Please Update Your Browser.

पाँचथरमा मतदाता शिक्षा स्वयंसेवक तयार

लेखनाथ खतिवडा,

पाँचथर, २८ चैत्र । जिल्ला निर्वाचन कार्यालय पाँचथरले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । स्थानीय स्तरमा पुगेर मतदान सम्वन्धि सचेतना फैलाउने, स्थानीय निकायमा उम्मेद्वारी दिन उत्प्रेरित गर्ने र हुन सक्ने वदर मतलाई घटाउने उद्देश्यले पाँचथर जिल्लामा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको हो ।

प्रत्येक मतदान केन्द्रमा एक जनाको दरले मतदाता शिक्षकहरु तयार गरी आगामी वैशाख एक गतेबाट अभियानको रुपमा थालनी गर्न लागिएको मतदाता शिक्षा कार्यक्रममा पाँचथर जिल्लामा २ चरणमा गरी एक सय ५५ जनाको सहभागिता रहने बताइएको छ । उनीहरुलाई मतदाता शिक्षा अभियानमा मतदाता शिक्षक स्वयंसेवकको रुपमा परिचालन गरिने जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

प्रति एक हजार मतदाता एक जना मतदाता शिक्षक परिचालन गर्ने गरी जिल्लाका एक सय ५५ मतदान केन्द्रमा त्यतिकै संख्यामा मतदाता शिक्षकहरु परिचालन गर्ने कार्यालयका प्रमुख धु्वकुमार राइले बताए । अभियान अन्तर्गत मतदाताको घर आँगनमै पुगेर मतदाता शिक्षकहरुले मतदानको औचित्य, मतदान किन उम्मेद्वारी किन र मतदान गर्ने तरिकाको बारेमा सचेतना गराउने उद्देश्य रहेको प्रशिक्षक तथा जिल्ला सम्वन्वय समितिका सामाजिक विकास अधिकृत प्रतिकराज तिम्सिनाले बताए ।

कार्यक्रममा जिल्ला सम्वन्वय समिति अन्तर्गतका सामाजिक परिचालकहरु, सहयोगी कार्यकर्ताहरु र महिला स्वयंसेविकाहरु सहितको सहभागिता रहेको तालिममा निर्वाचन अधिकृत ध्रुवकुमार राई, सामाजिक विकास अधिकृत तिम्सिना, जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति येगेन्द्र खड्का र सामाजिक शिक्षिका सिता विसीले सहजीकरण गरेका थिए ।

तालिम प्राप्त गरेका मतदाता शिक्षकहरु वडा सचिवको संयोजकत्वमा गठित मतदाता शिक्षा समितिको सदस्य रहने साथै नगरपालिका र गाउँपालिका स्तरमा कार्यकारी अधिकृतको संयोजकत्वमा साथै जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मतदाता शिक्षा सम्वन्वय समितिहरु गठन भई परिचालन हुने बताइएको छ ।