Please Update Your Browser.

एमाले सात नम्बर प्रदेशमा पाण्डे र कुँवरको चर्चा

डेजी पाण्डे                                                             गोविन्द कुँवर

काठमाडौं, २९ असोज । नेकपा एमाले सात नम्बर प्रदेशभित्र यतिबेला दुई जना व्यक्ति निकै चर्चामा छन् । प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका लागि समानुपातिक र प्रत्यक्ष तर्फका आकांक्षीहरुको लामो सूची आइरहँदा पार्टीबाट एकल र सर्वसम्मत सिफारिस भएपछि युवा नेता डेजी पाण्डे र पाका नेता गोविन्द कुँवर चर्चा कमाउन सफल भएका हुन् ।

युवा नेता पाण्डे नेकपा एमाले कैलाली क्षेत्र नम्बर २ को २ बाट प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारका लागि एकल अनि सर्वसम्मत सिफारिस भएका हुन् ।

यस्तै नेकपा एमालेका पाका एवम् त्यागी नेता गोविन्द कुँवर अछाम क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारमा सिफारिस भएका हुन् ।

को हुन् पाण्डे ?

नेकपा एमाले कैलालीका जिल्ला कमिटी सचिवालय सदस्य, क्षेत्र नम्बर २ का इन्चार्ज, कैलाली बहुमुखी क्याम्पसका पूर्व सभापति, अनेरास्ववियुका केन्द्रीय कमिटीका पूर्व सदस्य पाण्डे एमालेभित्र राजनीतिक दखल भएका क्षमतावान युवा नेताका रुपमा परिचित छन् ।

इमानदार, जुझारु, मेहनती व्यक्तिका रुपमा पहिचान बनाएका पाण्डेले २५ वर्षदेखि नेकपा एमालेका विभिन्न कमिटीहरुमा रहेर सक्रिय राजनीति गर्दै आएको बताए ।

२०४९ सालमा रघुनाथ माध्यामिक विद्यालय बौनिया कैलालीमा अखिलको प्रारम्भिक कमिटी अध्यक्ष भएर राजनीतिक जीवनको सुरुवात गरेका पाण्डेले राजनीति शास्त्र र समाज शास्त्रमा स्नाकोत्तर गर्नुका साथै कानुनमा स्नातक समेत पास गरेका छन् ।

को हुन् कुँवर ?

गोविन्द कुँवर पार्टीका हरेक क्रियाकलपामा सक्रिय रहे पनि व्यक्तिगत स्वार्थका लागि इच्छा नराख्ने नेताका रुपमा परिचित छन् ।

२०४६ सालदेखि नेकपा एमालेको सक्रिय राजनीति गर्दै आएका कुँवर नेकपा एमाले प्रदेश नम्बर सातको अनुशासन आयोगका सदस्य हुन् । कुँवरको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा साँफेबगर नगरपालिकाको मेयरमा टिकट पाउने विषयमा पनि निकै चर्चा चलेको थियो ।