Please Update Your Browser.

अत्तरियामा वित्तीय साक्षरता अभियान आयोजना गरिँदै

धनगढी, १३ फागुन । कैलालीको अत्तरियामा वित्तीय साक्षरता अभियान आयोजना गरिने भएको छ । मिडिया इन्टरनेशनलको आयोजनामा आज (शनिबार) अत्तरियास्थित दुर्गा लक्ष्मी उच्च माध्यमिकको प्राङ्गणमा उक्त कार्यक्रम गरिने भएको हो ।

मिडिया इन्टरनेशनले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त अभियानबारे जानकारी गराएको हो । वित्तीय साक्षरता सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरिन लागेको सो कार्यक्रममा पाँच देखि सातहजार जनाको सहभागिता रहने आयोजकको दाबी छ ।

unnamed

बैंकको पहुँच पुगेका स्थानमा पनि वित्तीय साक्षरताको अभाव देखिएकाले सर्बसाधारणको पहुँच बैंकसम्म पुर्याउन यो कार्यक्रम प्रभावकारी हुने नेपाल राष्ट्र बैंक धनगढी शाखाका निर्देशक विश्रुत थापाले बताए ।

उनका अनुसार सुदूरपश्चिमका ९ वटा जिल्ला मध्ये कैलाली र कंचनपुरमा बैंक तथा वित्तीय संस्थाको उपस्थिती राम्रो रहेको छ । तर पहाडी सात वटा जिल्लामा बैंकको उपस्थिती न्यून रहेकाले वित्तीय साक्षरताको पनि कमी देखिएको निर्देशक थापाले जानकारी दिए । उनले भने पहाडी जिल्लाका सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरुले आम सर्बसाधारणलाई समेट्न सकेको देखिएन् ।

वित्तीय साक्षरता सम्बन्धी सर्वसाधारणमा जानकारी नभएको पाइएकोले नेपाल राष्ट्र बैंक धनगढी शाखाले पनि वित्तीय साक्षरता बारे जानकारी दिइरहेको थापाको भनाई छ । उनका अनुसार सुदूरपश्चिममा २०३ वटा बैंक तथा वित्तीय संस्थाहरु रहेका छन् ।

शनिबार अत्तरियामा आयोजना हुने लागेको वित्तीय साक्षरता सम्बन्धी कार्यक्रममा म्यानेजमेण्ट पढिरहेका विद्यार्थीहरुलाई स्वदेशमै रोकेर उद्यमशिल बनाउन सकिन्छ भन्ने बारे जानकारी गराइने बताइएको छ । कार्यक्रममा यस क्षेत्रमा रहेर उद्योग व्यवसाय संचालन गरिरहेका व्यक्तिहरुको पनि सहभागिता रहने छ ।

वित्तीय साक्षरता सम्बन्धी जानकारी दिएर आफ्नै क्षेत्रमा उद्यमशिलता हासिल गर्ने प्रेरणा मिल्ने आशा व्यक्त गरिएको छ । कार्यक्रममा वित्तीय साक्षरतासँगै सर्बसाधारणलाई पायक पर्ने स्थानका बैंकमा खाता खोल्ने समेत व्यवस्था गरिएको छ । उक्त स्थानमा विभिन्न स्टलहरु पनि राखेर बैंक तथा वित्तीय साक्षरताको जानकारी दिइने छ ।