Please Update Your Browser.

यस वर्षको मदन पुरस्कार घनश्याम कँडेलको ‘धृतराष्ट्र’ लाई

काठमाडौं, १२ भदौ । यस वर्षको मदन पुरस्कार घनश्याम कँडेलको ‘धृतराष्ट्र’ले पाउन सफल भएको छ । अन्तिममा छानिएका ९ कृतिमध्ये कँडेलको कृतिलाई मदन पुरस्कार गुठीको बैठकले उत्कृष्ट ठहर्याएको हो।

गत वर्षदेखि गुठीले केही पुस्तकको सूची सार्वजनिक गरेर ती पुस्तकबाटै मदन पुरस्कार घोषणा गर्ने गरेको थियो । यस पटक अन्तिम छनोटमा परेका नौ पुस्तकमा पुरुषोत्तमलोचन श्रेष्ठको ‘गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा,’ राज सरगमको ‘छाउघर,’ शरद पौडेलको ‘तपन,’ जय छाङछाको ‘दोहाको सीधा उडान,’ घनश्याम कँडेलको ‘धृतराष्ट्र,’ हरि अधिकारीको ‘प्रतिनायक,’ सीमा आभासको ‘म स्त्री अर्थात् आइमाई,’ राजेन्द्र पराजुलीको ‘शुक्रराज शास्त्रीको चस्मा’ र नवराज पराजुलीको ‘सगरमाथाको गहिराइ’ परेका थिए ।

मदन पुरस्कार गुठीले मदन पुरस्कारका निम्ति प्राप्त कुल १९५ पुस्तकमध्येबाट ‘श्रेष्ठ सूची’ छनौट गर्नका लागि गठित समितिबाट नौ पुस्तकहरूको सूची छनोट गरेको थियो ।

प्राध्यापक घनश्याम कँडेलको तेस्रो खण्डकाव्य ‘धृतराष्ट्र’ ऐरावती प्रकाशनले बजारमा ल्याएको हो। अनुष्टुप छन्दमा रचिएको खण्डकाव्यमा हो । कँडेलका यसअघि ‘देवयानी’, र ‘विश्वामित्र–मेनका’ खण्डकाव्यसँगै कविता, समालोचना गरी ११ कृति प्रकाशित छन् ।
जगदम्बा श्री वात्स्याायनलाई यस वर्षको जगदम्बा श्री पुरस्कार कार्टुनिष्ट दुर्गा बराल वात्स्यायनलाई दिने निर्णय पनि भएको छ।

कार्टुन चित्रका पर्याय बनेका वात्स्यायनलाई समसामयिक विषय र विसङ्गतिहरूलाई कार्टुन चित्रमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरिरहेको भन्दै यो पुरस्कार दिइएको हो ।

दुवै पुरस्कारको राशी २(२ लाख रहेको छ। यो पुरस्कार प्रत्येक वर्ष घटस्थापनाको अर्को दिन प्रदान गरिन्छ।