Please Update Your Browser.

महिलालाई आसन होइन, शासनको आवश्यकता, दलहरुले उचित स्थान नदिएको गुनासो

लेखनाथ खतिवडा,

पाँचथर, १६ जेठ । आसन्न स्थानीय तहको निर्वाचनमा महिलाहरुको सहभागिता निकै कम भएको सरोकारवालाहरुले बताएका छन् । १० औं गणतन्त्र दिवशको अवसरमा राजनीतिमा महिला सहिभागिता विषयक अन्तक्र्रिया कार्यक्रमका बोल्ने अधिकांश महिला सहभागीहरुले जिल्लाका ठूला राजनीतिक दलहरुले महिलाहरुको सहभागितामा कञ्जुस्याइ गरेको भन्दै महिलाको निर्णायक तहमा सहभागितालाई सुनिश्चित गर्न स्वयं महिलाहरु सक्षम र जागरुक हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै फिदिम नगरपालीका–१४ की टिका राईले पाँचथर जिल्लाका ८ ओटै स्थानीय निकायमा ठूला दलहरुले प्रमुख पदमा महिलाहरुलाई स्थान नदिएको भन्दै राजनीतिक दलको दृष्टिकोण नै महिलाहरुको सवालमा गलत भएको आरोप लगाइन् ।

तुम्वेवाकी यसोदा सुव्वाले माउनीति राजनीतिमा नै महिला सहभागिताको सवालमा महिला मैत्री नभएको भन्दै तालमेल र गठबन्धनले महिलाका हक अधिकारहरु कुण्ठित भएको बताइन् । कार्यक्रममा फालेलुङकी यमुना तिम्सिनाले महिलाहरुलाई अवसर नै नदिइ काम गर्न सक्दैनन् भन्नु पुरुषवादी मानसीकताको उपज भएको भन्दै महिलाले अवसर पाए चुलोदेखि देश चलाउने बताइन् ।

हुकोडेक नेपाल र जागरण नेपालले पाँचथर जिल्लामा सञ्चालन गरेको महिलाहरु विशेष गरी सिमान्तिकृत समुदायको स्थानिय सुशासन, निर्वाचन, निर्णायकतह र राजनीतिमा सहभागीता सवलिकरण कार्यक्रम अन्तर्गत गठित महिला समूहका पदाधिकारीहरुलाई लक्षित गरी सञ्चालित ५ दिने तालिमको समापनको अवसर समेत रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले नेपाल दक्षिण एसियामै महिला सहभागीतामा अव्बल मुलुक भएको भन्दै महिलाहरु स्वयं जागरुक र सक्षम नभए “शासनमा महिला होइन, आसनमा महिला”हुने खतरा भएको बताए ।

निर्वाचन अधिकृत धु्रवकुमार राइले स्थानीय निर्वाचनसँग महिलाहरुका सवालको बारेमा धारणा राखेका थिए ।

परियोजनाले पाँचथरका साविक ओलने, हांगुम, प्राङवुङ, मेमेङ र लुङरुपामा महिला शसक्तिकरणको कार्यक्रम सञ्चालन गर्दै आएको परियोजना प्रमुख प्रेम ओझाले वताए । कार्यक्रम स्रोत समूह पाँचथरकी सविता राउतको अध्यक्षतामा सम्पन्न भएको थियो ।