Please Update Your Browser.

सेनाले बनायो गुफा जाने गोरेटो बाटो

तेह्रथुम, १२ भदौ । तेह्रथुमको म्याङ्लुङ बजार नजिकै रहेको दशकते सामुदायिक वन परिसरमा रहेको ऐतिहासिक टुङ्ना गुफासम्म पुग्नका लागि नेपाली सेनाले गोरेटो बाटो निर्माण गरेको छ ।

सेनाले ऐतिहासिक गुफासम्म पुग्न र अवलोकन गर्न चाहनेलाई सहज होस् भनेर बाटो निर्माण गरिदिएको जनाएको छ ।

म्याङ्लुङस्थित नेपाली सेनाको इन्द्रदल गुल्मका जवानले बाटो निर्माण गरिदिएको गुल्मपति महेश्वर कार्कीले बताए । यसअघि स्थानीयवासी राम तुम्बाहाङ्फेले निजी लगानीमा युवासहित टुङ्ना गुफा ओझेलमा रहेको भन्दै त्यहाँसम्म पुग्नका लागि बाटो बनाउने काम थालेका थिए ।

गोरेटो बाटोमा ५५ जनाभन्दा बढी नेपाली सेना र स्थानीयवासीले श्रमदान गरेका थिए । म्याङ्लुङस्थित बसपार्क नजिकै रहेको हावा खाने बरदेखि पाँच मिनेट पैदल हिँडेपछि पुग्न सकिने ओडार हुँदै हाङ्साम महादेव गुफासम्म पुग्ने बाटो निर्माण गरिएको हो ।

म्याङ्लुङ बजारमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो क्षेत्र राम्रो गन्तव्य बन्न सक्ने म्याङ्लुङ–९ का वडा सदस्य बाबुराम लिम्बूले बताए । उनका अनुसार यो क्षेत्रलाई पर्यटकीयस्थल बनाउनका लागि हालै सम्पन्न वडा परिषद्मा समेत बजेट माग गरिएको छ ।

यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सिंहवाहिनी मन्दिर, बाघकोरे मन्दिर, नागा ओढार, थलायक डाँडा र गढी यक डाँडाको भ्रमण तथा अवलोकन गर्ने गरेका छन् ।