Please Update Your Browser.

२२ ओटा पुस्तक एकै पटक विमोचन, गिनिज वल्र्ड रेकर्ड बुकमा समावेश गरिने

लेखनाथ खतिवडा,

पाँचथर, ९ वैशाख । पाँचथरे साहित्यकार गुरुङ रामप्रकाश समथिङद्वारा लिखित २२ ओटा उपन्यास एक साथ विमोचन गरिएको छ । पाँचथर स्रष्टा मञ्चले काठमाडौमा एक कार्यक्रमको आयोजना गरी त्यतिका पुस्तकहरु २२ जना डाक्टरहरुबाट विमोचन गरिएको हो ।

विमोजन कार्यक्रममा प्रा.डा. बासुदेव त्रिपाठी, प्रा.डा.गोविन्दराज भट्टराई, प्रा.डा. महादेव अवस्थी, डा.बमबहादुर थापा जिताली, डा.अशोक थापा, प्रा.डा.मोतीलाल पराजुली, डा.भक्त राई लगायत नेपाली भाषा साहित्यका वरिष्ट बाइस विद्यावारीधी ब्यक्तित्वहरुले उक्त उपन्यासहरु एकै साथ विमोचन गरेका थिए ।

17991256_757559134399268_5135791681796003102_n

पाँचथरे परिवेशलाई आधार वनाएर तयार गरीएका औपन्यासीक कृतिहरुमा दुदर्शा, बेसहारा, यातना, जवानीको ज्वालामुखी, जड्याकी स्वास्नी, जनयुद्वको उपहार, साहित्यकार, मृत्यु, साउदी रियाल, सौतेनी आमा, धनबहादुर सर, खेल जवानीको, धनीरामको दशै, टुटेको सपना, सेन्थेरेम, माया, विचरा ! जंगे कमरेड, जित्या, महलदेखि सडकसम्म, कमरेड चट्टानको सपना, भ्रष्टाचारको कमाल र साहसी आमा छन् । यस अघि पनि उपन्यासकार गुरुङले चौविस वटा कृति सार्वजनिक गरिसकेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी प्रा डा बासुदेव त्रिपाठीले गिनिज वल्र्ड रेकर्डका लागि अग्रिम शुभकामना दिएका थिए । लेखक गुरुङले इतिहासका लागि आफूले उक्त कार्य गरेको बताए । संसारमै एक लेखकले यसरी एकै पटक एउटै विधामा २२ वटा पुस्तक प्रकाशन गरेको अहिलेसम्म नभेटिएकोले उक्त कुरालाई गिनिज वल्र्ड रेकर्ड बुकमा समावेश गरिने प्रक्रियामा रहेको आयोजक संस्थाका अध्यक्ष रमेश शुभेच्छुकले बताए ।