Please Update Your Browser.

नयाँ समयको सङ्घारमा

दामोदर पुडासैनी ‘किशोर’

मृत्युले मलाई
कहिले फकाउँछ
कहिले सताउँछ
कहिले पारुँ भन्छ
जिन्दगीकै सबैभन्दा ठूलो दुर्घटना
म भने हरेक क्षण
उसका पौंजाबाट फुत्केर
आइपुगेको छु यहाँसम्म

क्षण क्षणमा मृत्युसंग जिस्कन पाइएको छ र पो
टिकाइरहन सकिएको छ जिन्दगी
कुनै क्षण झुक्याएर जिन्दगीवाट मृत्यु भाग्यो भने
कहिल्यै उठ्न नसक्नेगरि लड्छ जिन्दगी

जीवनलाई होइन मृत्युलाई खुशी पार्न
हरदम् जुटिरहेछु म जिन्दगीभरि

संसारभरि असङ्ख्य आफन्त भेटेर
–फुलिरहेको छ सयपत्री मेरो मनमा
–बगिरहन्छन् उत्साहका नदीहरु
–चलिरहन्छ उमङ्गको बतास
आफ्नै हातले संसार रङ्गाइरहेको बेला
ठान्छु, केही फरक पार्दैछ संसारलाई
मेरो उपस्थितिले

म नजन्मेको भए
संसार पनि जन्मदैनथ्यो मेरो लागि

हरेक नयाँ क्षणमा उभिंदा
बदल्न सक्छु कि सक्दिन संसारलाई
नयाँ पाइला टेकेर सोचिरहेछु

मलाई हृदयदेखि फूलगुच्छा दिने मित्रहरु
आउँनुहोस्
मैले हत्केलामा खेलाइरहेको नबीन घामबाट
निकालौं असंख्य घाम
र, बढाऔं ब्रह्माण्डको आयतन

भेटेका हरेक क्षणमा
नयाँ संसार नजन्माउने हो भने
के अर्थ छ र म हुनुको यस धर्तिमा

हुत्तिएर अघि बढिरहेको समयले
धकेलेको छ मलाई उचाइतिर
साँच्चै उमङ्गित यस क्षणमा

(जन्मदिनको अवसरमा रचिएको नयाँ कविता) –ग्वङ्गबुँ काठमाडौं ।