Please Update Your Browser.

एआइजी जय बहादुर चन्दको कार्यकौशलताः नेपालको इतिहासमै पहिलो पटक ८८ किलो सुन बरामद 

काठमाडौं, १९ भदौ । नेपालको इतिहासमै पहिलोपटक एकै ठाउँबाट ८८ किलो सुन बरामद गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय प्रहरी आयुक्त जयबहादुर चन्दका अनुसार काठमाडौंको क्षेत्रपाटीबाट  आज बिहान साढे पाँच बजे उक्त परिमाणको सुन बरामद गरिएको हो ।

“गाडीमा सुन रहेको आशंकासहितको खबर आइतबार राती १० बजेनै पाइसकेका थियौं” प्रहरी आयुक्त चन्दले भने,–“घटनास्थल पुगेर सुनसहितको गाडी पत्ता लगाउँदा २ बज्यो भने आज बिहान साढे पाँच बजे सुनसहित गाडी बरामद गरिएको हो ।”

बा १७ च ६४२७ नम्बरको टाटा सफारी स्ट्रोम गाडी पार्किङ गरेर राखिएको गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोली घटनास्थल पुगेको प्रहरी आयुक्त चन्दले बताए । प्रहरीले उक्त गाडीका चालक मनोज अधिकारीलाई पनि नियन्त्रणमा लिएको छ । 

बरामद गरिएको सुन चीनबाट केरुङ नाका हुँदै नेपाल भित्र्याइएको आशंका प्रहरीको छ । यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रहरी आयुक्त चन्दले यति ठूलो परिमाणको सुन बरामद गर्न सक्नु नेपाल प्रहरीको ठूलो सफलता भएको प्रतिक्रिया दिए ।

अपराध नियन्त्रणका लागि नागरिकको दायित्व पनि ठूलो रहने भन्दै चन्दले  यस्ता खालका घटनामा नागरिक र प्रहरीको हातेमालो जरुरी रहेको बताए ।

स्मरणरहोस्, प्रहरी संगठनभित्र स्वच्छ छवीको पहिचान बनाएका एआइजी जय बहादुर चन्दले सुदूरपश्चिमको प्रहरी प्रमूखको जिम्मेवारी सम्हाल्दा होस् या ट्राफिक प्रहरीको प्रमूख र लागु औषध नियन्त्रण ब्यूरोको प्रमूखमा पुग्दा कुनै कुनै न नयाँ काम काम गरेका छन् । 

यस पटक महानगरीय प्रहरी कार्यालयको प्रहरी आयुक्तमा नियुक्त भएको एक महिना नपुग्दै एकै ठाउँबाट ८८ किलो सुन बरामद गरेर चन्दले नेपालको इतिहासमा नयाँ रेकर्ड राखेका हुन् ।