Please Update Your Browser.

अछाममा चुनावी चहलपहल बढ्यो, नेपाली राजनीतिका हस्ती भीम रावल छलफल र भेटघाटमा व्यस्त

राजेन्द्र कुँवर\कोसेली न्यूज

अछाम, २४ कात्तिक । प्रदेश नम्बर ७ मा पर्ने अछाम जिल्लामा यतिबेला विभिन्न राजनीतिक दलका चुनावी कार्यक्रमले गाउँ बस्तीमा रौनक छाएको छ । आउँदो मंसिर २१ गते दोस्रो चरणको निर्वाचन अन्तरगत हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न दलहरुले गाउँ बस्ती केन्द्रित कार्यक्रम गरिरहेका छन् ।

वाम गठबन्धन र नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु अहिले सहर छोडेर गाउँ बस्ती केन्द्रित भई मतदाता भेटघाट र चुनावी कार्यक्रममा व्यस्त छन् ।

नेपाली राजनीतिका मुख्य हस्ती मध्यका भीम रावल अछाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनमा लड्दा जिल्लाको चुनावी चहलपहलले थप चर्चा पाएको चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्क साउदले बताए ।

नेपाली राजनीतिको केन्द्र भागमा व्यस्त रहने रावलले कार्तिक १६ गते निर्वाचन आयोग अछाममा आफ्रनो उम्मेदवारी दर्ता पछि मतदाता भेटघाट थालेका छन् । रावल नेकपा एमाले वाम गठकन्धनले आयोजना गरेका कार्यक्रमका साथै स्थानीय बुद्धिजीवी, शिक्षक, कर्मचारी, पेसाकर्मीसँगको छलफल तथा सल्लाह सुझावमा व्यस्त रहेको नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरले बताए ।

अछाम जिल्लाबाट ४ पटक प्रत्यक्ष चुनाव लडेका भीम रावलले २ पटक विजयको माला लगाए पनि २ पटक हारको सिकार हुन पुगेका थिए भने २०६४ सालको संविधान सभामा समानुपातिक सूचिमा रहि अछामबाट ३ पटक जनप्रतिनिधि बनिसकेका छन् ।

२०५१ सालमा राज्य मन्त्रीको जिम्मेवारी समालेका भीम रावलले विभिन्न समय गरी ३ पटक मन्त्री, एकपटक उप प्रधानमंन्त्री रहि सरकार संचालनको लामो अनुभव बटुलिसकेका छन् । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष, बौद्धिक नेताको रुपमा स्थापित रावलको निर्वाचन क्षेत्रलाई देशै भरबाट निकै महत्वका साथ हेरिएको छ ।

के छन् रावलका एजेण्डा ?

बेरोजगारी समस्याको समाधानका साथै स्वास्थ्य, शिक्षा, सडक, संचार र कृषि लगायतका क्षेत्रको स्तरोन्नति, आम अछामी जनताको जीवनस्तरमा परिवर्तन गर्ने रावलको स्थानीय एजेण्डा रहेको प्रचार टोलीमा सहभागी शेर बहादुर शाहले बताए ।

वाम गठबन्धनका साझा उम्मेदवार रावलसँग नेपाली काँग्रेसका जिल्ला सभापति एवं पूर्व जिल्ला विकास समिति अछामका सभापति समेत रहेका भरतकुमार स्वाँर चुनावी मैदानमा छन् ।

सबै क्षेत्रबाट निकै महत्वका साथ हेरिएको अछाम जिल्ला क्षेत्र नम्बर १ मा वाम गठबन्धन एमालेले अछाममा गरेको कामका साथै ठूलो जनआधार भएका नेकपा एमाले अछामका अध्यक्ष पूर्व सभासद शेरबहादुर कुँवर र लोक प्रिय नेता कृष्णप्रसाद जैशी भीम रावलका सारथीका रुपमा रहेकाले परिणाम सफल हुनेमा कुनै शंका नरहेको चर्चा छ ।