Please Update Your Browser.

३० वर्षसम्म छोरीको मुखबाट ‘आमा’ सुन्न नपाएकी आमा

–लोग्शरी कुँवर–

बाहिर प्रचण्ड गर्मी । गाडीभित्र पनि हपहप थियो । गएको हप्ता दिउँसोतिर अकस्मात मन्त्रीक्वाटर ललितपुरमा एउटा अन्तरवार्ता लिने कुरा भो । आफूलाई ‘शून्यतामा’ राखेर पर्दापछाडिबाट नेपाली राजनीतिका एक हस्तीलाई सघाइरहेकी व्यक्तित्वसँग कुराकानी गर्न पाउने अवसरले म हौसिएँ ।

राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले आज उहाँलाई भेट्न सँगै जाऔं न त भनेपछि मैले पनि हतारमै व्यस्त समय व्यवस्थापन गरिहाले । र दिउँसो २ बजेतिर मन्त्रीक्वाटर पुगियो ।

बहालवाला परराष्ट्रमन्त्री मन्त्री प्रदिप ज्ञवालीको क्वाटर । दिउसोको समय भए पनि मन्त्रीक्वाटर सुनसान जस्तै थियो । दुई तले घरको पहिलो तलामै हाम्रो प्रतिक्षामा थिइन्, श्रीमानको उन्नति र सन्तानको रेखदेखमा खट्दा आफ्नो पहिचानलाई शून्यमा पुर्याएकी व्यक्तित्व– सरस्वती ज्ञवाली । जसको आत्मकथा ‘लालटिनको उज्यालोमा’ भर्खरै सार्वजनिक भएपछि महिलाको पनि आत्मकथा हुन्छ भन्ने सोच्दै नसोचेकाहरूबीच चर्चाको विषय बनिरहेको छ । राजनीति वृत्त र सामाजिक क्षेत्रमा ‘लालटिनको उज्यालोमा’ पढ्नै पर्ने पुस्तकको दर्जमा राखिदै छ ।

केही छिन भलाकुसारीसँगै प्रसंग आयो, भर्खरै एकता भई संगठन बिस्तार गरिरहेको नेकपा र त्यसमा अल्पसंख्यामा समावेश महिलाको । घरभित्रै बस्दा पनि देशको बद्लिदो राजनीति र महिला सहभागिताका बारेमा अपडेट सरस्वतीको राजनीतिक अनुभव, प्रस्तुति र शैली देख्दा उनी राजनीतिमा क्रियाशील छैनन् भन्ने बुझ्नेलाई पत्याउन गाह्रै रहेछ ।

सरस्वतीले मलाई नचिन्ने । म उनको अन्तरवार्ताका लागि गएको पनि उनलाई थाहा थिएन । सँगै गएकी डा. अर्चना थापातिर हेर्दै सरस्वतीले मेरो बारेमा सोधिन्, ‘यी छोरी चाहिँ को नि ?’ औपचारिक रुपमा अर्चना र म धेरै परिचित थिएनौं । तर अर्चनाले निकै कन्फिडेन्टका साथ मेरो प्रशंसासहितको परिचय दिइन् । अर्चनाको कुरा नसकिदै सुनमा सुगन्ध थप्न सिपालु यसोदा तिम्सिना झन् के कम । मेरो नाक भित्तामै ठोक्किने गरेर मलाई चिनाइन् ।

हामी सबै हतारमा । ईलाममा उत्पादित ओर्जिनल ग्रीन टी नसकिदै म र सरस्वती मात्रै बस्ने कुरा भो । गेष्ट रुपमा हामी चिया खाँदै कुराकानी थाल्यौं ।

सरस्वती ज्ञवाली

बाल्यकाल

सरस्वती २०१९ साल कार्तिक २९ गते पाल्पाको मदनपोखरामा जन्मिइन् । देवराज र नुरकुमारीका आठ सन्तान मध्ये तेस्री हुन् उनी । आठ भाइबहिनीको लालनपालनमा बुबाआमालाई समस्या भएपछि डेढ वर्षकै उमेरमा उनलाई मावलीमा लगियो । त्यसै त मामाघर धेरैका लागि प्यारो ठाउँ । त्यसमा पनि मामाघरमा साना केटाकेटी कोही नभएकोले सरस्वती निकै मूल्यवान थिइन् । असाध्यै लाडप्यारका साथ पुल्पिुलिएर हुर्किन् मामाघरमा ।

