Please Update Your Browser.

मुख्यमन्त्रीका दाबेदार २५ वर्ष स्थानीय शासनको लागि लडेको अनुभव छ दावी स्वभाविक हो

नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव माधव पौडेलले सदस्यता दिएका धेरै नेताहरु एमालेको विभिन्न केन्द्रीय निकायमा छन् । संसदीय भूमिकामा उच्च सफलता हासिल गरिसकेका अन्य नेताहरुको तुलनामा पौडेलले कमै अवसर पाएका छन् ।

०४९ र ०५४ को स्थानीय निर्वाचनबाट ललितपुर जिल्ला विकास समितिको सभापतिको जिम्मेवारी पूरा गरेर ललितपुरको सामाजिक, शैक्षिक र भौतिक विकासमा राम्रो छवी बनाएका पौडेल विकेन्द्रीकरण र स्थानीय शासनका राजनीतिक विज्ञ पनि हुन् । संघीयता कार्यान्वयनमा तीन तहकाने स्थानीय शासनको पकिल्पना सहित २५ वर्ष निरन्तर स्थानीय शासन अभियन्ताको रुपमा लडेका पौडेल आसन्न प्रदेश सभा निर्वाचनमा ललितपुर क्षेत्र नं २ को (क) प्रदेशबाट मैदानमा छन् । आफ्नो इतिहाससंगै भविष्यका सपनाहरु प्रस्तुत गर्ने क्रममा पौडेलसंगको कुराकानी ।

चुनावी तयारी कस्तो छ ?

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि केन्द्रमा बाम गठबन्धनको घोषणा भएदेखि नै आम कार्यकर्ता नेताहरुमा उत्साह छ । जनतामा पनि उत्साह पाएको छु । विगतमा बामपन्थी शक्तिहरुलाई ६४ प्रतिशत सम्म मत दिएका जनताले फुटेकोमा पीडा व्यक्त गर्नुहुन्थ्यो । अहिले एकजुट हुन लागेकोमा खुसी देखिएको छ । जुटेर जान लागेका कारण पार्टीका नेता कार्यकर्ता मात्र नभएर आम नागरिक समुदायमा नै विशेष उत्साह सहित चुनावको तयारी भईरहेको छ ।

देशैभर गठबन्धन हुँदा तपाईको निर्वाचन क्षेत्रमा गठबन्धन छैन, कसरी चुनाव जितिन्छ ?

हाम्रो निर्वाचन क्षेत्रको मात्र कुरो नभएर यो देशैभरको आवश्यकताका आधारमा गठबन्धन भएको छ । सिद्धान्त, विचार र संगठन तथा आम रुपमा राष्ट्रिय राजनीतिको विश्लेषण गरेर गठबन्धन गरिएकोले एमाले माओवादी भनेर भन्दा पनि अब हामी एकताबद्ध एउटै कम्युनिष्ट केन्द्र बन्ने कुरामा केन्द्रित भएर गठबन्धनको निर्णय कार्यान्वयनमा उत्रने गरी हाम्रो सम्झौता सहमति र स्थानीय स्तरको पार्टी परिचालन भईरहेको छ । हामीले एमालेको तर्फबाट उम्मेदवारी भए पनि माओवादी एमाले दुबै संगठनको जिम्मेवार र साझा भूमिका प्रस्तुत गर्छौं ।

अलिकति पुराना राजनीतिक दिन सम्झौ, राजनीतिक जीवनका उतार चढाव सम्झनुपर्दा कसरी सम्झनुहुन्छ ?

