Please Update Your Browser.

एमाले–माओवादी पार्टी एकता आज

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता हुने भएको छ । दुई दलका अध्यक्षबीच बुधबार भएको छलफलपछि एकता हुने निश्चित भएको हो ।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलले बिहीबार पार्टी एकता घोषणा हुने निश्चित भएको माओवादी केन्द्रका नेता जनार्दन शर्माले जानकारी गराए ।

एकताको विषयमा दुईजना अध्यक्षले गरेकासहमतिलाई दुई दलको बैठकले अनुमोदन गरेको छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको छलफललाई माओवादी केन्द्रको बैठकले अनुमोदन गरेको सो पार्टीका प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।

बिहीबार बिहान १० बजे एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको निर्णय अनुमोदन गरिने बताउँदै उनले समितिको बैठकपछि अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर एकता घोषणा गर्ने जानकारी गराए ।

त्यसअघि नै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइने निर्णय पनि गरिएको माओवादी केन्द्रका नेता रामचन्द्र झाले जानकारी गराए । दल दर्ता गराउन जानुअघि नै माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बस्नेछ ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने सहमति भएको छ । दुवै दलले २०७४ असोज १७ देखि वाम गठबन्धन बनाएर एकता प्रक्रिया सुरु गरेका थिए । २०७४ असोज १७ गते वाम गठबन्धन घोषणा गर्दै माओवादी केन्द्र र एमालेले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गरी एउटै घोषणापत्रबाट चुनाव लडेका थिए ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच पटकपटक एक्लाएक्लै वार्ता भएका थिए । फागुन ७ गते सातबुँदे सम्झौता गरी पार्टी एकता गर्ने सहमति भएको थियो ।

एकता संयोजन समितिले पार्टीको विधान तथा राजनीतिक प्रतिवेदन तयार गर्न एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजकत्वमा गठन भएको दुई कार्यदलले चैत २० गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।

कार्यदलले बुझाएको प्रतिवेदनमा सहमति भए पनि कार्यसमितमा कति सदस्य कुन दलबाट राख्ने, चुनाव चिह्न के हुने, विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने विषयमा मतान्तर भएको थियो ।

माओवादी केन्द्रले केन्द्रीय सदस्यमा बराबरी सदस्य हुनुपर्ने माग अघि सा¥यो तर एमाले त्यसलाई मान्न तयार भएन । त्यस्तै चुनाव चिह्न सूर्य राख्ने एमालेको दाबीलाई माओवादी केन्द्रले अस्वीकार गर्दै आएको थियो । पार्टी विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने माओवादी केन्द्रको अडानलाई एमालेले मानेको थिएन । दुवै अध्यक्षले एकताका लागि निरन्तर गरेको छलफलबाट अन्ततः पार्टी एकीकरण गर्ने सहमति भएको हो ।

गृहकार्यको स्वागत

यसैगरी वाम दलमा आबद्ध नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिलेसम्म भएको सहमति र एकता संयोजन समितिले गरेको गृहकार्यको एमाले स्थायी कमिटी बैठकले स्वागत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ अबेरसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले सहमतिको विषयलाई स्वागतसहित अनुमोदन गर्दै थप सहमतिका लागि अगाडि बढ्न अध्यक्ष ओलीलाई स्वीकृति प्रदान गरेको छ । मुलुकको समृद्धि र समाजवाद उन्मुख राजनीतिक व्यवस्थाका लागि पार्टी एकता अनिवार्य रहेको भन्दै बैठकले थप उपलब्धिका लागि भूमिका खेल्न नेतृत्वलाई आग्रह गरेको छ ।

बैठकमा अध्यक्ष ओलीले दुई अध्यक्षबीच भएको सहमति र गृहकार्यका बारेमा ब्रिफिङ गरेका थियो । त्यस्तै उनले सरकारको आगामी बजेट, नीति तथा कार्यक्रमको तयारी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र उपलब्धिका विषयमा पनि बैठकलाई जानकारी गराएको स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले जानकारी दिए ।

नेम्बाङका अनुसार दुई अध्यक्षबीच पार्टी एकताका विषयमा महŒवपूर्ण सहमति बनेको र त्यसलाई स्वागत गर्दै एमाले स्थायी कमिटी बैठकले थप तयारी गर्न नेतृत्वलाई सहमति प्रदान गरेको छ । त्यसका लागि बिहीबार बिहान ८ बजे २५औँ मदन–आश्रित स्मृति दिवसमा अध्यक्ष ओलीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समेत उपस्थितिमा दिवस मनाउने, बिहान १० बजे एकता संयोजन समितिको बैठक बस्ने, ११ बजे एमाले केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको उनले बताए ।

त्यस्तै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार दुई दलको एकताका लागि महŒवपूर्ण प्रस्तावका विषयमा बैठकमा छलफल भएको छ । सो छलफल र भएको सहमतिलाई बिहीबार बस्ने एकता संयोजन समितिको बैठकले अनुमोदन गर्ने नेता पाण्डेले बताए ।

उनका अनुसार नयाँ पार्टीमा सम्भवतः ४४१ सदस्यीय केन्द्रीय कमिटी र ४३ सदस्यीय स्थायी कमिटी रहनेछ भने चुनाव चिह्न सूर्य नै रहनेछ ।

एकीकृत पार्टीको केन्द्रीय कमिटीमा रहने ४४१ मध्ये २४१ एमालेबाट र दुई सय जना केन्द्रका तर्फबाट रहने मोटामोटी सहमति बनेको छ । त्यस्तै ४३ जना स्थायी कमिटीमा २५ जना एमालेको तर्फबाट रहने र १८ जना केन्द्रका तर्फबाट रहने सहमति दुई अध्यक्षबीच बनेको छ ।

स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले प्रगतिका सबै विषयबारे जानकारी गराउनुभएपछि बैठकले त्यसको स्वागत गरेको नेता पाण्डेले बताए ।