Please Update Your Browser.

पूर्व लडाकु पनि प्रचण्ड जिताउने अभियानमा

प्रचण्डले भने “२–४ महिना हेर्नुस्, अनि त्यसपछि भन्नुस्”

शिशिर सिंखडा\कोसेली न्यूज

चितवन (कालिका), २४ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष, पूर्व प्रधानमन्त्री एवम् संयुक्त वामगठबन्धन अन्तर्गत प्रतिनिधि सभा चितवन क्षेत्र नं. ३ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्व लडाकुहरुलाई कम्युनिष्टहरुको बहुमतको सरकार आएको हेर्ने र देख्ने धेरै समय नभएको बताएका छन् । यस अगाडि कम्युनिष्टको बहुमतको सरकार नहुँदा देशका लागि बलिदान र योगदान गरेका पूर्व लडाकुहरुलाई केही गर्न नसकेको सत्य भएको उनले बताए ।

“२–४ महिना हेर्नुस् अनि थाहा पाउनुहुन्छ, हाम्रो वामपन्थी गठबन्धनको केन्द्र र प्रदेश सरकार बनेपछि हामी सबैको समस्या समाधान गर्छौ” प्रचण्डले भने । “तपाईहरु पूर्व लडाकु, म पूर्व सुप्रिम कमाण्डर, हामीले सामान्य रुपमा मात्र तपाईहरुको समस्यालाई समाधान गर्न सकेका थियौं, तपाईहरुले भन्नुहुनेछ वास्तवमा कम्युनिष्ट सरकारले हामी पूर्व लडाकुलाई सम्झेको रहेछ” उनले भने ।

संयुक्त वाम गठबन्धन अन्तर्गत प्रतिनिधि सभा चितवन ३ नं. क्षेत्रका उम्मेदवार समेत रहेका पूर्व प्रधानमन्त्री प्रचण्डले आज (शुक्रबार) पूर्वी चितवनको कालिका नगरपालिका ७, सगुनटोलमा पूर्व जनमुक्ति सेना संघ नेपालले आयोजना गरेको भेला तथा अन्तरक्रियात्मक कार्यक्रममा सम्बोधन गर्दै “देशमा आएको परिवर्तन र गणतन्त्रको स्थापना सँगसँगै यसको संस्थागत विकास र संविधान कार्यान्वयनमा पूर्व लडाकुको महत्वपूर्ण भूमिका रहेको छ” उनले भने ।

पार्टी र राज्यले पूर्व लडाकुको समस्या मात्र होइन घाइते, अपाङ्ग र बलिदानी दिएकाहरुको पनि सम्मान गर्न बाँकी रहेको प्रचण्डले बताए ।

“जब हामी एमाले र माओवादी केन्द्र एक हुने घोषणा ग¥यौं तब सामन्ती पश्चगमनकारीहरु छट्पटाएका छन्” प्रचण्डले भने । “हामी यस अगाडि सानो थियौं, हाम्रो सरकारमा शक्ति कम थियो, हामी अब वाम गठबन्धनले बहुमत ल्याई स्थायी सरकार बनाउछौं, त्यस समयभित्र सबै समस्या समाधान हुन्छ, तपाईहरु ढुक्क हुनुहोस्” पूर्व प्रधानमन्त्री प्रचण्डले भने ।

घाइतेले अझैउपचार पाउन सकेका छैनन्, शिक्षा, स्वास्थ्य, रोजगारको हामीले पूर्व लडाकु, घाइते परिवार, बेपत्ता परिवार सहित सम्पूर्ण नेपालीलाई उपलब्ध गराउन अहिलेसम्म लडिरहनु परेको उनले बताए ।

समय आउन लागेको छ, २–४ महिना धैर्य गर्नुहोस्, हामी गरेरै देखाउँछौं, प्रचण्डको भनाइ थियो ।

जित्न मात्र चितवन आएको होइन

आफु चितवनबाट निर्वाचनमा उम्मेदवार भएको स्मरण गराउँदै पूर्व प्रधानमन्त्री प्रचण्डले भने“म अहिले चितवनबाट चुनाव जित्न मात्र उम्मेदवारी दिएको नभई आफु जन्मेको हुर्केको ठाउँबाटै देशको नेतृत्व गर्न चाहेको छु, जित्न त मैले देशको जहाँबाट पनि सक्थे तर म यही आएको छु, तपाईहरुको माया र ममताले गर्दा आएको छु ।” आफुले चितवनबाटै सन्देश दिन चाहेको भन्दै रुकुम, रोल्पा, बर्दिया, सिन्धुली लगायत देशैभरका धेरै जिल्लाबाट चुनाव लड्न आग्रह आएका थिए, मैले त्यही जिल्ला नगई काठमाडौबाटै उम्मेदवारी दिएर पनि जित्न सक्थे होला तर म ऐतिहासिक सन्देश दिन चितवन आएको हुँ, विश्वास गर्नुहोस् ।

