Please Update Your Browser.

शिक्षाका सव–इन्जिनियरलाई घुससहित अख्तियारले पक्राउ गरेपछि दाँत झारेको काण्ड किन गुपचुप ?

लेखनाथ खतिवडा,

पाँचथर, ७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय पाँचथरका सव–इन्जिनियर मनोजकुमारलाई यादव १ लाख २५ हजार रुपैयाँ घुससहित कार्यालयबाटै नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले जिल्ला शिक्षा कार्यालयका करार सव–इन्जिनियर यादवलाई मंगलबार शिक्षा कार्यालयमै घुल लिँदालिँदै रङ्गे हात पक्राउ गरेको हो ।

सूचनाको आधारमा अख्तियारको क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले जिल्लाको सिद्ध सरस्वती माध्यमिक विद्यालय माङजावुङ ४ कोठ भवन निर्माणको अन्तिम प्राविधिक प्रतिवेदन तयार पार्न घुस लिइरहेको अवस्थामा यादवलाई पक्राउ गरेको आयोग इटहरीका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए ।

कार्यालय समय सुरु भएको एक घण्टा नवित्दै यादवलाई कार्यालयमै अख्तियारको टोलीले घुस लिँदै गर्दा पक्राउ गरेको थियो । २४ लाखको लागतमा निर्मित विद्यालयको ४ कोठे भवनको अन्तिम प्राविधिक प्रतिवेदन बनाउने क्रममा यादवले घुस मागेका थिए ।

पक्राउ परेका यादवलाई थप अनुसन्धानको लागि इटहरी स्थित अख्तियार अनुसन्धानको कार्यालयमा लगिएको छ । २४ लाख रुपैँया बजेट रहेको भवन २०७० सालबाट निर्माण थालिएको भएपनिविविध कारणले निर्माण सम्पन्नभएको थिएन् ।

विद्यालय भवन निर्माणका ठूलै चलखेल

पाँचथरमा १ सय ५० बढि विद्यालय भवन निर्माणका लागि बजेट आएको थियो । यसमध्ये अधिकांश भवन निर्माण सकिएको छ । विद्यालय भवन निर्माणमा कमसल निर्माण सामग्रीको प्रयोग भएको, प्राविधिक प्रतिवेदन तयार पार्न प्राविधिकहरुले १० प्रतिशतसम्म घुस मागेको चर्चा चलेपनि कुनैपनि विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षहरु उक्त विषयलाई बाहिर ल्याउने पक्षमा थिएनन् । किनकी विद्यालय भवन निर्माणमा व्यापक अनियमितता भएको छ ।

केही विद्यालयहरुलाई भवन निर्माणमा रकम अपुग भएको भन्दै साविकका गाविसको कार्यालयबाट थप रकम समेत दिइएको छ । जिल्लाको सुभाङ, नागी, थर्पू लगायतगाविसका केहीविद्यालयमा गाविसबाट थप बजेट दिइएको छ ।

दाँत झारेको काण्ड गुपचुप

केही महिनाअघि प्राविधिक प्रतिवेदन तयार पार्दा लिएको घुसका विषयमा प्राविधिकहरुवीच नै विवाद भयो । मंगलबार पक्राउ परेकायादव र अर्का प्राविधिक रामपुनित मण्डलवीच भएको विवादपछि शिक्षा कार्यालयमै हात हालाहाल भयो ।

यादवले मण्डललाई मुक्काप्रहार गर्दा उनका दाँत झरे । तर, पीडित मण्डलले दिएको उजुरी लिन जिल्ला प्रहरी कार्यालय पाँचथरले इन्कार गरेको स्रोतको दाबी छ ।

मण्डलले उजुरीकालागि विभिन्न निकायमा हारगुहार गरेपनि प्रहरीले नलिई पठायो । सरकारी कर्मचारी भएका कारण उनीहरुको विवादलाई मुद्दाको रुप दिनप्रहरी मञ्जुर भएन् । अन्ततःप्रहरी, जिशिका, पीडित र पीडकको मिलेमतोमा १ लाख ५० हजार क्षतिपूर्ति दिलाई दुवै पक्षबीच मिलापत्र भएको स्रोतको दाबी छ । तर, उक्त विषयलाई सार्वजनिक गर्न कुनैपनि निकाय राजी भएनन् । उक्त घट्नाको मूख्य कारण नै दुई प्राविधिकवीच लेनदेन नमिल्नु रहेको स्रोत बताउँछन् ।