Please Update Your Browser.

ललितपुरलाई विश्वकै सुन्दर र सांस्कृतिक शहर बनाउँछु : हरिकृष्ण व्यञ्जनकार

Harikrishna-Byanjankarनेकपा (एमाले)ले महानगरपालिकाको मेयरको उम्मेदवार बनाएको हरिकृष्ण व्यञ्जनकार एमाले, ललितपुरका जिल्ला अध्यक्ष हुनुहुन्छ । पाटन च्यासलका व्यञ्जनकार विद्यार्थी आन्दोलनबाट राजनीतिमा आउनुभएको हो । ०३५ सालदेखि विद्यार्थी राजनीतिबाट एमालेसँग आवद्ध व्यञ्जनकार त्यसयता निरन्तर ललितपुरलाई कार्यक्षेत्र बनाएर क्रियाशिल हुनुहुनछ व्यवस्थापनमा स्नाकोत्तर गरेको व्यञ्जनकार पार्टी्भित्र इमानदार र स्वाच्छ छविका नेता मानिनुहुन्छ । 

पार्टीभित्र धेरै प्रतिस्पर्धी हुनुहुन्थ्यो, तपाईलाई किन पार्टीले उम्मेवार बनायो ?

जनपरिचालन अभियानमार्फत पार्टीले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनलाई प्रस्थानविन्दू मानेर सञ्चालन गरेको अभियानदेखि नै हामीले स्थानीय तहमा सम्भावित उम्मेदवारको विषयमा पनि एक खालको पूर्वाभ्यास गरिरहेका थियौं । निर्वाचनका सन्दर्भमा पार्टीले ७ बुँदे मापदण्ड तयार गरी निर्देशन पठाए बमोजिम नै आफ्नो दावेदारी प्रस्तुत गरिएको थियो । जिल्ला कमिटि र प्रदेश कमिटिले यो निर्वाचनमा जित्न र अवका कार्यभार पूरा गर्नका लागि उपयुक्त व्यक्ति हुनसक्छ भनेर नै स्थायी कमिटि समक्ष सिफारिस गरेको थियो । लामो समयदेखि निरन्तर रुपमा पार्टीमा क्रियाशील, जनताबीच स्थापित भएर विभिन्न विकास मूलक र सामाजिक काममा सक्रिय भएको हिसावले र भोलीका दिनमा विकासको भिजन र नेतृत्व दिनसक्ने क्षमता भएको महसुस गरेको छु । मेरो दावी भन्दा मतदाताले जिम्मेवारी दिएपछि थप कामले त्यो दावीलाई सार्थक बनाउने नै छ ।

ललितपुर महानगरवासीले तपाईलाई नै किन भोट दिने ?

हाम्रो पार्टी मूल रुपमा संगठनमा आर्धारित पार्टी हो । जनताको पार्टी हो । राष्ट्रिय रुपमा एमालेको नीति र एजेण्डाका कारण राष्ट्रियता जनजीविका र विकासको डोरो देखिएको छ । यो कुरालाई आममतदाता र जनतामाझ लैजादा मतदाताले विश्वास गर्नुहुनेछ । त्यसबाहेक यस क्षेत्रका समस्याँंग राम्रोसँग परिचित छु । उनीहरुको सुखदुःखलाई नजिकबाट देखेको छु । छामेको छु । ती समस्याहरुलाई नजिकबाट बुझेकै कारण ती समस्या समाधान गरी सम्भावनाको खोजी गर्ने काममा मैले आफ्नो कार्यक्रम ल्याएको छु । जनताले पहिलो कुरा पार्टीको नीतिलाई हेर्छन् । पार्टीको हिसाबले एमालेका नीति सबैको भन्दा राम्रो छ । त्यसपछि उम्मेदवारका कार्यक्रम र त्यसको सम्भावनालाई हेर्छन् त्यो मैले प्रष्टसँग भनिरहेको छु । हाम्रा कार्यक्रम सम्भावनामा आधारित र अत्यावश्यक योजनाहरु छन् त्यसकारण मेरो विजय निश्चित छ ।

के छन् तपाईका चुनावी एजेन्डा ?

