Please Update Your Browser.

सात नम्बर प्रदेशमा खाद्यान्न अभाव नहुने दाबी

मीन ठकुरी,

धनगढी, २७ भदौ । प्रदेश नम्बर ७ स्थित भोकमरी हुने पहाडी जिल्लाका बासिन्दाले यसवर्ष चाडपर्व ढुक्कसँग मनाउन पाउने भएका छन् । सम्बन्धित जिल्लामा खाद्यान्न मौज्दात पर्याप्त रहेकाले चाडपर्वको बेला अभाव नहुने बताइएको छ । भोकमरी हुने जिल्लामा वर्षातका बेला चामल ढुवानी गर्न नपाइए पनि पहिल्यै गएको चामल डिपोमा पर्याप्त मात्रामा मौज्दात रहेको नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय, धनगढीले जानकारी दिएको छ ।

भोकमरी हुने पहाडी जिल्लामा यो वर्ष अहिलेसम्म खाद्यान्न अभाव नभएको र चाडपर्वको बेला पनि त्यस्तो समस्या नआउने संस्थानका सहायक प्रमुख जगतबहादुर कुँवरले बताए । यो वर्ष अहिलेसम्म खाद्यान्न अभाव समस्या उत्पन्न भएको छैन । चाडपर्वका बेला पनि अभाव हुँदैन, उनले भने, पहाडका जिल्लावासीले ढुक्कसँग पर्व मनाउन पाउनेछन् ।

विगतमा दसैँ, दिपावलीको बेला कतिपय जिल्लामा खाद्यान्न अभावको समस्या सिर्जना भए पनि यो वर्ष त्यस्तो समस्या नहुने बताइएको छ । संस्थानले गत साउनमा अछामको लागि चार सय क्वीन्टल र बैतडीको कुलाउ डिपोमा १८६ क्वीन्टल ४० किलो तथा पुरचौडी हाटको लागि ३९२ क्वीन्टल ५० किलो चामल पठाएको छ ।

यी दुई जिल्लाबाहेक बझाङ, बाजुरामा बर्खाका बेला चामल ढुवानी गर्न नपाए पनि पहिल्यै ढुवानी गरिएको चामल मौज्दात पर्याप्त मात्रामा रहेको जनाइएको छ । संस्थानले बर्खा अगाडि बैतडीमा चार हजार क्वीन्टल, बझाङमा चार हजार क्वीन्टल र दार्चुलामा चार हजार पाँच सय क्वीन्टल चामल पठाएको थियो । पठाइएको चामलमध्ये केहीमात्रै बिक्री भएको संस्थानले जानकारी दिएको छ ।

प्रदेशमा सबैभन्दा बढी भोकमरी रहेको जिल्ला बाजुरामा अत्यधिक चामल मौज्दात रहेको जनाइएको छ । बाजुराको कोल्टी डिपोमा साढे छ हजार क्वीन्टल र मार्तडी वितरण केन्द्रमा दुई हजार पाँच सय क्वीन्टल चामल मौज्दात रहेको कोल्टी डिपो प्रमुख रमेशबहादुर सिंहले जानकारी दिए ।

उनले दसैँ, दीपावलीलाई पुग्ने गरी पर्याप्त मात्रामा चामल रहेको बताए । हामीसँग मौज्दात चामल कहाँ बिक्री गर्ने भन्ने भइरहेको छ, उनले भने, चामल मौज्दात पर्याप्त छ । खाद्यान्न अभावको समस्या हुन पाउँदैन । एक वर्षको लागि बाजुरामा २२ हजार ३५० क्वीन्टल चामल पठाइएको थियो । पठाइएको मध्ये आधाभन्दा बढी चामल बिक्री भए पनि केहि महिनालाई पुग्ने गरी अझै पनि चामल मौज्दात रहेको संस्थानको कोल्टी डिपोले जानकारी दिएको छ ।

दसैँ लगत्तै थप चामल ढुवानी गर्छौ, डिपो प्रमुख सिंहले भने, यो जिल्लामा खाद्यान्नको अभाव हुन दिने छैनौ । खेतीपाती थोरै गर्ने र उब्जनी पनि कम हुने परिपाटीले बाजुरा, बझाङ, दार्चुला, बैतडी, अछामको खाद्यान्नपूर्ति तराईको उब्जनीबाट हुँदैआएको छ । वर्षभरिलाई पुग्ने गरी आवश्यक खाद्यान्न ढुवानी हुन नपाउँदा सो जिल्लामा भोकमरी समस्या उत्पन्न हुने गरेको छ ।

यसपटक वर्षायाममा बाटो अवरुद्ध भएपछि सबै जिल्लामा खाद्यान्न ढुवानी भएको छैन । ढुवानीका लागि ठेक्का भइसकेको नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढी जानकारी दिएको छ । संस्थानले डिपो नभएको जिल्लामा ठेकेदार मार्फत खाद्यान्न आपूर्ति गर्दैआएको छ ।

खाद्यान्न ढुवानीका लागि टेन्डर स्वीकृत भइसकेको संस्थानका सहायक प्रमुख कुँवरले जानकारी दिए । उनले वर्षा लगत्तै चामल ढुवानी हुने बताए । अहिलेसम्म कुनै जिल्लाबाट चामलको माग भएको छैन, कुँवरले भने, समस्या नभएका कारण माग नभएको हुन सक्छ ।

खाद्यान्न समस्या भएमा तुरुन्त खबर गर्नका लागि संस्थानले पहाडी जिल्लाका स्थानीय तहलाई चिठी पठाएको छ । माग भएमा आवश्यकताअनुसार चामल पठाउन सकिने सहायक प्रमुख कुँवरले जानकारी दिए । संस्थानको धनगढी गोदाममा २० हजार क्वीन्टल चामल मौज्दात रहेको छ ।