Please Update Your Browser.

बार्सिलोनालाई मण्डेला शताब्दी कप

दक्षिण अफ्रिकामा भएको मण्डेला शताब्दी (सेन्चुरी) कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ। स्पेनिस च्याम्पियन बार्सिलोनाले दक्षिण अफ्रिकी च्याम्पियन मामेलोडी सनडाउन्सलाई ३–१ ले हराउँदै उपाधि उचालेको हो ।

जोहनसबर्गमा भएको खेलमा बार्सिलोनाको जितमा लुइस स्वारेज, उसमान डेम्बेले र आन्द्रे गोमेजले गोल गरे । मालेलोडी सनडाउन्सका लागि सिबुसिसो विलाकाजीले एक गोल फर्काए ।

ला लिगामा लेभान्तेसँग पराजित टोलीमा विश्राम पाएका लियोनल मेसी यो खेलमा अन्तिम १५ मिनेट खेलेका थिए।

दक्षिण अफ्रिकाको जोहानसबर्गमा भएको खेलमा औसमाने डेम्बेलेले बार्सिलोनालाई तेस्रो मिनेटमै अग्रता दिलाए। डेनिस स्वारेजको पासमा लुइस स्वारेजले १९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाए।

दोस्रो हाफमा ११ खेलाडी परिवर्तन गर्दा पनि मेसीलाई मैदानमा नभित्राउँदा जोहानसबर्गका समर्थक दुःखी देखिएका थिए तर प्रशिक्षक भाल्भर्देले उनलाई अन्तिम १५ मिनेट खेलाएका थिए। आन्द्रे गोमेजले ६६ औं मिनेटमा बार्सिलोनालाई तेस्रो गोल गरे र ७६ औं मिनेटमा सुबुसिसो भिलाकाजीले नतिजा ३-१ बनाएपछि मेसी मैदान प्रवेश गरेका थिए। उनले गोल भने गर्न सकेनन्।

नेलशन मण्डेला जन्मिएको १०० वर्ष पुगेको अवसरमा दक्षिण अफ्रिकामा विशेष सेलिब्रेशन चलिरहेको छ। त्यही अन्तर्गत यो मैत्रीपूर्ण खेल भएको हो। मण्डेलाको सन् २०१३ को डिसेम्बरमा ९५ वर्षको उमेरमा निधन भएको थियो।