हामी चुनाव लगत्तै दुई पार्टी एक हुन्छौं, तपाईहरु चितवनका ९ वटै उम्मेदवार सहित देशैभर वाम गठबन्धनलाई जिताउनुहोस्, हामी देशमा स्थायी सरकार बनाएर समृद्ध मुलुक बनाउन चाहन्छौं, पूर्व लडाकुहरुलाई सम्वोधन गर्दै प्रचण्डले भने ।

पूर्व लडाकुहरु पनि प्रचण्ड जिताउने अभियानमा

तत्कालिन जनमुक्ति सेना तेश्रो डिभिजन चितवन स्थित दिनेश रामजी स्मृति ब्रिगेडकी कम्पनी सहकमाण्डर हाल पूर्व लडाकु गोमा तिमल्सीना आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बनेपछि धेरै खुसी छिन् ।

“आफ्नो सुप्रिम कमाण्डर चितवनबाटै चुनाव लड्ने भएपछि खुशी नहुने कुरै भएन” उनले भनिन् । प्रचण्डले हाम्रो लागि नगर्नु भएको होइन, गर्न नदिइएको हो, उनको भनाइ थियो । अब वामपन्थीको बहुमतको सरकार बनेपछि हाम्रो माग सम्वोधन हुन्छ, जनताले निशुल्क शिक्षा, स्वास्थ्य र रोजगार पाउँछन्, हामी समृद्धि नेपाली हुन पाउँछौं भन्नेमा ढुक्क भएको उनले बताईन् ।

उनी मात्र होइन सोही डिभिजनको बासु स्मृति ब्रिगेडकी बटालियन सहकमाण्डर हाल पूर्व लडाकु लक्ष्मी ढकाल त देशको लागि आफुहरुले अझै बलिदान दिन परेपनि पछि नहट्ने बताईन् । प्रचण्ड चितवनबाट विजयी हुनेमा उनी ढुक्क छिन् ।

“अब प्रचण्ड मात्र होइन चितवनमा सबै वाम उम्मेदवारले जितेको सन्देश हामी पूर्व लडाकुहरु दिन चाहन्छौं” उनले भनिन् । बहुमतको कम्युनिष्ट सरकारले मात्र गरिब सर्वहाराको सम्वोधन गर्नेछ र देश समाजवाद तर्फ लम्कनेछ, उनले भनिन् ।

पूर्वी चितवनको कालिका नगरपालिका लगायत यस क्षेत्रमा मात्र करिव ४ सय पूर्व लडाकुहरु स्थायी रुपमा घर बनाई बस्दै आएका छन् । भूमिगत समयमा गजुरी जेल तोड्न सफल माओवादीका पूर्व लडाकु देवी प्रसाद ढकालले “खोला त¥यो, लौरो र्बिस्यो जस्तो हामी पूर्व लडाकुहरुलाई भएको अवश्य हो, तर हामी ढुक्क छौं, समय आएको छैन, अब आउँदैछ, हामीजस्ता गरिव, सर्वहारा, उत्पिडितको” उनले भने ।

हाम्रो सुप्रिम कमाण्डर प्रचण्डले यी कुरा भुल्नु भएको छैन, भुल्नु हुने पनि छैन, हामी ढुक्क छौं, ढकालले सो अन्तरक्रियामा प्रचण्डलाई सुनाउँदै भने ।

पूर्व लडाकु तिमल्सीना, ढकाल मात्र होइन कार्यक्रममा सहभागी पूर्व लडाकु सबैले प्रचण्ड सहित वाम गठबन्धनलाई जिताउने पक्षमा आफुहरु रहेको र लागिपर्ने समेत बताए ।

म छिट्टै सुटुक्क पूर्व लडाकुलाई भेट्न आउँछु – प्रचण्ड

पूर्व लडाकुहरुसँगको अन्तरक्रिया एवम् सम्वोधन कार्यक्रममा प्रचण्डले पूर्व लडाकुको बसाई, अवस्था र उनीहरुको घर हेर्न आफुलाई इच्छा भएको बताएका छन् । “म तपाईहरुको घर हेर्न आउँछु, बसाई हेर्न आउँछु” प्रचण्डले भने । “धेरै सुनेको छु, समस्याहरु छन्, मैले गर्न सकेको छैन, गरेर देखाउँछु, उनले भने । भनेर आउँदा भन्दा म तपाईहरुको गाउँमा नभनीकन सुटुक्क आउँछु, अनि मात्र थाहा हुन्छ, तपाईहरुको अवस्था कस्तो छ, कसरी बस्नु भएको छ, के गर्दै हुनुहुन्छ, हेर्न चाहन्छु” केही भावुक हुँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने । म चुनाव अगाडि नै आउँछु, तपाईहरु ढुक्क हुनुहोस्, म तपाईहरुसँग घरमै अन्तरक्रिया गर्न चाहन्छु, उनले भने ।

कार्यक्रममा संयुक्त वाम गठबन्धन चितवन क्षेत्र नं. २ का प्रचारप्रसार समिति संयोजक रामध्वज डल्लाकोटी, पूर्व ब्रिगेडियर कमाण्डर दुर्गा बहादुर पुन, पूर्व कम्पनी सहकमाण्डर कविता न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।