Please Update Your Browser.

गाँजा खाएर शिवजी बन्ने भए मसानघाटमा सुतौं

हिन्दु धर्मदर्शनअनुसार भगवत् शक्तिका प्रमुख तीन आयाम छन् । ती आयाम हुन्-सृजन शक्ति, पालन शक्ति र संहार शक्ति ।

संसारमा जति पनि विषय, प्राणी, जीव, कीटपतङ्ग आदि जन्मन्छन् ती सबै सृजन शक्तिका परिणाम हुन् । संसारमा जन्मिएर हुर्कने, बढ्ने र पालित-पोषित हुने काम हामी पालन शक्तिका माध्यमले गर्दछौँ । त्यस्तै, समय पुगेपछि समाप्त भएर जाने काम संहार शक्तिको प्रभाव हो ।

सृजनशक्तिलाई ब्रहृमशक्ति पनि भनिन्छ । ब्रहृमशक्तिका देवता ब्रहृमाजी हुन् । त्यस्तै पालनशक्तिका देवता भगवान् विष्णु हुन् । त्यसैअनुुुुरूप संहार वा विनाश शक्तिको नाम शिव हो । अनि संहार वा विनाश शक्तिका देवता भगवान् शिव हुन् ।

Sangaयसप्रकार ब्रहृमा, विष्णु र महेश क्रमशः सृजन्, पालन र संहार शक्तिदेवका रूपमा सदा आराध्य र पूज्य रहेका छन् ।

शिवको अर्थ कल्याण हो । त्यसैले भगवान् शिव कल्याणका प्रतिमूर्ति हुनुहुन्छ । अब प्रश्न उठ्न सक्छ, के विनाश वा संहार गर्ने पनि भगवान् हुन सक्छ ? कसैलाई वा कुनै वस्तुलाई नाश गरेर पनि कल्याण हुन्छ त ? वा विनाश वा संहार पनि कुनै शक्ति हुन सक्छ ? यी प्रश्नहरूमाथि एकछिन विचार गरौँ ।

संसार परमात्माको अस्तित्वले व्याप्त छ । भगवान् सर्वत्र व्याप्त हुनुहुन्छ । दिनरात, असल-खराब, कीट-मनुष्य, पशु-वनस्पति सबै भगवद्शक्तिकै परिणाम हुन् । त्यसैले, परमात्मा जीवनमा हुनुहुन्छ भने मृत्युमा पनि हुनुहुन्छ, सिर्जनामा हुनुहुन्छ भने विनाशमा पनि हुनुहुन्छ ।

दोस्रो, संसारमा मानिसको यदि जन्म मात्रै हुन्थ्यो र कसैको मृत्यु हुँदैनथ्यो भने के हुन्थ्यो होला ? बोटबाट समय पुगेका र पहेँला भएका पातहरू नझर्ने हो भने नयाँ पालुवाले कहिले र कहाँ स्थान पाउन सक्छन् त ? नयाँको आगमनका लागि पनि पुराना र समय पुगेकाको विनाश वा समाप्ति अनिवार्य आवश्यकता हो ।

यसरी समय पुगेपछि पनि जबर्जस्ती बोझको जीवन बाँचिरहेकालाई मृत्यु वा विनाशको अस्त्र प्रयोग गरी बोझमुक्त गर्नु अनि नयाँ र सुनौला जीवनका लागि मार्गप्रशस्त गर्नु के कल्याणको कुरा होइन र ?

हामी कति सजिलै भनिदिन्छौँ- शिवजी भगवान् भएर त गाँजा, भाङ र धतुरो खान्छन् भने हामीले किन नहुने ? त्यसो भए हामी मसानघाटमा गएर सुतौँ न त ! गोरूमा चढेर, सर्पको माला लगाएर, बाघको छाला ओढेर बाँच्न हामी किन सक्दैनौँ ?

