Please Update Your Browser.

भाउजु, तपाइकी आमा देवता जस्ती अनि दाइकी आमा चाँही कामै नलाग्ने बुढी ?

यमुना अर्याल काफ्ले

हिजोमात्र एकजना भाउजुसँग भेट भयो । सन्चो बिसन्चो सोधपुछ भो । भाउजुकी सासुको बारेमा सोँधे, अहिले आमा कता हुनुहुन्छ ? कस्तो छ आमालाइ ? भाउजुले निधारभरी मुजा पार्दै जवाफ फर्काइन,–“गाऊँबाट यही आकी छन् । पाँच छ महिना भयो ।” सन्चो नभएर आउनु भयो कि अब यतै बस्नेगरी आउनु भएको त भाउजु आमा ? दाजु भाउजु यतै बस्ने भएपछि गाउँमा बुढी आमा एक्लै किन बस्नु त राम्रै भएछ, यतै ल्याउनु भएछ । भाउजु एकोहोरो मेरो कुरा सुनिरहिन् । के भयो भाउजु किन नबोल्नु भएको ? भनेपछि झस्के जसरी भाउजुले मुख खोलन्, “मलाइ त बुढाबुढी पाल्ने जस्तो दिक्दारी काम केही लाग्दैन नानी ।” बा उहिल्यै बितिसके । भएकी एउटी आमालाइ पनि भाउजुले बचन लाएको सुन्दा चाँही अचम्म लाग्यो ।

बल्ल भाउजुको धारा प्रवाह बोली फुटने क्रम सुरु भयो । भाउजुले दाइकी आमा आफ्नी सासुको बारेमा पाँच दश मिनेटको भेटमा सयौं शब्द खर्चिनु भयो होला । यस्ती र उस्ती बुढी भनेरै भाउजुले सासु आमाको बद्ख्वाइ मात्र गर्नु भो । आमा निकै सोझी लाग्नुहुन्छ मलाई । कसैलाइ पनि नराम्रोसँग बचन लाएको थाहा थिएन । तैपनि भाउजुले तिनै सोझी भनिएकी आमाको बारेमा यति धेरै कुरा काट्नु भयो कि मानौँ ति आमा सासु नभएर निकै समयअघिदेखीकी कट्टर सत्रु हुन उनकी ।

पोहोर साल मात्रै तिनै भाउजुका भाइको बिहे भएको थियो । भाउजुले सासुको कुरा काटिरहेकै अवस्था प्रश्न गरेँ, भाउजु तपाइकी भाई बुहारी कता हुनुहुन्छ नि ? भाउजुको डाको झन ठुलो भयो । त्यो नकचरीको कुरा नगर्नु नानी, कम्ताकी रही धभ्छे त्यो बाइफाले ? भएभरका सानातिना कुरा भाइ भनाउँदोलाइ सुनाउने अनि भाइ पनि त्यी स्वास्नीको कुरा सुनेर आमालाइ नानाथरी बचन लगाउँदो रहेछ ।

कति सोझी छन् मेरी आमा । कसैको मन दुखाएकी छैनन् । त्यस्ती सोझी सासु पर्दापनि त्यो मुखालेलाइ सहिसक्नु भएन । मेरी आमा त देवता जस्ती छन् । त्यस्ती आमालाइ बचन लगाउँदै हप्तामा पाँच दिन माइत मुन्टिन्छे रे । घरमा त त्यसको बास हुँदैन । माइतीमा नन्द, आमाजु जाँदा त्यसलाइ ज्वरो आउँछ । सबै खान आएजसरी अनुहार कालो निलो बनाउँछे । कस्तो चरित्र भएकी आइमाइ परी मेरो भाइलाइ ? अर्को बुहारी अलि गतिली भित्राऊ भनेपनि चारजना छोरीपछि जन्मिएको त्यही एउटा भाइ हो । मेरी सोझी आमाले दुख पाउने भइन् नानी ।

भाउजुले सासुका बारेका जे जस्ता मन कुडाउने टिका टिप्पणी गर्नु भो, यो उहाँको मात्रै दोष नभएर उहाँको जस्तो दरिद्र सोचको दोष हो । हामी आफ्नी आमालाइ जस्तो सासुआमालाई किन बराबर ठान्न सक्दैनौ ? गल्ती कमी कमजोरी कस्का हुँदैनन् र ? आफ्ना जति देवता श्रीमानका आफन्त जति सत्रु नै हुन्छन् र ? आफ्ना नन्द आमाजुसँग मिल्न नसक्ने आफ्ना बुहारी भाउजुको जरो खन्ने ।

भाउजुले दुइवटी आमालाइ यसरी प्रस्तुत गरिन् मानौ उनलाइ जन्म दिएकी आमा देवता हुन्, तर दाइकी आमा कही नभएकी काम नलाग्ने बुढी हुन् । भाउजु तपाइकी सासुलाइ त सबैले सोझी भन्थे, यस्ता सासु मेरा भइदिए भन्थे । तपाइलाई चाँहि किन त्यस्तो व्यवहार गर्नुभयो र ? मेरो प्रश्नमा भाउजु बोलिनन्, त्यो बुढीको कुरा नगर्नु नानी, कम्ताकी छ र ! तपाइहरुसँग एकैछिन भेटहुँदा चिप्लो दल्ने मात्र हो । यस्ता सासु त कसैका नपरुन् ।

भाउजुले सासुका बारेका जे जस्ता मन कुडाउने टिका टिप्पणी गर्नु भो, यो उहाँको मात्रै दोष नभएर उहाँको जस्तो दरिद्र सोचको दोष हो । हामी आफ्नी आमालाइ जस्तो सासुआमालाई किन बराबर ठान्न सक्दैनौ ? गल्ती कमी कमजोरी कस्का हुँदैनन् र ? आफ्ना जति देवता श्रीमानका आफन्त जति सत्रु नै हुन्छन् र ? आफ्ना नन्द आमाजुसँग मिल्न नसक्ने आफ्ना बुहारी भाउजुको जरो खन्ने । आफ्ना देवर जेठाजुसँग राम्रो सम्बन्ध नबाउने, भाइ बुहारीहरुको खुबै खेदो खन्ने काम कहिलेसम्म गर्ने ? सासुले बुहारीलाई छोरीको नजरबाट हेरौँ, सासुलाइ बुहारीले आमाको रुपमा हेरौँ त सामाजिक विकृती र पारिवारिक विखण्डन त्यसै हराएर जान्छ ।

भाउजुको जस्तो सोच भएका मानसिकतालाई अपिल छ, कृपया तपाइकी आमालाई तपाइकी बुहारीले बचन लगाउँदा चित दुख्छ भने याद गर्नुस् तपाइले सासुलाइ बचन लगाउँदा तपाइका नन्द आमाजुको मन पनि अवश्य पनि दुख्छ । फराकिलो सोँच राखौँ । म पनि भोली कसैको बुहारी हुने हो भन्ने कुराको हेक्का राखेर आफ्ना सासुप्रति सकारात्मक र मानवीय व्यवहार गरौं । कुरा काटेर नराम्रो टिप्पणी गरेर होइन, सकारात्मक बचनले सकारात्मक सोँचले परिवर्तन ल्याउने हो । अनिमात्रै महिलाका सत्रु महिलानै हुन् भन्ने सोचहरु ग्लत साबित हुनेछन् ।