Please Update Your Browser.

टर्कीमा अपहरण, बंगलादेशमा फिरौती, नेपालमा अनुसन्धान

काठमाडौं, ३२ साउन । नेपाल प्रहरीले एउटा यस्तो अन्तर्देशीय अपराधको अनुसन्धान गरिरहेको छ, जुन घटना टर्कीमा भएको थियो भने फिरौती बंगलादेशमा लिइएको थियो । टर्किस र बंगलादेशी मिलेर गरेको अपहरणको घटनाको पीडित भने नेपाली थिए ।

आकर्षक रोजगारीको सपना बोकेर १४ लाख खर्च गरेर टर्की पुगेका रुकुमका झलक नकाल अपहरणमा परेका हुन् । बन्धक बनाएको नवौँ दिन नौ हजार अमेरिकी डलर बुझाएर उनी मुक्त भएका थिए । जुन घटनाको अनुसन्धान हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले अघि बढाएको छ ।

भारत हुँदै अवैध रूपमा टर्की

साथीमार्फत चिनजान भएका रुकुम मुसिकोटकै ३४ वर्षीय प्रकाश वलीमार्फत झलक टर्की पुगेका थिए । भारत हुँदै उनी अवैध रूपमा टर्की गएका थिए । टर्कीको इस्तानबुलमा जागिर पक्का भन्दै उनीसँग वलीले १२ लाख लिएका थिए । इस्तानबुलमा काम पाएपछि त्यहाँ पिआर पनि पक्का हुने आश्वासन दिइएको थियो । सोहीअनुसार उनी मोटो रकम खर्च गरेर एक वर्षअघि टर्की पुगेका थिए ।

इस्तानबुल एयरपोर्टमा प्रकाश वली झलकलाई लिन आए । त्यहाँको प्लास्टिक कम्पनीमा लगेर काम लगाए । झलकलाई लाग्यो, आफ्नो सपना पूरा भयो । तर, तलब आउने वेला मात्र उनी आफू ठगिएको थाहा पाए । सम्झौताअनुसार धेरै नै कम तलब आयो । तीन महिना सो कम्पनीमा काम गरेपछि बीचमै छाडेर अर्को कामको खोजीमा थिए ।

त्यही वेला उनै वलीले अर्को काम मिलेको भन्दै बोलाए । डेरानजिकै लिन आए । उनी अन्य दुई भारतीय साथीस“ग थिए । तीनैजनालाई एउटा घरको अन्डरग्राउन्डमा पु¥याइयो । काम देखाउन भन्दै त्यहा“ लगिएको थियो । वली गेटबाटै फर्किए । टर्किस र बंगलादेशी नागरिकले भित्र लिएर गए । भित्र पुगेपछि काम होइन, पेस्तोल देखाए । तीनैजनाको मोबाइल खोसेर बन्धक बनाइराखे ।

त्यसपछि सुरु भयो फिरौतीको बार्गेनिङ । उनीहरूले प्रतिव्यक्ति २५ लाख अमेरिकन डलर दिए मात्र छाडिदिने बताए । तर, ऋण गरेर टर्की पुगेका झलकस“ग पैसा थिएन । अपहरणकारीहरूले अत्याधुनिक पेस्तोल देखाउँदै मार्ने धम्की दिइरहेका थिए ।

बन्धक बनाएको एक साता भइसकेको थियो । खान पनि थोरै मात्र दिएका थिए । फिरौती नदिई छुट्ने सम्भावना नदेखेपछि उनले दक्षिण कोरियामा रहेका आफ्ना दाइ राजकुमार नकाललाई फोन गरे । अपहरणकारीहरूले पैसा पठाउन बंगलादेशको बैंक खाता नम्बर दिएका थिए ।

नौ हजार डलरमा रिहा

लामो समय बार्गेनिङ गरेपछि अपहरणकारीहरू नौ हजार डलरमा रिहा गर्न तयार भए । तर, नेपालबाट बंगलादेशको बैंकमा पैसा पठाउन सहज थिएन । त्यसकारण उनका दाइले दक्षिण कोरियाबाटै पैसा पठाएपछि गत वर्ष १९ पुसमा झलक रिहा भएका थिए । नौ दिनपछि फिरौती बुझाएर उनी छुटेका थिए । छुटेको केही दिनपछि उनले टर्कीको प्रहरीमा उजुरी गरे । अपहरणमा संलग्न एकजना टर्किस नागरिक पक्राउ परे । त्यसपछि उनी नेपाल फर्किए ।

नेपाल फर्किएर सिआइबीमा उजुरी

नेपाल फर्किएको केही समयपछि उनले घटनाको अनुसन्धानका लागि सिआइबीमा उजुरी दिए । गत वैशाखदेखि सिआइबीले इन्टरपोलको सहयोगमा घटनाको अनुसन्धान गरिरहेको छ । सिआइबीका निमित्त प्रमुख एसएसपी शेरबहादुर बस्नेतका अनुसार अपहरणमा संलग्न तीनजनाको पहिचान भइसकेकाले उनीहरूलाई फरार अभियुक्तका रूपमा काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा दायर भइसकेको छ ।

प्रकाश वलीसहित बंगलादेशी नागरिकहरू मोहम्मद अनवर मलिक र मोहम्मद मन्नन मलिकविरुद्ध मुद्दा दायर भएको छ । ‘उनीहरूविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएका छौँ,’ एसएसपी बस्नेत भन्छन्, ‘उनीहरूलाई नेपाल ल्याएर हामी कारबाही गर्छौँ ।’ घटनाको थप विवरणबारे टर्कीको प्रहरीसँग समन्वय भइरहेको उनले बताए ।

नेपाल प्रहरीकै पत्राचारका आधारमा फिरौती पठाइएको बंगलादेशको पुबाली बैंकमा रहेको मनन मालिकको खाता पनि रोक्का गरिएको छ । उनको खातामा सात लाख तीन हजार ८९ बंगलादेशी टाँका रहेछ । इन्टरपोलको सहयोगमा सो पैसा फिर्ता ल्याउने प्रक्रियासमेत नेपाल प्रहरीले अघि बढाएको छ । आफूलाई अपहरणको योजना बनाउने मुख्य अभियुक्त प्रकाश वली नै भएको र उनलाई कारबाही हुनेमा आफू् विश्वस्त रहेको झलकले बताए । नयाँ पत्रिका