Please Update Your Browser.

नेपाल मलेसियाका लागि दोश्रो ठूलो श्रमिक स्रोत

काठमान्डौँ ,२३ कार्तिक। नेपाली कामदारका लागि प्रमुख गन्तव्य रहंदै आएको नेपाल मलेसियाका लागि दोश्रो ठूलो श्रमिक स्रोत मुलुकका रुपमा रहेको छ । मलेसियामा सार्वजनिक गरिएको एक तथ्यांक अनुसार ३ लाख ८५ हजार तीनसय २० जना वैध नेपाली कामदारसहित नेपाल दोश्रो ठूलो श्रमिक स्रोत मुलुकका रुपमा देखिएको हो ।
करिब ५ लाखभन्दा बढी नेपालीहरु कार्यरत रहेको अनुमान गरिएको मलेसियामा अझै कयौं हजार नेपाली कामदार अवैध रुपमा कार्यरत रहेका छन् । मलेसियाका उत्पादन, निर्माण, सेवा र कृर्षि लगायत क्षेत्रमा नेपालीहरु कार्यरत छन् । यीमध्ये धेरैजसो उत्पादन निर्माण र सेवा क्षेत्रमा काम गर्छन् ।

केही अघिल्ला वर्षसम्म मलेसियालाई कामदार दिने संख्याका आधारमा बंगलादेश दोश्रो स्थानमा थियो भने नेपाल तेश्रो स्थानमा थियो । कामदार दिनेमा छिमेकी देश इण्डोनेसिया ७ लाख ७ हजार १ सय ८१ जनासहित पहिलो स्थानमा छ । मलेसियाका उप मानव संशाधनमन्त्री ईस्मायल अब्दुल मुत्तालिबले बुधबार प्रतिनिधि सभामा उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।

उक्त तथ्यांकअनुसार यहाँका विभिन्न रोजगारीका क्षेत्रमा वैध रुपमा कुल १७ लाख ३२ हजार ९ सय ४४ जना विदेशी कामदार कार्यरत रहेका छन् । मलेसियामा २ लाख २२ हजार आठसय ६८ बंगलादेशी, १ लाख २१ हजार ५० बर्मेली, १ लाख १३ हजार ६ सय २८ भारतीय, ५८ हजार नौसय ५७ पाकिस्तानी र ५५ हजार एकसय २० जना फिलीपिनो कामदारहरु वैध रुपमा कार्यरत छन् । त्यस्तै २६ हजार तीनसय ८७ भियतनामी, १७ हजार पाँचसय १६ चिनियाँ, १४ हजार छ सय ५० थाईल्याण्ड, पाँच हजार ६ सय १३ श्रीलंकाली, ४ हजार ६ सय २१ क्याम्बोडियाली, ३३ जना लाओतियन (लाओस) रहेका छन् ।

मलेसियालाई नेपालसहित विभिन्न १३ मुलुकले दक्ष, अर्धदक्ष र अदक्ष गरि विभिन्न श्रेणीका कामदार पठाउँदै आएका छन् तर तीमध्ये बहुसंख्यक साधारण कामदारहरु मलेसियाले लिंदै आएको छ ।

अघिल्लो वर्ष मलेसियाली मुद्रामा आएको गिरावटले नेपाली श्रमबजारमा सिथिलता देखिएपनि पछिल्लो समय खाडीका मुलुक खासगरी कतार र साउदीबीच उत्पन्न तनावपछि कयौं नेपाली मलेसिया आएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२र७३ को तुलनामा मलेसिया आउने नेपालीको संख्या यसवर्ष करिब १० प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष ०७३र७४ मा ९८ हजार ४ सय ३७ कामदार नयाँ श्रम स्वीकृति लिएर मलेसिया आएका छन् ।

( कान्तिपुर)