Please Update Your Browser.

प्रहरी प्रशासनका कर्मचारीलाई वारेन्ट जारी गर्छौः ओमप्रकाश पुन

पोखरा, ३० भदौ । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले प्रहरी प्रशासनका कर्मचारीहरुलाई पक्राउ पूर्जी (वारेन्ट) जारी गर्ने चेतावनी दिएका छन् । आफ्ना नेता कार्यकर्ताहरुलाई पक्राउ गरेर झुठ्ठा मुद्दा लगाइएपछि नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको पार्टीका पोलिटब्यूरो सदस्य पुनले उनीहरुलाई तत्काल रिहा नगरिए गिरफ्तारीमा संलग्न प्रहरी प्रशासनका कर्मचारीहरुलाई वारेन्ट जारी गर्ने चेतावनी दिएका हुन् ।

अखिल क्रान्तिकारी कास्कीको २१ औं जिल्ला सम्मेलनमा बोल्दै नेता पुनले गिरफ्तारिमा परेका आफ्ना नेता कार्यकर्तालाई निसर्त रिहा गर्न माग समेत गरेका छन् ।

गएको हप्ता पोखराको पृथ्वीचोकस्थित सस्तोबजारमा सिलिण्डर बम फेला परेपछि प्रहरीले सार्वजनिक स्थानमा बम राखेर आतंकित बनाएको भन्दै नेकपा कास्कीका सेक्रेटरी नन्दप्रसाद तिवारी “जगन” लगायत चार जना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेर विष्फोटक पदार्थ ऐनसम्बन्धि मुद्दा चलाएको छ । सो मुद्दामा नेकपा कास्की जिल्ला सदस्य गोबिन्द ओली, युवा जनस्वयंसेवक कास्कीको लोकेन्द्र राई र बालकृष्ण अधिकारी लगायतलाई प्रहरी हिरासतमा राखिएको छ ।
सोही कार्यकmममा बोल्दै नेकपाकी केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो ईञ्चार्ज सावित्रा दूरा “आस्था”ले कास्की जिल्लाबाट पक्राउ गरी झुट्ठा मुद्दामा फँसाइएका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई तत्काल विना सर्त रिहा नगरिए ढुंगाको सट्टा ईंटले प्रतिवाद गरिने धम्की दिइन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्णसिंहले प्रतिक्रियावादी दलाल राज्यसत्ताकाकारण शिक्षा न्यूनवर्गको पहुँचभन्दा बाहिर रहेको बताउँदै वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त नभएसम्म यस्तो विभेद रहने जिकिर गरे । उनले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त नभएसम्म संघर्षमा उत्रन आम विद्यार्थी वर्गलाई आव्हान गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा गास, वास, कपास, शिक्षा र स्वास्थ्य जस्ता दैनिक जीवनका आधारभूत आवश्यकताको सुनिश्चित हुने स्पष्ट पारे ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र समर्थित अनेरास्ववियू (क्रान्तिकारी) ईञ्जिनीयरिङ् अध्ययन संस्थान लामाचौर क्याम्पस ईकाईका कोषाध्यक्ष पवन पुनले सो संगठन परित्याग गरी अखिल क्रान्तिकारीमा प्रवेश गरेका थिए ।

उनलाई अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्णसिंहले आफ्नो संगठनमा स्वागत गरेका थिए । जिल्ला सम्मेलनको उद्घाटन सत्र आज शुरु भएपनि बन्दसत्र भने शनिबार मात्र हुनेछ ।

सम्मेलनको बन्द सत्रले अखिल क्रान्तिकारी कास्कीको नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न प्रस्तावहरु समेत पारित गर्ने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो ईञ्चार्ज प्रकाश विश्वकर्माले कोसेली न्यूजलाई जानकारी दिए ।