तेस्रो, विनाश पनि एउटा विशुद्ध शक्ति हो । कुनै पनि कुरा समाप्त गर्न शक्ति चाहिन्छ, साहस र हिम्मत चाहिन्छ । संसारका सबै कामहरू विनाशक्ति सम्पन्न हुन सक्दैनन् । यदि सबै क्रियाका लागि शक्तिको आवश्यकता हुन्छ भने संहारका लागि पनि त शक्ति चाहियो । त्यसैले, संहार शक्तिका रूपमा भगवान् शिव पूज्य र वन्दनीय हुनुभयो ।

भगवान्को उद्देश्य केवल कल्याण हो । जगतको मङ्गल र सहज सञ्चालनबाहेक परमात्मा शक्तिको अर्को कुनै स्वार्थ देखिँदैन । यस्तो किसिमको पवित्रतम प्रयत्न गर्ने भएर नै हामी यी शक्तिलाई भगवान्का नामले सम्बोधन गर्दछौँ, पुज्दछौँ र वन्दना गर्दछौँ । जोसँग दोषहरूलाई पनि खारेर गुणमा बदल्ने शक्ति छ, ऊ नै कल्याणका लागि योग्य बन्न सक्छ ।

उसका अगाडि सबै दोष, पीडा, भय, असुरक्षा, तनाव र विसङ्गतिहरू पनि कमजोर हुन्छन् । ती सम्पूर्ण नराम्रा शक्तिलाई दास बनाएर तिनको प्रभावबाट मुक्त रहन सक्ने क्षमता भएर नै भगवान् शिव कल्याणका देवता बन्न सक्नुभयो । भगवान् शिवको स्वरूप पनि निकै अर्थपूर्ण छ । उहाँ विचित्र नकारात्मक विषयका समन्वयकर्ता हुनुहुन्छ ।

जो स्वयम् पीडा र कष्टहरूबाट पीडित हुन्छ, उसले कसरी अरुलाई दुःख पीडामुक्त गर्न सक्छ ? किमार्थ गर्न सक्दैन । अरुलाई नकारात्मक विषयको प्रभावबाट मुक्त गर्नका लागि उसले सबैभन्दा पहिले समस्त नकारात्मक विषयहरूलाई प्रभावहीन तुल्याउन सक्नुपर्दछ ।

शिवजीको रहस्य

भगवान् शिव सर्पको माला लगाउनुहु्न्छ, त्रिशूल हातमा लिनुहुन्छ, बाघको छाला लगाउनुहुन्छ, मसानघाटमा बस्नुहुन्छ, चिताको भष्म लेपन गर्नुहुन्छ र गोरूमाथि सवार गर्नुहुन्छ । यी सबै गर्नुपछाडिको रहस्य के हो ?

सर्प समय अर्थात् कालको सूचक हो । समयले शिवलाई कहिल्यै डस्न सक्दैन । भूत, भविष्यत् र वर्तमानको सीमारेखादेखि माथि भगवान् शिव निवास गर्नुहुन्छ । यसरी काल अर्थात् जन्म-मरणको चक्रलाई पनि जितेर त्यसलाई आफ्नो शरीरको गहनाका रूपमा प्रयोग गर्न सक्नुपर्दछ भन्नु भगवान् शिवको सन्देश हो ।

त्रिशूल अर्थात् भौतिक, आध्यात्मिक र दैविक तापबाट मुक्त हुनुपर्ने शिवको अर्को सन्देश हो । भय अर्थात् बाघले शिवलाई हानी गर्न सक्दैन, सेवा गर्छ । बाघलाई अर्थात् भयलाई जितेर त्यसमाथि शासन गर्न सक्ने हो भने मात्र जीवन सुखमय हुनसक्छ भन्नु भगवान् शिवले बाघको छाला धारण गर्नुको अर्को अर्थ हो ।

शिव मसानघाटमा बस्नुहुुन्छ । मसानघाट सबै सांसारिक वा भौतिक आग्रह, अस्तित्व र अहङ्कार सामाप्त पार्ने ठाउँ हो । मसानघाटमै संसार खरानीमा परिणत हुन्छ र त्यहाँबाट वैराग्यमार्फत् आध्यात्मिक जीवनको आरम्भ हुन्छ । त्यही वैराग्यले नै शिव अर्थात् कल्याणको प्राप्ति सम्भव छ । भौतिक नश्वरताको बोध नभएसम्म ईश्वरीय चैतन्यको उदय हुन सक्दैन । त्यसैले, आऊ, सबै सांसारिक अहम्लाई समाप्त गर र त्यसमार्फत् प्राप्त वैराग्यका बलले दैवी शक्तिको दर्शन गर भन्नु शिवको श्मसान बासको अर्थ हो ।

