Please Update Your Browser.

नेपाली कांग्रेस कैलालीमा तालाबन्दी, टिकट वितरणमा देउवा पक्षधरलाई मात्रै समेटेको आरोप

कैेलाली, ११ जेठ । नेपाली कांग्रेस कैलालीेले एकलौटी टिकट वितरण गरेको भन्दै असन्तुष्ट पक्षले अहिले बिहान पौने ९ बजे नेपाली कांग्रेस कैलालीको कार्यालयमा तालाबन्दी गरेका छन् ।

राम्रालाई भन्दा पनि नेपाली कांग्रेसमा दुई पैसाको योगदान नदिएका व्यक्तिलाई कांग्रेस कैलालीले निर्वाचनका लागि उम्मेदवार बनाएको भन्दै असन्तुष्ट पक्षले तालाबन्दी गरेका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ बाट अध्यक्षका आकांक्षी उम्मेदवार कृष्ण बहादुर कुँवरको नेतृत्वमा नेपाली कांग्रेस वडा नम्बर १ का पूर्व अध्यक्ष कृष्ण बहादुर मल्ल, वडा नम्बर ५ बाट वडा अध्यक्षका आकांक्षी उम्मेदवार टेकराज ओझा लगायतका युवाहरुले तालाबन्दी गरेका हुन् ।

कैलालीमा पार्टी अध्यक्ष शेर बहादुर देउवा गुटका मान्छेले मात्रै टिकट पाएको आरोप पनि असन्तुष्टहरुको छ । चुनाव जित्ने आधार र सम्भावना भएका व्यक्तिलाई भन्दा खुराफाती, भ्रष्टाचारी र म कांग्रेस हुँ भन्न लाज मान्ने व्यक्तिले उम्मेदवारको टिकट पाएको कृष्ण बहादुर कुँवरले कोसेलीलाई बताए ।

कोइराला पक्षका उम्मेदवारका आकांक्षीलाई नसमेटेसम्म ताला नखोल्ने चेतावनी पनि आन्दोलनकारीले दिएका छन् ।

स्मरणरहोस् कैलाली लगायत सुदूरपश्चिमा पार्टी अध्यक्ष शेर बहादुर देउवा गुट बलियो देखिन्छ भने कोईराला पक्ष कमजोर अवस्थामा छ ।