Please Update Your Browser.

एडिबीको टोली धनगढीमा

धनगढी, २७ भदौं । एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा कैलाली र कञ्चनपुर जिल्लाका चार वटा नगरपालिकामा सञ्चालन हुन लागेको परियोजनालाई अगाडि बढाउन एडिविका डिजाईन एण्ड सुपरभाईजरका ११ जनाको विज्ञ टोली यस क्षेत्रमा पुगेको छ ।

टोलीले सोमबार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै उपमहानगरपालिकाले परियोजनालाई सफल पार्न सडक निर्माणका लागि आवश्यक बाटो खाली गर्न र फोहोर व्यवस्थापन, बसपार्क लगायत निर्माणका लागि जग्गाको व्यवस्था गर्नुपर्ने जनाएको छ ।

उपमहानगरपालिकाले बाटो खाली र जग्गाको व्यवस्था जति चाँडो गर्छ , त्यती चाँडै हामीले काम अघि बढाउँछौं’ कार्यक्रममा एडिविका अनिल नेपालले भने । उनका अनुसार नगरपालिकाले आफुबाट गर्नुपर्ने काम गरेपछि हामीले सर्भे, डिजाईन ईष्टिमेट, टेण्डर र निर्माणको काम अघि बढाउने छ ।’ उनले दशै तिहारको बिचमै परियोजनाले सर्भेको काम अघि बढाउने बताए । उनले एडिविले यस परियोजनाअन्र्तगत परम्परागतभन्दा पनि आधुनिक प्रविधि (सेटेलाईट)बाट सर्भेको काम गर्ने बताए ।

परियोजनालाई सफल पार्न पैसाको कमी नभएको तर नागरिक र उपमहानगरपालिकाको साथ सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले परियोजनालाई सफल पार्न आफुले कुनै कसर बाकी नराख्ने बताए ।

उनले वडा अध्यक्ष, सदस्यहरुलाई पनि आ–आफनो टोलमा परियोजनालाई सफल पार्न काम गर्न आग्रह गरे । ‘यो परियोजना एकदमै राम्रो हो, यसलाई सफल पार्ने हो भने धनगढीको मुहार समृद्धि तर्फ अघि बढ्छ’ मेयर वडले भने ‘परियोजना सञ्चालन गर्दा केही समस्या नागरिकहरुले भोग्नुनै पर्छ तर, धनगढीको विकासका लागि पनि समस्यालाई नागरिकले भुल्नुपर्छ ।’ उनले परियोजना सफल भएपछि धनगढीले अहिले भोग्नुपरिरहेको फोहोर ब्यवस्थापन, खानेपानी, ढल निकास, भूउपयोग, सडक तथा यातायात ब्यवस्थापन लगायतका धेरै समस्याको समाधान हुने बताए ।

एडिबीले उपमहानगरपालिकाको दीर्घकालीन विकासका लागि भनेर यो परियोजना सञ्चालन गर्न लागेको उनले बताए ।