Please Update Your Browser.

कुलराजको नयाँ कोसेलीः ‘कसरी देखौं माया तिमीलाई’ 

काठमाडौं, ३ फागुन । गायक कुलराज थापा संगीतप्रेमी श्रोतामाझ आफ्नो नयाँ कोशेली ‘कसरी देखौं माया तिमीलाई’ शिर्षकको म्यूजिक एल्बम लिएर आएका छन् । हाल बजारमा आएका एल्बममा भन्दा अलि भिन्न र पृथक शैलीका गीतहरु समावेश गरिएका उक्त एल्बममा जम्मा ७ वटा गीतहरु समावेश गरिएका छन् । एल्बममा आधुनिक, पप शैलीका गीतका साथै तामाङ सेलो पनि समावेश गरिएको छ । एल्बमको गीत ‘चिटिक्कै परेकी’ को चौरी गोठको परिवेशमा कालिन्चोकमा छायांकन समेत गरिएको छ ।

अहिलेको पुस्ताको आधुनिक गीत प्रतिको लगाब र म्यूजिक भिडियोप्रतिको क्रेजका कारण एल्बमको एउटा गीतको छायांकन भने विदेशका विभिन्न स्थानमा पनि गरिएका गायक एवं लेखक कुलराज थापाले बताए । चरिकोटमा करिव दुई दशक अगाडि स्थापना भएको सांगितीक समूह आरकेटीका सदस्यहरु कुलराज थापाका साथमा रामचन्द्र थापा र टेन्जिङ शेर्पाले पनि उक्त एल्बममा आफ्नो स्वर दिएका छन् ।

अल्लाहाबादस्थित प्रज्ञा संगीत समितिबाट संगीतमा डिप्लोमा गरेका कुलराजले करिव दुई दशक अगाडिदेखि नै सांगितीक क्षेत्रमा लागेका हुन् । आफ्ना दुई साथीहरु रामचन्द्र र तेन्जिङसँग मिलेर २०५४ सालमा स्थापना भएको ब्याण्ड आरकेटीमार्फत वैशालु मायाको शिर्षको एल्बम पनि बजारमा ल्याइसकेका छन् । त्यसैगरी उनको भजन एल्बम शुखाश्रयले पनि आध्यात्मिक जगतमा निकै चर्चा पाएको थियो । उक्त एल्बमको एक गीत जय जय कृष्णको त्यतिबेला नै म्युजिक भिडियो समते तयार भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(इनास)को ग्लोबल कमिटि सदस्यसमेत रहेका कुलराजले दोलखा भिमेश्वर, कालिन्चोक भगवतीलगायतका भजन एल्बम श्रोतामाझ ल्याइसकेका छन् । हाल उनी आफ्नो नयाँ भजन एल्बमको रिलिजको तयारीमा रहेका छन् । उक्त एल्बममा संगीत भने रामचन्द्र थापाको रहेको छ । तबला, तानपुरालगायतका बाद्ययन्त्र समेत बजाउने गरेका कुलराज फलैंचा संगीत अभियानमा पनि सम्लग्न रहेका छन् । पहिले धेरै साधना गरेर एउटा गीत जन्मने हुनाले ती कालजयी रहने र अहिले आएका हल्का फुल्का गीत छोटो समयमै हराएर जाने भएकाले अहिलेका पुस्ताले पनि मेहेनत गरेर राम्रा गीत निकाल्नुपर्नेमा उनले जोड दिए ।