Please Update Your Browser.

साहित्य समाजले साहित्यिक–सांस्कृतिक देशदर्शन अभियान संचालन गर्ने

धनगढी, २७ चैत । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आगामी जेठ १५ देखि ३० गतेसम्म सुप साहित्यिक–सांस्कृतिक देशदर्शन अभियान संचालन गर्ने भएको छ । सुदूरपश्चिमको भाषा, कला, संस्कृतिकलाई देश भरी चिनाउने उद्देश्यले उक्त अभियान संचालन गर्न लागिएको साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए ।

Image result for सुदूरपश्चिमाञ्चल साहित्य समाज
अध्यक्ष, रामलाल जोशी

काली कर्णाली नेपाली भाषाको उद्गम स्थल हुँदाहुँदै पनि ओझेलमा परेको बताउँदै अध्यक्ष जोशीले भने,–“यो क्षेत्रको भाषा, कला, संस्कृतिको जर्गेना गर्न देश भरी मात्रै नभएर भारतको सिक्किम, दार्जिलिङ लगायत आसामको केही ठाउँमा पुग्नेछौं ।”

नेपालगञ्ज, पोखरा, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, चितवन, विराट नगर, झापा, भारतको सिक्किम, दार्जिलिङ र असाममा सुदूरपश्चिमको कला–संस्कृति र पर्यटनको पहिचान झल्काइने अध्यक्ष जोशीको भनाइ छ ।

समाजका अध्यक्ष जोशीका अनुसार पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्व उपप्रधानमन्त्री भीम रावल र पुर्वमन्त्री लेखराज भट्टलाई बोलाएर अभियानको सुरुवात गराइने छ । धनगढीबाट सुरु हुने उक्त अभियान महाकालीमा पुगेर ग्राग्रोमा पानी भरी देशका अन्य नदीमा पानी मिसाउँदै जाने कार्यक्रम रहेको बताइएको छ ।

साहित्यकार, सांस्कृतिक टोली र पत्रकारको गरी टोलीमा ४० जनाको सहभागिता हुनेछ । उक्त अभियानका लागि १२ देखि १५ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । अभियानका लागि खर्च जुटाउन यही चैत्र ३० गते धनगढीको ओम प्यालेसमा एकल साँझा कार्यक्रमको आयोजना हुने अध्यक्ष जोशीले बताए ।

एकल साँझ कार्यक्रममा सुदूरपश्चिमका चर्चित देउडा गायक तथा प्राज्ञ यज्ञराज उपाध्यायको प्रस्तुती रहने छ । “एकल साँझमा मेरो एकल प्रस्तुती रहने छ” उपाध्यायले भने, “मैले उक्त कार्यक्रममा डेढ दर्जनजती गीत गाउँनेछु ।” 

एकल साँझबाट पाँच लाख आम्दानी हुने अपेंक्षा गरिएको छ । अभियानका लागि चाहिने बाँकी रकम सहयोगदाताबाट संकलन गरिने बताइएको छ । यसै गरी साहित्य समाजले सुदूरपश्चिम साहित्यिक संस्कृति देशदर्शन अभियान अन्तर्गत आगामी बैशाख २ गते देखि ४ गतेसम्म भारतको नालापानीमा साहित्यिक कार्यक्रम गर्ने भएको छ ।