हामीले यो निर्वाचनमार्फत राजनीतिक परिवर्तनपछि प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गरेर लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्छ । त्यसका लागि जनतालाई विकासमार्फत समृद्ध र सुखी बनाउन जरुरी छ । हामीले नागरिकहरुलाई समृद्ध बनाउनका लागि पूर्वाधारको विकासमा ध्यान दिनेछौं । महानगरपालिका क्षेत्रभित्रका साँघुरा सडकलाई फराकिलो बनाउने, असरल्ल तार र पोलहरुलाई व्यवस्थित गर्दै ‘अण्डरग्राउण्ड वायर सिष्टम’ विकास गर्ने, सबै सडकहरुमा सौर्य सडक वत्तीको व्यवस्था गरेर झिलिमिली बनाउने, सुरक्षाका लागि सीसीटीभी र सेक्युरिटि साइरनको व्यवस्था गर्ने लगायतका योजना बनाएका छौं ।

नागरिकलाई आफूले तिरेको करको सदुपयोग भएको अनुभूती दिलाउने गरी पारदर्शी र झन्झटमुक्त प्रशासनिक सेवाको व्यवस्थापन गर्नेछौं । करको सदुपयोग र बाह्य लगानी तथा अनुदान भित्र्याउने काम गर्नेछौं । कला संस्कृति, धार्मिक तथा पुरातात्विक महत्वका वस्तुलाई पर्यटकीय आकर्षणको रुपमा विकास गर्नेछौं । नगरभित्रका महत्वपूर्ण वहाल, विहार, पोखरी, ढुंगेधाराहरुलाई संरक्षण र विकास गरेर पर्यटकीय महत्वका क्षेत्रका रुपमा विकास गर्नेछौं ।

महानगरभित्रको पाटन दरवार स्क्वाएरदेखि हरिसिद्धि, धापाखेल हुँदै खोकना बुंगमती सम्मको सम्पूर्ण क्षेत्रलाई समेटेर पर्यटन क्लष्टरको रुपमा विकास गरेर विदेशी पर्यटकले कम्तिमा महानगरक्षेत्रभित्र ३ दिन बस्ने अवस्थाको सिर्जना गछौं जुन महानगरको विकासको निकै ठूलो स्रोत हो । यसका लागि पाँचतारे होटल स्थापना गर्ने वातावरणदेखि महानगरभित्रका सांस्कृतिक महत्व झल्कने स्थापना कलात्मक घरहरुलाई सम्पदा घर (हेरिटेज होम) सञ्चालनलाई प्रोत्साहन गर्नेछौं ।

अबका ५ बर्षमा ललितपुर महानगरलाई कस्तो बनाउनुहुन्छ ?

६ महिनाभित्र ललितपुर महानगरलाई धुवाँ, हिलो र धूलोमुक्त बनाइनेछ । मेलम्ची लगायतका अन्य विकल्पहरुको व्यवस्थापनसँगै खानेपानीको पर्याप्त आपूर्तिसहित एक वर्षभित्र अन्य पूर्वाधारको व्यवस्थापन गरिनेछ । सम्पदाको संरक्षणलाई प्राथमिकता दिदैँ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु सहितको एकीकृत विकास सूचना केन्द्र सहितको उच्च प्रविधियुक्त सभाहलको निर्माण गर्नेछौं । नमूना यातायातको रुपमा कुपण्डोल देखि गोदावरीसम्म ‘ट्राम’ सञ्चालन गरिनेछ । विद्युतीय परिवहनलाई विशेष प्राथमिकता दिइनेछ । हरेक वार्डमा वालवालिका र ज्येष्ठ नागरिकहरुलाई मनोरञ्जनको लागि पार्क र मनोरञ्जनस्थलहरुको निर्माण गर्नेछौं ।

महानगरभित्रका सम्पूर्ण पोखरी, नौकाविहारलाई थप व्यबस्थति बनाउनेछौं । महानगरभित्र पर्ने खोलानालाको सफाई गरी किनारामा पार्क निर्माण गरेर सुन्दर महानगर बनाउनेछौं । नगरभित्र विशेष व्यापारिक क्षेत्र निर्माण गरी घण्टाका आधारमा काम गर्ने अवस्था निर्माण गर्नेछौं । युवालाई सीप र स्रोतका आधारमा स्वरोजगार बनाउने कार्यक्रम ल्याउँछौं । एमालेको सेटलाई विजयी गराउने ललितपुरवासीलाई अवको ५ वर्षमा पर्यटकको आगमनले खचाखच भएको २४ घण्टा चहलपहल हुने १८ घण्टा ‘ट्राम’ चल्ने झिलिमिलीयुक्त सुरक्षित ललितपुर महानगर मेरो संकल्प हो । ललितपुरलाई समृद्ध र विश्वकै उत्कृष्ट शहर बनाउने मेरो योजना छ । रातोसूर्यबाट