म ०२७ सालदेखि विद्यार्थी राजनीतिक जीवनबाट राजनीति सुरु गरें । ०२८ सालको जदुवा हत्याकाण्डमा रामेश्वर र कुशेश्वर २ जना विद्यार्थी मारेको घटनामा हामीले न्यूरोडमा प्रदर्शन गरेर पर्चा वितरण गरेका थियौं । त्यो बेला पक्राउ परेंँ । नयाँ शिक्षाको विरोध गरेकोले जेल परें । त्योबेला जेलमै कम्युनिष्ट आन्दोलनको विषयमा बुझ्ने मौका पाएँ । त्यो बेला विद्यार्थी आन्दोलनका धेरै जना त्यो बेला जेलमा थियौं । अनेरास्ववियुको आन्दोलन त्यतिबेला निकै गाह्रो थियो । भीम रावल, गोपाल शाक्य लगायत थियौं । बाहिर आएपछि राजेन्द्र पाण्डे र म सम्पर्क विन्दूको रुपमा रहेर काठमाडौं उपत्यकामा तत्कालीन मालेको समर्थनमा गणतन्त्रको स्थापना र राजतन्त्रको अन्त्य हुनुपर्ने उद्घोष सहितको आन्दोलन घोषणा गर्दै संगठन विस्तारको अभियानमा लाग्यौं । त्यो बेला नेपाल विरुद्ध नाकावन्दी थियो । नाकावन्दी संग घुँडा टेकेको विरोधमा आन्दोलन चर्काएका थियौं । पार्टी र विद्यार्थीको तर्फबाट ०३२ सालमा हामीले अलग अलग पर्चा छरेका थियौं । प्रहरीले पक्राउ गर्यो । हामीलाई लामो जेल जीवनको बाटो या जेलब्रेक विकल्प थियो । हामीले जेलब्रेक गरेर ०३३ साल चैत १२ गते बाहिरियौं । त्यतिबतेला सरकारले हामीलाई अवैधानिक गतिविधि र उग्रवादी कम्युनिष्ट गतिविधि गरेको आरोप थियो ।

को-को हुनुहुन्थ्यो जेल ब्रेक गर्दा ?

म(माधव पौडेल), सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, नरेश खरेल, घनेन्द्र बस्नेत, भीष्म धिमाल, धर्म घिमिरे लगायत थियौं । जेल ब्रेक गरेपछि भूमीगत भएर विभिन्न ठाउँमा पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरियो । ०४६ सालको जनआन्दोलनको पृष्ठभूमी देखि जनआन्दोलन सफल भएपछिका पार्टीका विभिन्न जिम्मेवारीमा बसेर काम गरें । अहिलेको ३ नम्बर प्रदेशको अधिकांश जिल्लामा इन्चार्ज संयोजक लगायतका पदमा बसेर भूमीगत रुपमा संगठन गर्ने, कम्युनिष्ट प्रतिको जागरण र विश्वास जगाउने काम गरियो ।

त्यो बेला उपत्यकामा कम्युनिष्ट पार्टीको सदस्यता र संगठन विस्तार कत्तिको सहज थियो ?

त्यो बेला काठमाडौं उपत्यकामा विद्यार्थी संगठन नै प्रभावकारी थियो । पञ्चायतको अत्याचारले सीमा नाघिरहेको थियो । विद्यार्थीहरुमा झापा विद्रोहको विषयमा अलिअलि जानकारी र कौतुहलता पाउँथ्यौं । कम्युनिष्ट घटकहरु अरु पनि थिए । तर विद्यार्थीहरुमाझ झापा संघर्षको प्रचार गरेपछि विद्यार्थीको आकर्षण हाम्रोमा आउँथ्यो ।

झापा आन्दोलनको इतिहास भएको पार्टीले पछि त्यो गलत थियो भन्दै जबज हुँदै जनयुद्ध लडेको माओवादीसंगको तालमेलसम्मको उतारचढावलाई कसरी सही मान्न सकिन्छ ?

