Please Update Your Browser.

नागरिक अभिनन्दनको विषय संसदमा उठ्ने

जनकपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा गरेको अभिनन्दनको विष्यमा नेपाली काँग्रेसले हिसाब–किताब माग्ने भएको छ । वैशाख २८ गते जनकपुर भ्रमणमा आएका प्रधानमन्त्री मोदीलाई प्रदेश २ का सरकार र जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरेको थियो । सो अभिनन्दन कार्यक्रममा भएका त्रुटीको विषयमा नेपाली काँग्रेसले प्रदेश संसदमा कुरा उठाउने जानकारी गराएको हो । काँग्रेस धनुषाले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जिल्ला सभापति सरोज यादवले प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनमा निकै त्रुटी भएको बताए ।

नागरिक अभिनन्दनका लागि भिआपी कार्ड वितरण गरेको थियो तर त्यसलाई बस्ने ठाउँ वा त्यसको व्यवस्था नरहेको, नेपाली काँग्रेसका १९ जना प्रदेश सांसद छन् तर सातवटा कार्ड मात्र दिएको जस्ता त्रुटी पार्टीले औल्याएको छ । नागरिक अभिनन्दन कार्यक्रम उपमहानगरपालिकाले गरेको थियो तर कार्यक्रमको अध्यक्षता मुख्यमन्त्री लालबाबु राउतले गरेका थिए, जबकि जहाँ पनि नागरिक अभनिन्दन गर्दा मेयरको अध्यक्षता हुने गरेको सभापति यादवको दाबी छ । उनले भने, ‘कार्यक्रम मेयर लालकिशोरको अध्यक्षतामा हुनुपथ्र्यो ।’ कार्यक्रमको उद्घोषक भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल थिए । सभापति यादवले मन्त्री उद्घोषक हुनु हुँदैन भनि तर्क गरेका छन् ।

‘मुख्यमन्त्री लालबाबु राउतले व्यवस्थापनमा कुनै समस्या हुने छैन, अभिनन्दनमा सहभागि हुने सबैको हात–हातमा पानी हुने घोषणा गरेका थिए, तर कार्यक्रमका दिन त्यहाँ पानी खान नपाएर सर्वसाधारण मुर्छा समेत परेका थिए,’ सभापति यादवले भने ।

प्रदेश सरकार र उपमहानगरपालिकाले संयुक्त रुपमा कार्यक्रम गरेको भनिएको छ । मूल समारोह समितिमा काँग्रेस, एमाले र माओवादीका नेता तथा सांसदको नाम राखिएको थियो तर कार्यक्रम कसरी भयो, त्यसको तयारी कसरी भयो, त्यसको बारेमा कसैलाई केही जानकारी गराएन । त्यसका बारेमा कुनै छलफल नै गरेन, यहाँसम्म कि खर्चको पनि पारदर्शिता नदेखिएको भन्दै सभापति यादवले यी सबै विषयमा आगामी संसदको बैठकमा उठाउने बताए ।

प्रधानमन्त्री जनकपुर भ्रमणमा रहेकै बेला भारतका लोकसभाका सांसद किर्ति आजादले जनकपुर फिर्ता लैजान भनि दिएका अभिव्यक्तिलाई पनि काँग्रेसले विरोध गरेको छ । यस विषयमा भारतका प्रधानमन्त्री मोदी र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले स्पष्ट पार्नुपर्ने काँग्रेसले माग गरेको छ । यो विषयलाई पनि संसदमा उठाउने सभापति यादवले बताए ।