Please Update Your Browser.

भ्रष्टाचार मुक्त गाउँपालिका मेरो योजनाः कुँवर

कर्ण कुँवर, अध्यक्ष उम्मेदवार

तपाईको उम्मेदवारी केका लागि ?

बर्दगोरिया गाउँपालिका विकासको ठूलो सम्भावना बोकेको ठाउँ हो । यो ठाउँमा सामाजिक र भौतिक क्षेत्रमा थुप्रै कामहरु गर्न जरुरी छ । पूर्व पश्चिम मार्गसँगै जोडिए पनि यो क्षेत्र विकासको दृष्टिकोणले पछाडीनै छ । २० वर्षसम्म स्थानीय तहको निर्वाचन नहुँदा जनप्रतिनिधीको अभावमा छिटफुट रुपमा आउने विकासको बजेट सम्बन्धित ठाउँसम्म पुग्न सकेको छैन । यो क्षेत्रको सामाजिक, आर्थिक, भौतिक, सांस्कृतिक लगायत समग्र विकासका लागि कहाँ के गर्न आवश्यक छ ? भन्ने कुराको वस्तुगत मसँग जानकारी छ । त्यसकाकरण बर्दगोरिया गाउँपालिकालाई सात नम्बर प्रदेशकै नमुना गाउँपालिका बनाउने भिजनका साथ मैले गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।

मतदाताको समर्थन कत्तिको पाउनु भाको छ त ?

एक्काइशौं सताब्दीका मतदाताहरु विकास र परिवर्तन चाहन्छन् । पहिले पहिलेका निर्वाचनमा जस्तो उम्मेदवारले चुनावका बेला बाड्ने मिठा मिठा आश्वासनबाट प्रभाबित भएर मतदाताहरुले भोट दिने अवस्था छैन । यो ठाउँको विकासका लागि विगतदेखि वर्तमानसँग कुन उम्मेदवार र पार्टीले के काम गरेको छ भन्ने कुराको लेखाजोखा मतदातासँग छ । बर्दगोरियावासी विगतका दिनदेखिनै यो क्षेत्रको भौतिक तथा सामाजिक विकासका लागि मैले खेलेको भूमिकासँग जानकार हुनुहुन्छ । उहाँहरुको आग्रह र सल्लाह बमोजिमनै मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुनाले पनि मतदाताको पहिलो रोजाईमा एमाले पार्टी रहनेछ भन्ने कुरामा आसावादी छु ।

बर्दगोरिया गाउँपालिकाको विकासको लागी तपाईका प्रतिवद्धताहरु के के छन् ?

तिन राष्ट्र जोड्ने प्रदेश नं. सात कै सेति लोकमार्गको निर्माण कार्यलाईलाई तिव्रता दिन मेरो पहिलो प्राथमिकता रहने छ । बर्दगोरिया गाउँपालिकालाई नगरपालिका बनाउन मेरो पहल रहने छ । गाउपालिकाका ६ वडै वडालाई छुने गरी रिङ्रोडको निर्माण गर्ने छु । अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै सम्मुनत गाउँ शहर निर्माण गर्ने छु । दलित, जनजाती, पिछडा वर्ग, एकल महिला, अपाङ्ग र जेष्ठ नागरिकको हक हित सुनिश्चित गर्दै राज्यका हरेक निकायमा उनीहरुको पहुँच बृद्धि गर्न पहल गर्नेछु । स्थानीय तहमा मझौला तथा ठुला उद्योग सञ्चालन गरी युवा स्वरोजगारलाई ग्यारेन्टि गर्ने छु । यस्तै स्वच्छ खानेपानी, ढल निकास, फोहोर व्यवस्थापन, सडक सञ्जाल विस्तार तथा सुरक्षित बर्दगोरिया गाउँपालिका निर्माणका लागी पहल गर्ने छु ।

आम मतदाताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

मतदाताहरु साच्चै नै उत्साहित छन् । चुनावी प्रचार प्रसारका क्रममा हामी घरदैलोमा पुग्दा राष्ट्र, राष्ट्रियता र जनताको हक अधिकारको लागी लड्ने पार्टी एमाले नै हो भन्ने जनताको धारणा पाएका छौ । साथै पूर्व गाविस अध्यक्ष, उपाध्यक्षको साथ र समर्थन पनि पाएकाकारण बर्दगोरियामा हाम्रो पकड बलियो बन्दै गइरहेको छ । बौनिया बजारमा बसेर थुप्रै विकासका काम गरेकाले पनि अबको एक मौका फेरी कर्ण कुँवर र नेकपा एमालेलाई दिनुपर्छ भन्ने मतदाताको भनाई छ । मतदाताहरु भोट दिएर जिताउन आतुँर देखिएका छन् ।

यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि तपाइको पहल के रहन्छ ?

बर्दगोरिया गाउँपालिकामा रहेको धार्मिक एव पर्यटयकिय दृष्टिकोणले महत्व बोकेको बर्दगोरिया मन्दिरको विकास गरी अन्तराष्ट्रियस्तरको धार्मिक पर्यटक स्थल बनाउन पहल गर्नेछु । यस्तै गाउँपालिकाको वडा नं. २ मा रहेको पिरुवा ताललाई बनभोज स्थलका रुपमा विकास गरी पर्यटन स्थल घोषणा गर्नमा जोड दिने छु । वडा नं. ४ मा रहेको पुरैना तालको विकास गर्दै पर्यटन स्थलको रुपमा प्रर्वद्धन गर्न पहल गर्नेछु । साथै आम जनताको राय सल्लाह लिएर धार्मिक, सांस्कृतिक स्थलहरुको खोजी गरी बर्दगोरियालाई पर्यटकीय स्थलका रुपमा परिचित गराउन पहल गर्नेछु ।

यो क्षेत्रमा थारुको बसोबास पनि बाक्लो छ, उनीहरुलाई कसरी समेट्ने सोच बनाउनु भएको छ ?

