Please Update Your Browser.

माफ गरिदेऊ सरस्वती माता

सञ्जय खड्का इटहरी, सुनसरी

माफ गरिदेऊ सस्सवती माता, माफ गरिदेऊ । भूल भो । ठूलो भूल भो । मलाई थाहा छ, तिमी रिसाएकी छौ । हो तिमी धेरै नै रिसाएकी छौ । कलम बोक्ने हातले हतियार बोक्न थाले । ज्ञानवृष्टि गर्नुपर्नेमा ढुङ्गामुडाको वर्षा हुनथाले । विद्याको पवित्र मन्दिर (विश्वविद्यालय) मा फोहोरी राजनीति गर्न थाले, उपकुलपतिलाई कालो मोसो लगाउन थाले । शिक्षण संस्थाहरुमा करोडौंको घोटला हुन थाले । मृदुभाषी होइन कटुभाषी हुनथाले । तिम्रै वासस्थलबाट झुठा आश्वासन र सस्ता भाषण मुखरित हुनथाले । यहाँ तिम्रो नाममा दुई जिब्रे कुरा गर्न थाले, भ्रम र झुठको खेती गर्न थाले । तिमी आफ्नो रीस देखाऊ वा नदेखाऊ, तर मलाई पक्का थाहा छ तिमी रिसाएकी छौ । हो तिमी बेस्सरी रिसाएकी छौ । र त तिमी हाम्रो सामु छैनौ । हामीसँग त मात्र मूर्ति छ । फगत माटोको मूर्ति । तिमी त यहाँ छैनौ अमेरिका, बेलायत र पाश्चात्य मुलुकमा छौ । यहाँ होइन लण्डन युनिभर्सिटी र हवर्ड युनिभर्सिटीमा छौ । आखिर किन पो बस्थ्यो यहाँ ? के–का लागि बस्थ्यौ यहाँ ? गरिबी, अशिक्षा र फोहोरको थुप्रोमा । कुट, फुट, लुट र गुट–उपगुटको ठाँउमा । यहाँ त केवल लोडसेसिडङ्ग, अभाव, भ्रष्टचार, कालो बजारी र गगन चुम्वी महंगी छ । तिमी त उतै छौ जहाँ विकास छ, ज्ञान छ र विज्ञान छ ।