यी उतारचढावह आवश्यकताका आधारमा विकास भएको परिस्थिति हो । हाम्रो पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (एमाले) ५० औं कम्युनिष्ट घटकहरु मिलाएर यो तहमा आएको हो । मोरंग र झापाको आह्वानमा सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनुपर्छ भन्ने अभियानले यो ठाउँसम्म ल्याएको हो । अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्र बनाएर ०३५ साल पुष ११ गते स्थापना गरियो । त्यो बेला मदन भण्डारीहरु नै मुक्तिमोर्चाबाट आउनुभएको थियो । अरु साना साना संगठनलाई एक नबनाईकन क्रान्ति पूर्ण हुन सक्दैन र कार्यनीतिक विवादहरुलाई हल गर्न पर्छ भन्ने कुराहरु थियो । त्यो हल हुँदै आएको अवस्था छ । एउटा समयमा हामी झापा संघर्ष पक्षधरहरु उग्र वामपन्थी बाटोमा थियौं । कम्युनिष्ट एकताको विकल्प छैन । ०३७ सालसम्म आईपुगेपछि त्यो सच्याउन जरुरी भएर सच्यायौं । हामी दक्षिणपन्थी बाटोमा जानु पहिले नै जनताको बहुदलीय जनवादको निर्माण र त्यसको आलोकमा नेपाली मौलिक क्रान्तिको विकास गरिनु नै नेपाली मौलिक मोडलको कम्युनिष्ट क्रान्ति संसारभर चिनाउन सफल भएका हौ । विशेष गरी चौथो राष्ट्रिय महाधिवेसनले संयुक्त जनआन्दोलनको अवधारणा अगाडि सार्नु हाम्रो मौलिक क्रान्तिकारिता थियो । त्यस्तै माओवादीले लामो समय उग्र वामपन्थ बोक्यो । त्यसले धेरै घाटा पनि गरायो । तर त्यो सुधार हुने बाटोमा छ र अहिले थुप्रै कुराहरुमा हाम्रा विचार, सिद्धान्त र व्यवहारहरु मिलिसकेका छन् । उस्तै भईसकेका छन् । केही कार्यनीतिक विवादलाई हल गर्दै जाने गरी पार्टी एकता गरेर जानुपर्छ अनि मात्रै नेपाली जनतालाई समृद्ध बनाउन सकिन्छ भन्ने निश्कर्षमा दुई पार्टी पुगेको अहिलेको अवस्था राष्ट्रिय आवश्यकताले पनि बनाएको हो ।

अव पार्टी एकीकरण नै हुन्छ कि आसन्न निर्वाचनको तालमेल मात्रै हो ?

पार्टी एकता हुन्छ । विगतमा नेताहरुको स्वार्थका कारण पनि कम्युनिष्ट आन्दोलन टुक्रिएको थियो । तर अहिले नेताहरुले आफ्नो कर्तव्य पूरा गरेका छन् । अब हामीले कार्यकर्ता लेवलमा कम्रेड्ली भावनाको विकास गरेर सामाजिक एकीकरणको सन्देश दिन जरुरी छ । त्यो पार्टी एकताको जग हो । यसभित्र कति मान्छेहरु छुट्न पनि सक्छन् । माले फुटेर गएर फर्किँदाखेरि केही छुटेजस्तै अवकाो पार्टी एकीकरणमा केही अलिक बढी संसोधनवादीहरु काँग्रेसतिर जालान वा निश्क्रिय बस्लान् केही उग्रवादी धारकाहरु बाहिर बसेर पार्टीको रुपमै गतिविधिहरु गर्न सक्लान् तर आधारभूत रुपमा अव पार्टी एकता हुन्छ ।

यति लामो इतिहास बोकेको मान्छे किन प्रदेश सभा सदस्यको रुपमा उम्मेदवार हुनुभयो ?

म १० वर्ष स्थानीय तहको कार्यकारी नेतृत्वमा बसेर विकासको अनुभव गरें । जनताको समृद्धिको विषय र लोकतन्त्रको सुदृढीकरणको कोणबाट हेर्ने हो भने तल्ला निकायहरु बलिया हुनुपर्छ । केन्द्रको अधिकार तलसम्म आउनुपर्छ भनेर तीन तहको सरकार सहित करिब २५ वर्षदेखि अधिकारको वितरणका विषयमा आन्दोलन गरिरहेका छौं । यो विषयमा निरन्तर लाग्ने ३ जनाभित्र नै पर्छु म । अधिकार तल आउनुपर्छ, केन्द्रको तोक आदेशले साना साना योजना पनि तल जाने आदि परिपाटीले गर्दा स्थानीय तहहरु बलिया बनाउनुपर्छ । यसरी जिल्ला विकास समितिलाई कार्यकारी बनाउने, प्रदेशका निकायहरु बलिया बनाउने लगायतका सोचका आधारमा माथिल्लो भन्दा तल्लो निकायको मुख्यमन्त्री वा अरु केही कार्यकारी भूमिकाकै लागि प्रदेशमा उम्मेदवार भएको हो ।

माधव पौडेललाई जिताउँदा ललितपुरले मुख्यमन्त्री पाउँछ छ त ?

