Please Update Your Browser.

राप्रपाका नेताकी छोरीलाई टेन्डर पार्न नसकिएपछि कैलालीमा आयल निगमको जग्गा खरिद प्रक्रिया रद्ध

दीपक जोशी,

धनगढी, १२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद आनन्दीदेबी पन्तकी छोरीलाई टेन्डर पार्न नसकिएपछि कैलालीमा नेपाल आयल निगमको डिपोका लागि आवश्यक जग्गा खरिद प्रक्रिया रद्ध गरिएको खुलासा भएको छ । सांसद पन्तकी छोरी शक्ति पन्तको संलग्नता रहेको रश्मी रियल स्टेटको नामबाट हालिएको टेन्टर पारेमा अरुले कानुनी उपचार खोज्ने र त्यसमा फसिने डरले पुरै टेन्डर नै रद्ध गरिएको खुलासा भएको हो । साविकको चौमाला गाविस ४ झिलमा रहेको जग्गा आयल निगमको डिपोका लागि स्वीकृत गर्न नसकिएपछि खरिद प्रक्रिया नै रद्ध गरिएको छ । आयल निगमले बोलपत्र आव्हान गरेपछि जग्गा दिन तयार रहेको भन्दै पाँच ओटा टेन्डर परेका थिए ।

सबै भन्दा सस्तो दर ५ लाख ९९ हजार र सबैभन्दा महंगोदर १३ लाख ३५ हजार प्रति कट्ठाका दरले जग्गा दिन सकिने भन्दै टेन्डर परेको थियो । तर सांसद आनन्दी पन्तकी छोरीले रश्मि रियल स्टेट मार्फत टेन्डर भरेको प्रतिकठ्ठा ७ लाख ५५ हजार रुपैयाको जग्गा स्वीकृत गर्न भरमग्दुर प्रयास गरिएको थियो । तत्कालीन आपुर्ती मन्त्री तथा राप्रपाका नेता दिपक बोहराको आडमा पार्टीकी सांसद पन्तकी छोरी शक्ती पन्तलाई टेन्डर पार्न अनेक षडयन्त्र रचिएको तर त्यो सबै षड्यन्त्र असफल भएपछि टेन्डर प्रक्रिया नै रद्ध गरिएको आयल निगमको डिपोको जग्गाका लागि टेन्डर पेश गरेका भुवनेश्वर पन्तले बताए ।

प्रदेश नम्बर सातका लागि आयल निगमको भण्डारण क्षमता बढाउन ठुलो डिपो स्थापना गर्ने भन्दै आयल निगमले अत्तरियालाई केन्द्रबिन्दु बनाउदै २० किलोमिटर आसपासको जग्गाका लागि बोलपत्र आव्हान गरेको थियो । निगमले जारी गरेको सुचनामा कम्तीमा दुई गाडि ओहोरदोहोर गर्ने सक्ने बाटो भएको जग्गा माग भएपनि शक्ती पन्तको रश्मि रियल स्टेटले टेन्डर भरेको जग्गामा पुग्नका लागि आवश्यक मापदण्ड अनुसारको बाटो नभएपछि पुरै टेन्डर रद्ध गरिएको हो । त्यतीबेलाका आपुर्ती मन्त्री दिपक बोहराले, उक्त जग्गामा बाटो पुगाउने प्रकृयाका लागि एक महिना टेन्डर खोल्ने समय थप गरिएको पनि खुल्नमा आएको छ ।

आयल निमगले अत्तरियाबाट २० किलोमिटर भित्र पुर्वपश्चिम राजमार्गभन्दा २ किलोमिटर नजिकको जग्गा डिपो स्थापनाका लागि माग गरेको थियो । जसअनुसार निवेदन परेका पाँच ओटा मध्ये चार ओटा जग्गा पुर्वपश्चिम राजमार्ग भन्दा २ देखी ३ किलोमिटर टाढा छन भने एउटा जग्गा अत्तरिया भन्दा ५ किलोमिटर नजिक पुर्वपश्चिम राजमार्गसगै जोडिएको हरैयामा छ । हरैयाको जग्गाको सबैभन्दा महंगो दर राखिएको छ भने अरु जग्गा ६ लाखदेखी ८ लाखसम्मका छन ।

निवेदन परेका प्राय सबै जग्गाहरुको मापदण्ड आरामसंग पुग्ने भएपनि निहित स्वार्थ पुर्ती हुने नदेखेपछि टेन्डर प्रक्रिया नै रद्ध भएको आयल निगमको डिपोको जग्गाका लागि टेन्डर पेश हाल्नु भएका भुवनेश्वर पन्तले बताए । राष्ट्रिय प्रजातान्त्रीक पार्टी बिभाजन भएपछि सांसद आनन्दीदेबी पन्त र तत्कालीन मन्त्री दीपक बोहरा अहिले पशुपति सम्शेर राणाले नेतृत्व गरेको पार्टीतिर लागेका छन । आयल निगमले पुर्वतिरको जग्गा खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको भन्दै अहिले छानबिन भईरहेको छ तर प्रदेश नम्बर सातमा भने विना कुनै कारण टेन्डर रद्ध गरिएपछि, आयल निगमको डिपो स्थापनाको कार्य अलपत्र परेको छ । दिनेश एफएमबाट