Please Update Your Browser.

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित

काठमाडौं, १० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन्। सोमबार भएको मतदानमा थापाले अर्का उम्मेदवार प्रदीपविक्रम राणालाई अत्यधिक मतले पराजित गरेका हुन्। 

निर्वाचनमा कुल तीन हजार एक सय ३६ मत खसेको थियो। थापाले दुई हजार आठ सय चार मत प्राप्त गरे। राणाले दुई सय ५१ मत पाएका छन्। ८१ मत बदर भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।

महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास राणाको उम्मेदवारीपछि असफल भएको थियो। कमल थापालाई अध्यक्षमा समर्थन गर्ने शीर्ष नेताबीचको सहमति तोड्दै अर्का नेता प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए। तर प्रतिनिधिहरूको दबाबपछि उनी पछि हटे।  

अध्यक्षमा निर्वाचित भएपछि सम्बोधन गर्दै थापाले कसैप्रति प्रतिशोधको भावना नलिई पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाए। ‘मलाई दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नेछु। कुनै पनि काममा पार्टी कार्यकर्ताको शिर निहुर्यानउन दिन्न,’ थापाले भने।  
पार्टीको सिद्धान्त स्थापित गर्दै आगामी निर्वाचनबाट सबैभन्दा ठूलो शक्ति बनाउने थापाले बताए। उनले भने, ‘आगामी चुनावबाट राप्रपाले आफ्नै शक्ति र नेतृत्वमा सरकार गठन गर्नेछ।’ एकता महाधिवेशनबाट निर्वाचित भएसँगै कमल थापा राष्ट्रिय राजनीतिमा शक्तिशाली नेताका रूपमा स्थापित हुने भएका छन्। संसद्मा राप्रपाको ३६ सिट छ।