को बनाउने भन्ने कुरा निर्णय अहिले हुने कुरा भएन । मैले निर्वाचन जित्छु । यहाँका जनतासंग दुख सुख सबै अवस्थामा जनतासंगै रहेर जिन्दगीका यी दिनसम्म आईपुगें । म संग नख्खु जेल ब्रेक र पिस्करको पीडादायी संघर्ष र इतिहास छ तर त्यस्तो इतिहास मात्र नभएर सुन्दर भविष्य र सीर्जनशील सोच र सपनाहरु पनि छन् । पार्टीमा अहिलेको पदका रुपमा नभएर कामको अनुभव र राजनीतिक आन्दोलनका आधारमा सिनियरिटी हेर्ने हो भने म मुख्यमन्त्रीको स्वाभाविक दावेदार हुँ । पार्टीले मलाई मुख्यमन्त्री बनाउँछ । मैले १० वर्ष जिल्ला विकास समितिको सभापति भएर विकासको कामको मोडल, आवश्यकता, सम्भावना र स्रोतहरु पहिचान गरेर अनुभवी छु । अर्को कुरा यस प्रदेशको विभिन्न जिल्लामा पार्टीको अध्यक्ष भएर काम गरिसकेको छु । मैले लोकतन्त्र प्राप्तीका हरेक आन्दोलनमा गरेको त्याग पार्टी नेतृत्वसमक्ष प्रष्टै छ । केवल यहाँका मतदाताले मत दिनुहोस् पार्टीले ललितपुरलाई न्याय गरेरै छोड्छ । पदाधिकारी, पोलिटव्युरो भएका आधारमा भन्दा पनि अनुभव, कार्यदक्षताका आधारमा मुख्यमन्त्री बनाइयो भने पो सही ढंगले काम हुन सक्छ ।

तपाईलाई मत दिने मतदाताले के आधारमा मत दिने ?

पहिलो कुरा ललितपुर जिल्लामा ३ नं प्रदेशको सदरमुकाम बनाउनुपर्छ । हामी सबै भूगोलको हिसावले केन्द्रमा नै छौं, कामको हिसावले पनि उत्तिकै महत्वपूर्ण, सबैलाई पहुँच र पायक पर्ने स्थान भएकोले प्रदेशको राजधानी ललितपुर बनाउनुपर्छ । अर्को यहाँका नागरिकको जीवनस्तर उकास्न पर्यटनमा आधारित उद्योगको स्थापना गरी स्वरोजगार बनाउन सकिन्छ । अरु ६ वटा प्रदेशभन्दा अब्बल प्रदेश पनि हो । अर्को यस क्षेत्रबाट तराई जोड्ने सबैभन्दा छोटो बाटो काभ्रे सुनकोशी हुँदै तराई जोड्न सकिन्छ । सिंगो काठमाडौं उपत्यकालाई खानेपानीको समस्या छ । खानेपानीको समस्या समाधान र तराई जोड्ने कामको लागि सुनकोशीसम्म सुरुङ मार्ग बनाउने र त्यसैबाट काठमाडौंलाई पुग्ने पानी ल्याउन सक्ने सम्भावना छ । अर्को मैले प्रतिनिधित्व गर्ने प्रदेशमै बवजंगलको हरियाली र लाँकुरीभञ्ज्यांग लगायतका थुम्काहरुमा पर्यटकीय सम्भावना विशाल छ । सम्भावनामा आधारित भएर यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको पर्यटन उद्योग भित्र्याउने पहल हुनेछ । सामाजिक आर्थिक विकास सहित पौराणिक र धार्मिक हिसावले पनि यो ठाउँ महत्वपूर्ण छ । सभ्यताको विकासको उद्गम थलोको रुपमा रहेको यस क्षेत्रलाई सामाजिक विकाससंग जोडेर लगिनेछ । महालक्ष्मी नगरपालिकालाई स्मार्ट सिटीकाने रुपमा विकास गर्ने । यहाँ भित्रको सडक ढललाई विकास गर्दै स्तरोन्नति गर्ने । यहाका युवाहरुलाई रोजगारीका लागि बाहिर जाने कुराको अन्त्य गर्न शिक्षा र पर्यटनका विषयलाई जोडेर आत्मनिर्भर बनाउँछौं । हाम्रो जस्तो सुन्दर क्षेत्रमा विदेशीले आएर पढ्ने अवस्था बनाउँछौं । रोजगारीमूलक शिक्षाको परिकल्पनालाई प्रादेशिक नेतृत्व तहमै पुगेर समाधान गरिन्छ । फोहोरमैला व्यवस्थापनका लागि उपत्यकाकै नमूना कार्यक्रम संचालन गरिनेछ । सुनकोशीको पानी ल्याएर ललितपुरलाई कायापलट गरिन्छ ।