त्यतिबेला छोरीलाई स्कुल पढाउने कुरा प्राथमिकताको विषय नै थिएन । छोरी अर्काको घर जाने जात, किन पढ्नु पर्यो र भन्ने मान्यता थियो । त्यसैले सानैमा स्कुल गइनन् उनी ।

सरस्वतीको मामाको छोरी मीना उनी भन्दा ७ वर्ष कान्छी । जब मीनालाई स्कुल पठाउने कुरा भो तब सरस्वतीका लागि स्कुलको बाटो खुल्यो । भदैलाई जब स्कुल पुर्याउने र ल्याउने जिम्मा सरस्वतीको भयो, उनका लागि स्कुल पढ्न पाउने अवसर पनि त्यही जिम्मेवारीले ल्याइदियो । उनी पनि भदैसँगै स्कुल भर्ना भइन्, १४ वर्षको उमेरमा ।

गार्गी स्कुल, पाल्पामा एक कक्षामा भर्ना हुँदा लाज र डरसँगै चिन्ताको भारीले थिचिइन् उनी । स्कुल भर्ना भएर आफ्नो नाम लेख्न सिक्दै गर्दासम्म पनि उनलाई थाहा थिएन कि आफू कति वर्षकी भएँ भन्ने । विद्यालयका शिक्षक मीनप्रसाद घिमिरेले नानीहरू सानै छन् । त्यसैले ११ वर्षको उमेर लेखिदिनुपर्छ भन्दै सरस्वती लगायत अन्य तीन चारजना विद्यार्थीको उमेर घटाएर भर्ना गरिदिए ।

शिक्षक गणेश घिमिरे हौसला दिइरहने । ‘पढेपछि ठूलो मान्छे भइन्छ । पछि यही स्कुलमा पढाउन पनि पाइन्छ । त्यसैले मेहनत गरेर पढ्नुपर्छ’ भन्थे । सरस्वतीमा पढाइको भुत चढ्न थाल्यो । उनी हौसिन थालिन् । कसरी राम्रो भन्दा राम्रो र अरु भन्दा पहिलो हुने भनेर कस्सिएर पढ्न थालिन् । नभन्दै परीक्षामा प्रथम भइन् । उनी एक कक्षामा मात्रै होइन, दुई कक्षामा पनि प्रथम भइन् । उनी प्रथम हुँदा उनको कक्षाका चम्पा र रीता दोस्रो र तेस्रो हुने । केटाहरू पहिलो हुने त चान्सै नआउने । शिक्षकले पनि उनीहरूको प्रशंसा गरिरहने ।

त्यो बेलामा कक्षा तीनमा जिल्लास्तरीय परीक्षा हुने । उनको कक्षाको एउटा केटाले सरस्वतीको नामै लिएर ‘त्यो केटी फेल होस् । म फस्ट हुम् है भैरम बाबा ! भाले चढाउँला’ भनेर भाकल गरेको सरस्वतीले सुनिन् । कतै म फेल भएँ अथवा पास मात्रै भएँ र त्यो केटा फस्ट भो भने ? सरस्वती निकै चिन्तित भइन् । तर उनले हरेस भने खाइनन् । ‘चिन्ताले मान्छेलाई चितामा पुर्याउछ रे’ तर सरस्वतीले त्यो चिन्ता, डर अर्थात ‘सोकलाई शक्तिमा बदल्ने’ अठोट गरिन् । र झन् घोटिएर पढ्न थालिन् । परीक्षा भयो । रिजल्ट आयो । भाले चढाउने भाकल गरेको केटा फेल, सरस्वती प्रथम । त्यसपछि त्यो केटा कहिल्यै स्कुल आएन ।

सरस्वती चार कक्षामा भैरवस्थानको भैरव जनता माविमा भर्ना भइन् । तर त्यहाँ ४० दिन मात्र पढ्न पाइन् । त्यसपछि उनलाई बुबाले मदनपोखराको शारदा माविमा भर्ना गरिदिए । त्यहाँ पढ्दा उनले अनुशासनको प्रमाणपत्र र जेहन्दार छात्रवृत्ति समेत हात पारिन् । पाँच कक्षामा नारायण भन्ने केटासँग उनको प्रतिष्पर्धा थियो । फाइनलमा सरस्वती नै प्रथम भइन् । नारायण दोस्रो भए । ‘यहाँ केटीले जिती, पढ्दिन’ भन्दै नारायण तानसेनको जनता माविमा भर्ना हुन गए ।

