Please Update Your Browser.

भीमदत्त नगरपालिकाः कसरी आउँदैछ ६ महिनाभित्रै नगर विकास गुरुयोजना कार्यान्वयनमा ?

महेन्द्रनगर, १६ भदौ । भीमदत्त नगरपालिकाले नगर विकासका लागि विस्तृत गुरु योजना बनाउने भएको छ ।

स्थानीयको सुझावका आधारमा नगरको अल्पकालिन र दिर्घकालिन विकासका योजना समावेश गरी गुरु योजना बनाउन लागिएको हो । आगामी ६ महिनाभित्र गुरु योजना बनाएर कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ ।

मेयर, सुरेन्द्र विष्ट

नगरपालिकाले नगर विकासको नीतिका रुपमा राखेका विस्तृत गुरु योजना निर्माण पहिलो नगर सभाबाट पारित गरिएको हो । गत साउन २४ गते भीमदत्तको पहिलो नगर सभा भएको थियो । ‘अबको ६ महिनाभित्र आम जनताका सुझावहरुलाई समेत समेट्दै विज्ञहरुको सहयोगमा भीमदत्त नगरको अल्पकालिन तथा दिर्घकालिन विकास सम्बन्धि विस्तृत गुरु योजना निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ’ नगर सभाबाट पारित नीति विकास नीतिमा उल्लेख गरिएको छ ।

नगरपालिकाले स्थानीयको सुझावका आधारमा विज्ञहरुको सहयोगमा विस्तृत गुरुयोजना बनाउन लागेको हो । यसका लागि आन्तरिक तयारी थालिएको छ । भीमदत्तका मेयर सुरेन्द्र विष्टले समृद्ध नगर बनाउन गुरु योजना बनाउन लागिएको बताए ।

‘भीमदत्तलाई योजनाद्ध समृद्ध नगर बनाउन अल्पकालिन र दिर्घकालिन विकास सम्बन्धि योजना समावेश गरी गुरु योजना बनाउन लागेका हौ’ मेयर विष्टले भने, ‘नगर सभाबाट नगर नीतिका रुपमा पारित गरी योजना निर्माणका लागि आन्तरिक तयारी सुरु गरि सकेका छौ ।’

गुरु योजनामा पाँचमा गरिने योजनालाई अल्पकालिन र २० वर्षका योजनालाई दिर्घकालिन योजनाका रुपमा समावेश गरिने भएको छ । त्यसका लागि नगर प्रमुख विष्टले स्थानीयसित सुझाव लिन थालेका छन् । ‘सबै स्थानीयका सुझावका आधारमा अल्पकालिन र दिर्घकालिन योजना निर्माण गर्छौ’ मेयर विष्टले भने । उनले चुनावी प्रचारका क्रममा स्थानीयको दिगो विकासको चाहना देखिएकाले अल्पकालिन र दिर्घकालिन विकास समटेर योजना बनाउन लागिएको जानकारी दिए । ‘केही सुझाव प्रचारका क्रममा आएका छन्, अझ थप सुझाव लिएर अगाडि बढ्छौ’ मेयर विष्टले भने ।

भीमदत्तका मेयर सुरेन्द्र विष्टले नगर क्षेत्रको विकासका लागि अल्पकालिन र दिर्घकालिन विकासका लागि गुरु योजनालाई चुनावी एजेण्डा बनाएका थिए । चुनावी एजेण्डा अनुसार मेयर विष्टले नगर वासिन्दाका सुझावका आधारमा गुरु योजना निर्माणलई नगर विकासको नीतिमा समावेश गरेका हुन् ।

अल्पकालिन योजनामा पाँच वर्ष्भित्र पूरा गरिने बाटोघाटो निर्माण, सडक ग्राभेल, सडक कालोपत्रे, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत सेवा विस्तार, छाडा पशु चौपाया व्यवस्थापन लगायका योजनाहरु समावेश हुने भएका छन् ।

यसैगरी पश्चिमी सीमा नाकालाई ७ नं. प्रदेशको प्रमुख नाका रुपमा विकास, महाकालीमा पक्की पुल निर्माण, कृषिमा आत्मनिर्भर, प्राविधिक विश्वविद्यालय स्थापना, महाकाली सिँचाई आयोजनाको तेस्रो चरण सञ्चालन, चुरे फेदको घाँडीघाँचमा सिँचाई व्यवस्था, उज्यालो नगर, हरियाली नगर बनाउने लगायतका योजनाहरु दिर्घकालिन योजनामा समावेश हुने छन् ।

आन्तरिक तयारी पूरा गरेपछि विभिन्न क्षेत्रका विज्ञहरु नियुक्त गरी योजना निर्माण कार्य सुरु गरिने छ । अहिले पनि सहरी विकास योजनाका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्राविधिकहरु नगरपालिकाका सबै वडामा परिचालन गरिएका छन् ।

भीमदत्त नगरपालिकाले पहिलो नगर सभाबाट २० वर्षे नगर समृद्धिको लक्ष्य राख्दै नीति, कार्यक्रम र बजेट पारित गरेको छ । २० वर्ष्भित्र भीमदत्तलाई अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार सहित सुविधा सम्पन्न सहरका रुपमा विकास गरिने लक्ष्य राखिएको छ ।

यसैगरी साक्षरता, औसत, वार्षिक आय, असमानता हटाएर नेपालको नमूना नगरका रुपमा विकास गरिने लक्ष्य छ । नगरपालिकाले सवै सबै नगर वासिन्दालाई गौरबशाली नागरिकको अनुभूति गराइने, योजनाबद्ध सहर नीति कार्यान्वयनमा ल्याइने, सुकुम्बासी र मजदुरहरुका लागि एकीकृत आवाश कार्यक्रम सञ्चालन गरिने, भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अवलम्बन गरिने लगायतका नीति लिएको छ ।