यहाँ त तिम्रो दिवसमा (शिक्षा दिवस) छुट्टि मनाइन्छ । किताबलाई कोठाको कुनामा थन्काइन्छ । भड्किला कपडा लगाउँदै रोमाञ्सको दिन मनाइन्छ । तिम्रै नाममा यहाँ गोजी भरिन्छ । यहाँ विद्या दिवसमात्र नभएर नारी दिवस, शिक्षा दिवसहरुमा पनि छुट्टि मनाइन्छ । छुट्टि नै छुट्टिले भरिएको देश हो यो । यहाँ दिवसको महत्व र उद्देश्य प्रति सबैलाई बञ्चीत गराइन्छ । भनिन्छ शिक्षा जीवनका लागि तेस्रो नेत्र हो । तर यहाँ त शिक्षामा पनि राजनीति गरिन्छ, शिक्षामा बह्मलुट गरिन्छ, अभिभावकलाई लुटिन्छ । यहाँ शिक्षा मानव जीवनका लागि तेस्रो नेत्र होइन पैसा कुम्लाउने मूल ढोका भएको छ ।। हो माता, यहाँ शिक्षण संस्थाहरुमा करोडौंको घोटला हुन थाले । चिकत्सकीय शैक्षिक संस्था जस्ता संवेदनशील संस्थामा फोहोरी राजनीति गर्न थाले । नक्कली डाक्टरहरु उत्पादन हुन थाले । त्यसैले होला डाक्टरलाई भगवानको अर्को रुप मान्नेहरु अहिले डाक्टरको नाम सुन्न साथ झस्कीन थाले ।
वास्तवमा शिक्षाले चेतना बढाउँँछ, सोचको दायरा फराकिलो बनाउँछ । तर हाम्रो शिक्षाले चेतना बढाउन सकेको छैन । संकुचित र दरिद्रमानसिकताहटाउन सकेको छैन । यहाँ त शिक्षित वर्ग पनि छुवाछुत प्रथाबाट मुक्त हुन सकेका छैनन् , पितृसत्त्तात्मक सोचबाटमुक्त हुन सकेका छैनन्, अन्धविश्वासको कालो दलदलबाट बाहिर निस्कन सकेका छैनन् । भनिन्छ शिक्षाले मानिसलाई आत्मनिर्भर र नैतिकवान बनाउँछ । तर यहाँ त शिक्षाले बेरोजगार मात्र बढाउँछ । अरु देशमा शिक्षा पाए पछि दिक्षा पाएको अनुभव गर्छन तर हाम्रो देशमा त शिक्षा पाए पछि भिक्षा माग्न थाल्छन् । यहाँ त विज्ञान भन्दा बढी चमत्कारमा विश्वास गर्छन्, त्यसैले त यहाँ वैज्ञानिक भन्दा बढी बाबाहरु धेरै छन् । भूल भो सरस्वती माता, ठूलो भूल भो । वास्तवमा तिम्रो पुजा गर्नुको पछि प्रेम भन्दा पनि डर लुकेको छ । पढाइमा असफल हुने डर, परिक्षामा मुस्किल हुन्छ कि भन्ने डर । त्यसैले हामी तिमीलाई लड्डु, नैवेध र पैसा चढाउँछौं । हामीले चिताएको पु¥याइदिए यसो गछौं, उसो गर्छौं भनेर एक्सचेन्ज अफर राख्छौं । अर्को शब्दमा भन्नु पर्दा हामी पुजाको नाममा, भाकलको नाममा तिमीलाई घुसको अफर गरि रहेका हुन्छौं । वास्तवमा माता वुई आर नट् द गड लभिङ्ग पिपल, वुई आर गड फियरिङ्ग पिपल ।
वास्तवमा हामीले तिमीलाई कहिल्यै बुझ्न सकेनौं । तिमी शिक्षा हौ, ज्ञान हौ, अध्ययन हौ, अनुसन्धान र खोज हौ । तर हामीले तिमीलाई बुझ्न सकेनौँ । केबल मुर्ति मात्रै बुझ्याँै र केबल लड्डु र फूलले पुज्याँै । सरस्वतीको पूजा भनेको अध्ययनमा लिन हुनु हो ,महालक्ष्मी भनेको कर्णाली र महाकाली हो । तर हामीले यो यर्थाथ बुझ्न सकेनौं । यही अबुझताले गर्दा हामी दिनोदिन दरिद्र र गरिव हँुदै गयौँ । तिमीबाट हामी टाढिदै गयौं । कवि भूपि शेरचनले भन्े झैँ हामी वीर छौ तर बुद्धु छौँ, हामी बुद्धु छौं र त वीर छांै । बुद्धु नभईकन हामी कहिल्यै वीर हुन सकेनौं । हो हामीले अब वीरताको साथै बौद्धिकताको पनि प्रर्दशन गर्नुपर्छ ,शिक्षाको ज्योति फैलाउनु पर्छ , चेतना बढाउनु पर्छ र नैतिकतालाई आत्मसाथ गर्नुपर्छ । यसो गरेमा नै सरस्वतीलाई वास्तविक पुजिएको ठहरिनेछ छ ।
यहाँ शान्ति र खुसीयालीका किरण फैलिएको भए अनि सबैले भन्थे– हो यो नै बुद्धको देश हो । मनोज गजुरेलको फोटोकपीमा जस्तो नेपाल भैइदिएको भए विश्वले भन्थ्यो–यहाँ लक्ष्मीको बास छ । सतप्रतिशत साक्षात्कार भइदिए, हामी भन्नसक्थ्यौँ– यहाँ सरस्वतीको बास छ । तर ठूलो भूल हो, सरस्वती माता ठूलो भूल भो ।