सांसारिक भ्रम अर्थात् मायालाई जलाएर नै बचेको खरानी अर्थात् वैराग्यको प्रयोग गरी शिव सुन्दर देखिनुहुन्छ । यसप्रकार उहाँले लेपन गर्ने भष्म सुन्दरताको सामाग्री हो ।

हाम्रो सुन्दरताको कारण वैराग्य हो । भौतिक नश्वरतापछि उपलब्ध हुने क्षणभङ्गुरताप्रतिको आसक्ति नाश हुनु हो । यसपछि नै आध्यात्मिक शान्ति प्राप्त गरी हामी सुन्दर विचार, व्यवहार र प्रवृत्तिका हिमायती बन्न सक्दछौँ । यही शिवले भष्मलेपन गर्नुको महाविज्ञान हो । शिवले प्रयोग गर्ने त्यही खरानी अर्थात् वैराग्य नै भौतिक जीवनको अन्तिम प्राप्ति हो ।

शिव धर्मपरायण महापुरूष हुनुहुन्छ । वृषभ् अर्थात् गोरू धर्म, न्याय र नैतिकताको प्रतीक हो । धर्म शिवको आधार हो । धर्मको सहारा लिएर नै हामी जगतको कल्याण गर्ने महाअभियानका अभियन्ता बन्न सफल हुन्छौँ । धर्म त्यसैले हरेकको साधन, माध्यम वा वाहन बन्नुपर्छ भन्नु शिवको अर्को चरित्र हो । समुद्र मन्थनबाट उपलब्ध हलाहल विष धारण गरेर भगवान् शिव नीलकण्ठ बन्नुहुन्छ । यो पनि उहाँको कल्याणको विशेष लीला हो, विशेष प्रयत्न हो । जसरी समुद्रमा सबै फोहरहरू धारण गरेर पनि तिनलाई हिरामोती र सुनचाँदी बनाउने शक्ति छ, भगवान् शिव पनि हलाहल विष पान गरी सबैको दुःख हरण गर्ने सामथ्र्य राख्नुहुन्छ । यो कल्याणको भावना र दयाको दिव्य गुण नै भगवान् शिवको भगवत्ताको विशेष निधि हो ।

महापुरूषहरू अपार दयालु हुन्छन् । अर्काका दुःख, पीर र कष्टरूपी हलाहल स्वयम्ले पान गरी उनीहरूलाई दुःखमुक्त गर्नुपर्छ भन्नु शिवको विषपानको रहस्य हो । उहाँको यही अपार दयाको यश क्षितिज पारिपारि पुगेर नीलकण्ठका नाममा उहाँ सर्वव्यापक र सर्वपूज्य बन्नुहुन्छ ।

गाँजा भाङ र विषको रहस्य

भगवान् शिव विष, भाङ, गाँजा, चरेस र धतुरो सेवन गर्नुहुन्छ । सामान्य मान्छेका लागि यी कुरा असामान्य लाग्छन् । विष, भाङ, धतुरो खानेलाई कसरी देवता स्वीकार गर्न सकिन्छ र ? भन्ने मूर्ख प्रश्नहरू पनि गरिन्छन् ।

भगवानले नै यी विष, भाङ र धतुरोलाई सेवन गर्न सक्छन् । किनभने, उनी नै यी विषहरू पनि पचाउन सक्ने सामर्थ्य राख्दछन् । जसलाई यी विषले कुनै प्रभाव पार्न सक्दैनन्, ती नै भगवान् हुन् ।

धर्तीलाई पनि भगवान् मानिन्छ किनकि यही धर्तीमा नै यी समस्त विष र भाङहरू फुल्छन्, फक्रन्छन् र फल्छन् ।

