Please Update Your Browser.

वुवाको स्मृतिमा शैक्षिक सामग्री बितरण

पाँचथर, १९ जेठ । फिदिम नगरपालिका–५ चोकमागू स्थित जोरकुलो आधारभूत विद्यालयमा विपन्न तथा जेहेन्दार वालवालिकाहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

पाँचथर उद्योग वाणिज्य संघ तथा लायन्स क्लव अफ पाँचथरका अध्यक्ष समाजसेवी मित्रप्रसाद काफ्लेका स्वर्गिय वुवा रामप्रसाद काफ्लेको ९ औं पुन्य स्मृतिमा विद्यालयका ४५ जना वालवालिकाहरुलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको हो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि तथा दाता काफ्लेले स्वर्गीय वुवाको इच्छा पूरा गर्न आफूले शैक्षिक सत्रमा करिव ५ सय विद्यार्थीहरुलाई पोशाक तथा पाठ्यपुस्तक वितरण सहित अन्य सामाजिक काम गरेको बताए । उनले शैक्षिक तथा सामाजिक सहयोगलाई आगामी दिनमा संस्थागत गरेर लैजाने बताए ।

उनले कुनै पनि वालवालिकाहरुले विद्यालय पोशाक र शैक्षिक सामग्रीहरुकै अभावले विद्यालय जानवाट वञ्चित हुनु नपरोस भन्दै त्यस कार्यको लागि आफूले विभिन्न प्रयास जारी राख्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्षहरु लेखनाथ खतिवडा र लक्ष्मी गौतम, लायन्स क्लव अफ पाँचथरका सचिव नवराज घिमिरे लगायतले बोलेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकवहादुर तुम्रोकको अध्यक्षतामा भएको थियो ।