मतदातालाई भन्नैपर्ने केही छ ?

यो निर्वाचन निर्णायक लडाई हो । ५० औं वर्षदेखि हाम्रा अग्रज र विभिन्न आन्दोलन अभियानमा सहादल प्राप्त गर्नुहुने सहीदका सपनालाई संस्थागत गर्ने सन्दर्भको लडाई हो । आफ्नो जवानीका सारा वर्ष लगाएर यो राजनीतिक सफलतामा पुगेको अवस्था छ । अव यसको संस्थागत गरेर दीर्घकालीन ढंगले वाम गठबन्धनको नेतृत्वको सरकार संचालन गर्दै समाजवाद स्थापनाको लक्ष्यलाई यो निर्वाचनले बाटो दिने वा छेक्ने भन्ने अवस्थामा छ । बाम गठबन्धनलाई मतदान गरेर समाजवाद स्थापनाको बाटोमा मुलुकलाई लैजानका लागि पनि मतदाताले यस पटक दुई तिहाई पुग्ने गरी मत दिनुपर्छ । हाम्रो छिमेकी मुलुक चीनले कम्युनिष्ट शक्तिको एकीकृत नेतृत्वले त्यत्रो विकास र सफलता पाएको हाम्रै आँखा अगाडि प्रष्ट छ । यस्तो अवस्थामा नेपालका सम्पूर्ण बाम शक्ति, प्रगतिशील देशभक्तहरु एक ठाउँमा उभिएर मुलुकलाई अग्रगामी विकासको बाटोमा लैजानुपर्छ । त्यसका लागि पनि मतदाताले आफ्नो भविष्य सोचेर निर्णय गर्न जरुरी छ । यस पटक निर्णायक घडीमा आएर राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरु एक गठ भएर नेकपा एमालेको विरुद्धमा बामपन्थीको विरुद्धमा लागि रहेका छन् । नेपाली जनतालाई सधैं अविकसित अवस्थामा राखेर आफ्नो चाहनाअनुसार लाद्न पाउने अवस्थाको अन्त्य हुन लागेकोले नेपालभित्रैका प्रतिगामी राजनीतिक शक्तिहरु बाम गठबन्धनको विरुद्धमा लागेका छन् । यो चुनौतिलाई जनताको अपार शक्ति लगाएर सफलता हासिल गर्नुपर्छ । हाम्रो मुलुक यो सफलताबाट २० औं वर्ष अगाडि जान्छ । संविधान लागू गर्ने र समृद्धिको बाटोमा हिँडाउने निर्वाचन भएकाले यसको महत्व बढी छ । सम्पूर्ण मतदाताले विवेक प्रयोग गर्न र नपछुताउने गरी निर्णय लिन अनुरोध गर्दछु ।