शिवले ती समस्त विषहरूलाई पचाइदिनुहुन्छ, किनकि उहाँसँग त्यो सामर्थ्य छ । अमृत र विषको विभेद धर्तीले कहिल्यै गर्दैन । भगवान् शिवलाई विषको कुनै प्रभाव पर्दैन ।

 

भूत, प्रेत, पिशाच शिवका गण हुन् । तर, भगवान् शिव यी सबै अमङ्गलहरूलाई दास बनाएर तिनलाई पनि कल्याणकै लागि प्रयोगमा ल्याउने हैसियत राख्नुहुन्छ ।

सच्चा पुरूष त्यो हो, जसले फोहोरलाई पनि मोहोर बनाउन सक्छ, विषलाई पनि अमृत बनाउन सक्छ । भगवान् शिवले सबै अमङ्गल, विष, भय र असुरक्षाका बीचमा पनि आफ्नो शौर्य, शक्ति, सेवा र सहयोगजस्ता अनमोल गुणहरूलाई नगुमाई सबैको कल्याणमा नित्य लीन हुनुहुन्छ । उहाँको यही त्याग, बलिदान र कल्याणको उच्च बन्दनास्वरूप नै उहाँको पूजा गरिएको हो, प्रार्थना गरिएको हो ।

लक्ष्मण भण्डारी

हामीले एकपटक सोच्ने कि ?

शिवरात्रीका बेलामा गाँजा, चरेस, भाङ र धतुरो खाएर हामीले सबैको कल्याण गरेका छौँ कि छैनौँ ? एकछिन सोचौँ ।
भगवान् शिवसँग स्वयम्लाई तुलना गरेर विष, भाङ र धतुरोमा लीन भएकाहरूले जीवन बरबाद गरी आफ्नै अकल्याण र अहित गरिरहेका छन् भने उनीहरूबाट जगत्को कल्याण कसरी सम्भव होला ?

शिवको स्थान ग्रहण गर्नका लागि त त्यसैअनुसारको प्रयत्न, साधना, शक्ति र श्रमको आवश्यकता पर्छ । आफ्ना दुःख र पीडाबाट भाग्न गाँजा, चरेस, रक्सी र भाङको सहारा लिनेहरू कहिल्यै शिव बन्न सक्दैनन् । शिवलाई भजाएर आफ्नो दूर्व्यसनीपूर्ती गर्न खोज्नेहरू मात्र शिवरात्रीमा गाँजा र भाङ सेवन गर्दछन् ।

हामी सामान्य मनुष्य हौँ । त्यसैले, हामी शिवले गरेका असाधारण कामका लायक छैनौँ । हाम्रो शरीर, शौर्य र शक्ति नै ती तमाम कृत्यका लायक छैनन् । भगवान् शिवका चरित्रले दिने सन्देशलाई प्रतीकरूपमा ग्रहण गर्नु नै हाम्रो एक मात्र कर्तव्य हो ।

शिवलाई प्रसन्न बनाउन गाँजा र भाङ खानेहरूले कहिल्यै आफूलाई प्रशन्न राख्न सक्दैनन् । यदि हामी स्वयम् प्रसन्न छौँ भने शिव कहिल्यै दुःखी हुन सक्नुहुन्न ।

हामी कति सजिलै भनिदिन्छौँ- शिवजी भगवान् भएर त गाँजा, भाङ र धतुरो खान्छन् भने हामीले किन नहुने ? त्यसो भए हामी मसानघाटमा गएर सुतौँ न त ! गोरूमा चढेर, सर्पको माला लगाएर, बाघको छाला ओढेर बाँच्न हामी किन सक्दैनौँ ?
शिवले गरेका सबै काम हामीले पनि जस्ताको त्यस्तै अनुकरण गर्नुपर्छ भन्ने हो भने त यी सबै काम गर्नुपर्दैन र !

