Please Update Your Browser.

पशुमा कृतिम गर्भाधान गराउनेको संख्या बढ्दो

लेखनाथ खतिवडा,

पाँचथर, १८ भदौ । जिल्लामा पशुलाई कृतिम गर्भाधान गराउनेको संख्यामा वृद्धि भएको छ । जिल्ला पशु सेवा कार्यलय पाँचथरले आर्थिक वर्ष २०७३\७४ मा एक हजार ५३ पशुमा कृतिम गर्भाधान गरेको छ । कार्यलयको तथ्याङ्कका अनुसार नश्ल सुधारका लागि ७ सय ६८ गाई, २ सय ८१ वटा भैसी र ४ वटा बाख्रा गरेर १ हजार ५३ पशुमा कृतिम गर्भाधान गरिएको छ ।

आर्थिक वर्ष ७२\७३ मा ४ सय २३ गाई, १ सय १ भैसीमा गरी ५ सय २४ पशुमा कृतिम गर्भाधान गराएको कार्यालयले जनाएको छ । त्यस्तै आर्थिक वर्ष ०७१ \७२ मा ३ सय ५१ गाई, १ सय ३६ भैसीमा कृतिम गर्भाधान गरिएको पशुसेवा कार्यालय पाँचथरका पशुसेवा प्राविधिक निरज भट्टराईले जानकारी दिए । ७३\७४ देखि बाख्रामा पनि कृतिम गर्भाधान गर्न थालिएको र ४ वटा बाख्रामा कृतिम गर्भाधान गरीएको भट्टराईले बताए ।

जिल्ला पशु सेवा कार्यालय पाँचथरले ग्रामिण क्षेत्रका किसानहरुलाई चेतना दिन नसक्दा अझै यसको प्रभाव भएको देखिदैन । पछिल्लो समय किसानहरुले राँगो, साढे पाल्न कठिनाई हुने भएकाले पाल्न छाडेपछी कृत्रिम गर्भाधान तर्फ किसानहरु आकर्षित हुन थालेका हुन् । किसानहरु पशु पालन तर्फ आकर्षित भएपछि यो प्रविधि प्रभावकारी बन्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

कार्यालयका प्राविधिक भट्टराईले प्राकृतिक गर्भाधानमा गर्भ रहने सम्भावना कम हुने, दूध उत्पादन कम हुने र यसबाट जन्मिने बाछा बाछी तथा पाडा पाडीको नश्ल सुधार समेत नहुने भएकाले कृत्रिम गर्भाधान तर्फ किसानहरु लाग्न थालेको बताए ।

पशुको प्रजनन शक्ति क्रमस घट्दै गएपछि मासुका लागि प्रयोग गरिन्छ । प्राकृतिक गर्भधान गरेका पशु भन्दा कृत्रिम गर्भधान गरेका पशुको मासु उत्पादन धेरै हुने कृतिम गर्भाधानवाट पशुको दुध उत्पादनमा बृद्धि हुने, साँढे पाल्न झन्झट नहुने, छिटो बृद्धि हुने भएकाले पनि कृत्रिम गर्भाधान फाइदाजनक रहेको प्राविधिक भट्टराइको भनाई छ ।