Please Update Your Browser.

कैलालीका ६ वटै निर्वाचन क्षेत्रमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

गोबिन्द बीसी\कोसेलीन्यूज,

फागुन, १० बौनिया । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित कैलालीमा यसबर्ष निर्वाचन क्षेत्र तथा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड फाल्गुण १६ गते देखि सुरु हुने भएको छ ।

जिल्ला शिक्षा कार्यालय कैलालीको समन्वय र कैलाली जिल्ला खेलकुद बिकास समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुने भएको जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।

नेपाल सरकार, यूवा तथा खेलकुद मन्त्रालयको आ.व २०७३\०७४ स्वीकृत कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा कैलाली जिल्लाभरका सम्पूर्ण सामूदायिक तथा संस्थागत बिद्यालय सहभागिताका लागि परिपत्र समेत गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति कैलालीका कार्यालय प्रमुख टोप बहादुर विष्टका अनुसार जिल्लामा यहि फागुन १६ देखि खेलकुद सुरु भई २७ गते समापन हुनेछ ।

कैलाली जिल्लाका ६ वटै निर्बाचन क्षेत्रमा सञ्चालन गरिने प्रतियोगिता अन्तर्गत क्षेत्र नं।१ र ३ को फाल्गुण १६ देखि १७ सम्म बिरेन्द्र बिद्या मन्दिर टीकापुर र मोहन्याल उमावि भजनी, क्षेत्र नं।२ र ४ को फाल्गुण १९ देखि २० सम्म बसन्त मुरारी उमावि बौनिया र राष्ट्रिय उमाबि सुखडमा प्रतियोगिता हुनेछ ।

यस्तै क्षेत्र नं। ५ र ६ को सशस्त्र प्रहरी खेल मैदान अत्तरीया र धनगढी रंगशाला कबर्डहलमा हुने कार्यक्रम तालिका सार्वजनिक गरिएको छ ।
जिल्लाका ६ वटै निर्बाचन क्षेत्रबाट छनौट भई आएका प्रथम र दोस्रो स्थान प्राप्त गर्ने खेलाडीको फागुन २६ र २७ गते धनगढी रंगशालामा खेल हुनेछ ।

नवौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथ्लेटिक्स तर्फ दौड, हाईजम्प, लमजम्प, त्रिपलजम्प मार्सलआर्टतर्फ कराते, तेक्वान्दो, उसु यस्तै भलिबल र कबड्डी हुने भएका छन् ।

खेलाडीका नाम दर्ता गर्न सकिने जिल्ला खेलकुद विकास समिति कैलालीले जनाएको छ ।

रनिङ्ग शिल्ड तथा बिद्यालय खेलकुद प्रतियोगिता अन्र्तगत समावेश गरिएका सबै खेलहरुमा छात्र र छात्रालाई दुबैतर्फ प्रतिस्पर्धा गराईने जानकारी दिइएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने बिद्यालयले बिद्यालयको झण्डा र खेलाडी पोसाक अनिवार्य रुपले प्रयोग गर्नुपर्ने कार्यालय प्रमुख टोप बहादुर विष्टले बताएका छन् । 

प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत छात्राछात्राहरुले मात्र सहभागिता जनाउन पाउने समेत उल्लेख गरिएको छ ।