Please Update Your Browser.

नेपाल आइडलः कला भन्दा भोटको चर्चा

काठमाडौं, ७ असोज । पहिलो ‘नेपाल आइडल’को उपाधि पाएका बुद्ध लामाले नेपालको जनसंख्या झण्डै तेब्बर भोट पाएपछि सबै अचम्मित भएका छन् । ‘नेपाल आइडलको फाइनल एपिसोडपछि बुद्धको कला भन्दा उनले पाएको भोटले चर्चा पाएको छ । निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै उनी नेपाल आइडल’को उपाधि जित्न सफल भएका हुन् ।

कतारको दोहामा शुक्रबार सम्पन्न भएको फाइनलमा निशान दोस्रो र प्रताप दास तेस्रो बने ।

पोखराका बुद्धले उपाधिसँगै २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । त्यस्तै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

फण्ट रनर निशानले १५ लाख रुपैयाँ नगद हात पारेका छन् भने प्रतापले १० लाख रुपैयाँ जितेका छन् । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो ।

आयोजकले सार्वजनिक गरेअनुसार जम्मा ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ जनाले भोट गरेका छन् । जसमा बुद्धले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाएका हुन् ।

अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो । यो भोट नेपालको जनसंख्याको झण्डै तीन गुणा बढी हो । यो कसरी सम्भव भयो भन्ने कुरा धेरैले आश्चार्य मानेका छन् ।

ग्राण्ड फिनालेमा बुद्ध, निशान, प्रतापसहित १२ प्रतिस्पर्धीहरु ९सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठको दमदार प्रस्तुति दिएका थिए।