुलो निर्माण भएपछि गाउँमा तरकारी खेती, अन्य अन्नबाली र स्याउमा सिंचाई गर्न सजिलो भएको स्थानीय गोरीकला दमाईले बताइन् ।

‘सिंचाई कुलो निर्माण भएपछि सबैभन्दा बढी महिलालाई सजिलो भएको छ ।’ उनले भनिन्,–‘पुरुषहरु बिदेश जाने र हामी महिलाहरुले घरको काम गर्नु भएकाले पहिले गाउँ सिंचाई नहुदाँ स्याउ तरकारी र अन्नबाली उत्पादनमा कमी हुने गरेको थियो ।’

सिंचाई कुलो निर्माणले गाउँका करिब ५ हजार स्याउका बिरुवामा सिंचाई पुगेको र गाउँमा धान उत्पादन हुने खेतमा सिंचाई पुगेका कारणले उत्पादन बृद्धि हुने स्थानीय लिला नेपालीले बताए । ‘सिंचाई कुलो निर्माणले गाउँको उत्पादनमा बृद्धि भएको छ ।’ उनले भने,–‘सिंचाईका कारणले करिब ५ हजार स्याउका बिरुवा तरकारी बालीमा पनि सिंचाई पुगेको छ ।’

सिंचाई कुलो निर्माण गर्न ७५ लाख ३५ हजार ३ सय २० रपैयाँ परियोजनाले लगानी गरेको, ५ लाख २१ हजार ५४ रुपैयाँ स्थानीयले श्रमदानबाट सिंचाई कुलो निर्मित भएको साना सिंचाई परियोजनाका सव–इन्जिनियर कमल रावलले बताए । ‘परियोजना र स्थानीयको श्रमदानबाट कुलो निर्माण भएको हो ।’ उनले भने,–‘स्थानीयले सिंचाई कुलोलाई अझैँ बढाउनु पर्ने माग गरेको छन् । लागत पनि बढ्ने संम्भावना रहेको छ ।’

साना सिंचाई परियोजनाले गत आर्थिक बर्षमा जिल्लाभरीमा २० वटा सिंचाई कुलो निर्माण गरेको र यस आर्थिक बर्षमा थप ४० वटा सिंचाई कुलो निर्माण गर्ने लक्ष्य लिएको साना सिंचाई परियोजनाका टिम लिडर नरेन्द्रबहादुर लामाले बताए । ‘हामीले देश भरीका ९ जिल्लामा काम गरिरहेका छौं ।’ उनले भने,–‘कालिकोटमा २ सयभन्दा बढी सिंचाई कुलो निर्माण गर्ने लक्ष्य रहेकोमा गत आर्थिक बर्षमा ४० वटा सिंचाई कुलो निर्माण गरिएको र यस बर्ष थप ४० सिंचाई कुलो निर्माण गर्ने लक्ष्य राखेको छौं ।’

जिल्लामा साना सिंचाई परियोजनाले ४ बर्षमा २ सयभन्दा बढी सिंचाई कुलो निर्माण गर्ने लक्ष्य राखेको साना सिंचाई परियोजनाका अनुगमन तथा मुल्याङ्कन अधिकृत आर्यसरत गौतमले बताइन् ।