थारु समुदायका दाजु भाई दिदीबहिनीहरुको सल्लाह लिएरै मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ । विगतमा मुक्त कमैयाहरुको पुनस्र्थापनाका लागि मैले व्यक्तिगत ढंगबाट खेलेको भूमिकाप्रति उहाँहरु सन्तुष्ट भएकाकारण मप्रति थारु समुदायको सद्भाव सधै राम्रो रहँदै आएको छ । थारु समुदायका मुद्धाप्रति म सधैं संवेदनशील थिए । आगामी दिनमा पनि अझ बढी संवेदनशील भएर काम गर्नेछु । बर्दगोरियामा थारु संग्रालय स्थापना गरेर थारुहरुको परमपरागत संस्कृति जोगाउन पहल गर्नेछु । साथै थारु अगुवाहरुको सर सल्लाह लिएर उनीहरुको सांस्कृतिक पहिचान जोगाउन, आर्थिक उन्नति गर्नका लागि मेरो भूमिका सधै सकारात्मक रहनेछ ।

बर्दगोरिया गाउँपालिका बाढि प्रभावित क्षेत्र हो, यो समस्यालाई कसरी समाधान गर्नु हुन्छ त ?

तटबन्धन र पुल निर्माण कार्यलाई प्रभावकारी बनाईने छ । गाउँपालिकाको वडा नं. १ स्थित काँडा र कुईरा नदिहरुका कारण बर्सेनि हुने नदि कटान तथा डुबानको समस्यालाई नियन्त्रण गरिने छ । यसैगरी जथाभावि नदिनाला मिच्न नदिने र व्यवस्थित ढल निकास, वृक्षारोपन गरी नदि नियन्त्रण मार्फत डुबानको अन्त्य गरिने छ ।

गाउँपालिकाले अध्यक्षलाई दिने सेवा सुविधा बाफतको रकम के गर्नु हुन्छ ?

गाउँपालिकाको अध्यक्षमा जितेमा मैले अध्यक्षलाई सरकारले दिने सेवा सुविधा केही पनि लिन्न भनेर पहिले घर दैलो कार्यक्रमका दौरानमै घोषणा गरिसकेको छु । उक्त रकम मैले बर्दगोरिया गाउँपालिका भित्रका ६ वडै वडाका अपाङग, असहाय, दलित, दृष्टिविहिन, बृद्धबृद्धालाई वितरण गर्नेछु । अध्यक्ष जितेर मैले आर्थिक लिनु छैन । आर्थिक रुपमा म आफै सम्पन्न भएकाकारण मैले सरकारी सेवा सुविधा नलिने बचनवद्धता व्यक्त गरिसकेको छु ।

चुनाव जित्ने आधार के के छन् ?

एमालेको राष्ट्रियताप्रतिको अडानलाई कायम राखेको छ । जनताकाबीच विकास प्रेमी पार्टीको रुपमा पहिचान बनाएको छ । बृद्धबृद्धा, अपांगता भएका व्यक्ति, महिला, दलित, पछाडी पारिएका वर्गको हक, हित र संरक्षणका लागि आवाज उठाउने पार्टी एमालेनै भएकाकारण एमालेप्रति जनविश्वास बढ्दै गइरहेको छ । यसका साथै स्थानीयस्तरमा मेरो व्यक्तिगत पहलमा आज भन्दा १० वर्ष पहिले कैलालीको चिसापानीदेखि चौमालासम्म आन्दोलन गरेर बिजुली पुगाउन सफल भएका थियौं । सडकपुर बौनियादेखि करीब १७ किलोमिटर तल तल्लापानिसम्म पहिले साईकल जान पनि समस्या थियो, उक्त ठाउँमा बस पुगाउन सफल भयौं । बौनिया बजारमा एम्बुलेन्स ल्याएका छौं । यीं लगायत बर्दगोरियाका हुने हरेक विकास निर्माणका काममा मेरो संलग्नता छ । गरिव, असहाय, विपन्नहरुलाई सहयोग गर्दै आइरहेकाकारण र चुनाव जितेपछि बर्दगोरियालाई भ्रष्टाचार मुक्त गाउँपालिका बनाउने योजना रहेकाकारण यो क्षेत्रवासीले मलाई चुनाव जिताउने आसा गरेको छु ।

अन्तमा मतदातालाई के भन्न चाहानु हुन्छ ?

राष्ट्र र राष्ट्रियताको पक्षमा नेकपा एमाले चट्टान झैं उभिने पार्टी भएकाकारण एमालेप्रति जनताको विश्वास बढ्दै गइरहेको छ । स्थानीय निर्वाचन हुनुपर्छ भन्ने कुरामा एमालेले अडान राखेकाकारसण मात्र २० वर्षपनि जनताले आफ्ना प्रतिनिधी चुन्ने अधिकार उपभोग गर्न लागेका छन् । यो कुरा जनतालाई राम्रोसँग थाहा छ । त्यसैले यो निर्वाचनमा जनताको पहिलो रोजाई एमालेनै हुनेछ । साथै समृद्ध बर्दगोरिया गाउँपालिकाको विकास, भ्रष्टचार मुक्त गाउँपालिका, सुशासन, बेरोजगारी अन्तका लागी सबै मतदाता दाजुभाई दिदीबहिनीहरुलाई काम गर्ने अवसर प्रदान गरिदिन अनुरोध गर्दछु ।

(नेकपा एमालेबाट बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार कर्ण कँुवरसँग लिलाराज शाहीले गरेको कुराकानी ।