Please Update Your Browser.

पाँचथरमा चुनाव प्रचारका अनेक शैली

लेखनाथ खतिवडा,

पाँचथर, २ असार । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा पाँचथर जिल्लामा निर्वाचन केन्द्रित गतिबिधि बाक्लिएका छन् । गाउँदेखि सदरमुकाम सहितका बजारमा मत आफ्नो पक्षमा पार्न दलहरुले पुरानै शैली अपनाइरहेका छन् । दल तथा उम्मेद्वारहरु तामझाम सहित मतदाताकँहा पुग्ने गरेका छन् । 

सदरमुकाम फिदिममा दिनहुँ जसो फरक–फरक राजनीतिक दलहरुको टोली साँस्कृतिक टोली सहित बजार घुमिरहेका भेटिने गरेका छन् । सम्बन्धित क्षेत्रका उम्मेद्वारसँगै घर घरमा घुमिरहेको भेटिन्छन । मतदातालाई रिझाउन भन्दै पछिल्लो समय साँस्कृतिक टोली सहित नगर घुम्ने चलन विकास भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरुको प्रचार शैली पुरानै देखिएको हो । उनीहरु दैनिक जसो बजार क्षेत्रमा सोही कार्य गरिरहेका छन् ।

मूख्य दलहरुले निर्वाचन प्रचारका लागि कलाकार नै तयार पारेका छन् । महिनौँदेखि तयारी गरेका कलाकारहरु सभामा केन्द्रीत दलहरुका लागि गहना नै बनेका छन् । लामो र पट्यारलाग्दो भाषण सुन्न स्वयं पार्टी समर्थक वा कार्यकर्ताले समेत रुचाउँदैनन् । कलाकारहरुको उपस्थिति र साँस्कृतिक प्रस्तुतिले कार्यक्रममा सहभागीको संख्या बढाउन तथा कार्यक्रमलाई सार्थक बनाउन सहयोग गरेका छन् । गायनदेखि नृत्य गर्न समेत अब्बल कलाकारहरुले सर्वसाधारण मतदाताको ध्यान तान्ने विश्वास दलहरुको छ । साँस्कृतिक टोली सहितको प्रचार शैलीलाई नयाँ मान्न सकिए पनि बाँकी कार्य पुरानै शैलीमा चलिरहेका छन् । तिहारमा हिँड्ने देउसी टोली जस्तै गरेर नगर परिक्रममा गर्ने होड नै चलेको छ ।

निर्वाचन प्रचारका क्रममा निर्वाचन आचारसंहिता विपरित सडक भित्ता, बिजुलीका पोल, विद्यालय तथा मन्दिर हातामा प्रचार सामग्री टाँसिएको छ । कुनैपनि दलले प्रचार सामग्री टाँस्न घरधनीसँग अनुमति लिँदैनन् ।

टाँसिएका पर्चा रहे\नरहेको उनीहरुलाई ख्याल छैन् । यस्तै अन्य दल तथा उम्मेद्वारको प्रचार सामग्रीमाथि आफ्नो प्रचार सामग्री टाँस्न कसैले हिचकिचाएका छैनन् । अनि निर्वाचन आचार संहिताले नदीएका ज्याकेट टोपि टि सर्ट पनि वजारमा छ्यापछ्याप्ती रुपमा पाइने गरेको छ ।

निर्वाचन शिक्षा कमजोर

निर्वाचनको सौहार्दपूर्ण वातावरण सम्पन्न गर्न सरकारले लगानी गरेको निर्वाचन शिक्षाको कार्यक्रम कम प्रभावकारी देखिएको छ । जिल्लामा मतदातालाई शिक्षित गर्ने उद्देश्यले दिएको त्यस्तो शिक्षा अझै कम रहेको पाईएको हो ।

मतदाताले भोट हाल्ने तरिकादेखि स्वस्तिक चिन्ह, मतपत्रको प्रयोग र गोपनियताको बिषयमा अनबिज्ञताका कारण समस्या हुने देखिएको छ । राजनीतिक दलहरुले पनि आचारसंहिता अनुसारको काम गर्न नसक्दा थप समस्या हुने गरेको वताइन्छ ।

राजनीतिक दलहरुसँग निरन्तर सम्बादमा रहेको बताउँदै जिल्ला निर्वाचन अधिकारी ध्रुव राईले समस्या भए जानकारी गराउने बताए । जिल्लामा आचारसंहिता उल्लङ्घन सम्बन्धि कुनै पनि उजुरी नभएकाले हालका लागि समस्या नरहेको उनको भनाई छ ।