शिवरात्रीको अर्थ कल्याणको उपासना हो । सबै दोष, भय, असुरक्षा र विपत्तिहरूलाई जितेर तिनको सारथी बन्ने सङ्कल्प गर्नु नै शिवरात्री मनाउनुको विज्ञान हो । हामीभित्र पनि वासना, भय, आसक्ति, अहङ्कार र दुव्र्यसनीजस्ता चरित्रहरू छन् । ती चरित्रलाई जहिलेसम्म हामीले जित्न सक्दैनौँ र दास बनिरहन्छौँ निरन्तर, तबसम्म हामी कसैको कल्याण गर्न सक्दैनौँ ।
जगतको कल्याणका लागि त विशेष योग्यता चाहिन्छ । काम, वासना, लोभ, अहङ्कार र भयलाई गुडियाजस्तै खेलाउन र दबाउन सक्ने पुरूष नै शिव बन्न सक्दछ । अनि त्यही महापुरूषबाट नै समग्र अस्तित्वको मङ्गल हुन सक्छ भन्नु शिवरात्रीको एक मात्र दर्शन हो ।

तर, हामी शिवरात्रीलाई दुर्व्यसनको पर्वबाहेक केही बनाउन सकेनौँ । शिवरात्रीमा खाएको गाँजा र चरेसको नशामा सम्पूर्ण चैतन्य गुमाएर हामीले शिवको पूजा होइन, अपमान गरिरहेका छौँ ।

शिवरात्री त चैतन्यको विशेष पर्व हो, कल्याण र आध्यात्मिक मूल्यको खोजी गर्ने पर्व हो । आफूलाई भगवान् शिवको समकक्षमा राखेर गाँजा र भाङ खाँदै जथाभावी गर्ने पर्व होइन ।

संसारमा फोहोरलाई ग्रहण गर्ने कोही त हुनु पर्‍यो नि ! हामी पो फोहोरलाई केवल फोहोर देख्छौँ, दोषलाई दोषसिवाय केही देख्दैनौँ । तर, प्रकृति नित्य दोषहरूलाई पनि गुण बनाउने महाअभियानमा मस्त छ । हामी पो अरुको दुःखमा खुसी र प्रसन्न हुन्छौँ । तर, प्रकृति त सबैका लागि बाँच्नु छ । किन हामी विषलाई पनि जगतको कल्याणका निम्ति स्वीकार्ने शिवसँग दुव्र्यसनको लतमा जीवनलाई बर्बाद गर्ने आफूसँग तुलना गर्न लाज मान्दैनौँ ? मान्छे त परमको एउटा अंश हो, तर शिव  सृष्टि र विनाशका मूल हुन् ।

Maha Shivaratri 2071  (19)

तर, आजको मान्छे खान, बस्न, शौचालय जान, बोल्न र हिँड्न पनि राम्ररी जान्दैन । जीवनयापनका यी सामान्य नियममा समेत नियमित हुन नसक्ने र अनुशासनको निरन्तर उल्लङ्घन गर्ने लत बसेका हामीले सृष्टिका मूल शिवसँग आफूलाई दाँज्नुदैवीशक्तिको अवमूल्यन् र आफ्नो कमजोर अहम्को प्रदर्शनसिवाय अरु केही हुन सक्दैन ।

यसर्थ, भगवान् शिवको जीवनलीला र त्यसको महारहस्यको बोध गरौँ । भगवान् शिवको चरित्रमा देखिएका प्रतीक र सन्देशलाई प्रत्यक्ष आत्मसात् गरी कल्याणको दुर्लभतम् जीवन बाँच्ने प्रयत्न गरौँ ।

भगवान् शिवको स्मरणको अर्थ सानातिना गल्तीलाई सजिलै भुलेर केटाकेटीजस्तै प्रशन्न रहनु, दोषहरूलाई जित्नु र तिनलाई पनि जगत् कल्याणका लागि प्रयोगमा ल्याउन प्रयत्नरत रहुनु हो । यसो भयो भने सम्भवतः शिवरात्री मनाउनु र भगवान् शिवको स्मरण गर्नुको औचित्य पुष्टि हुन सक्दछ । अनलाइनखबरबाट
(लेखक ‘जीवन दर्शन’मासिकका सम्पादक/प्रकाशक हुन् )