सरस्वतीले ६,७ र ८ कक्षा पढिनन् । महेन्द्रबोधी स्कुल तानसेनमा रातीको कक्षामा सिधै ९ कक्षामा भर्ना भइन् । मजदुरी गरेर पढिन । पनि ९ बाट १० कक्षा जाँदा दोस्रो भइन् । पढाइप्रतिको लगाव, ‘मास्टर्नी’(शिक्षक) बन्ने धोको र ठूलो भएर केही गर्नुपर्छ भन्ने दूरगामी सोच बोकेकी सरस्वतीको तीक्ष्ण दिमाग र पढाईमा गरेको प्रगति देखेर धेरैले वाहवाह गर्थे । आफ्ना नानीहरूलाई पनि सरस्वती जस्तै बन्न प्रेरित गर्थे । त्यसले उनलाई थप मेहनत गर्ने उर्जा मिल्थ्यो ।

सरस्वतीले २०४० सालमा एसएलसी परीक्षा दिइन् । स्कुल पढ्दै राजनीतिमा पनि सक्रिय भइसकेका कारण १० मा पढ्दा पढाइ अलि कमजोर भएको हो कि भन्ने महसुस भो । कोर्स भन्दा राजनीतिका पुस्तक बढी पढ्न थालिन् । त्यसैले परीक्षामा कतै असफल पो भइन्छ कि भन्ने डरले साथीहरूको लहलहैमा बनारसबाट पनि एसएलसी दिने निधो गरिन् । बनारसबाट पुर्व मध्यमा (एसएलसी सरह) मा पहिलो श्रेणीमा पास भइन् । त्यसपछि बनारसबाटै उत्तर मध्यमा (आइ.ए सरह) को परीक्षा पनि दोस्रो श्रेणीमा पास गरिन् । उनीसँगै भर्ना भएका १८\२० जना नेपाली विद्यार्थी मध्ये पास हुने सरस्वती एक्लो नेपाली थिइन् ।

दाँत नझर्दै विहे तय

बालखमै छोरीको कन्यादान गरिदिए धर्म हुन्छ भन्ने विश्वास गर्थे बुबाआमाले । त्यसैले सरस्वतीको विहे गर्न हतार थिए उनीहरू । उनको विहेको कुरा सुरु हुँदा सायद दूधे दाँत झर्न सुरु भइसकेका थिएनन् । आफ्नो विहे गरिदिए त हुन्थ्यो भन्ने कुरा बुबाआमाबाट त सुन्थिन् तर त्यतिबेला यो विहे, श्रीमान, घरधन्दाका बारेमा त्यति जानकार थिइनन् उनी । के भन्या होला भन्ने लाग्थ्यो । गाउँका अरु केटीहरूको पनि यस्तै १०/१२ वर्ष नपुग्दै विहे गरिदिने चलन थ्यो त्यो बेलामा ।

सरस्वती ६ कक्षामा पढ्दै थिइन् । उनको विहे फिक्स भो, हुने खानेकै छोरासँग । सरस्वतीलाई विहे गर्न पटक्कै मन थिएन । मास्टर्नी भएर, आफ्नो खुट्टामा उभिएपछि मात्रै विहे गर्ने इच्छा थियो । तर घरमा बुबाआमाले विहे पक्का गरिसके । केटाकेटीको जनै सुपारी गर्ने दिन थियो । त्यै दिन सरस्वतीले घर छोड्ने निधो गरिन् । भागेर तानसेन पुगिन्, कान्छा बुबाकी बुहारीकोमा ।

कर्मकाण्डमा निकै विश्वास गर्ने परिवारमा जन्मे हुर्केकी सरस्वतीलाई पनि सानो छँदा इश्वरप्रति निकै आस्था र विश्वास थियो । त्यसैले ‘म जसरी पनि पढेर केही गर्छु, समाजलाई देखाउँछु । मेरो चाँडै विहे नहोस् है भगवान् ! भनेर बिहानभरि भगवान्को फोटो अगाडि हात जोड्थिन् ।’ तर जब आफ्नो पढ्ने चाहना हुँदाहुँदै कुल घराना भन्दै विहेका लागि माग्न र हेर्न आउने क्रम रोकिएन तब उनको यस्ता खालका धार्मिक कुराप्रतिको विश्वास पनि क्रमश घट्दै गयो । अनि भगवानलाई हात जोडेर पुकार्न छोडिन् ।

राजनीतिमा प्रवेश

सरस्वतीको राजनीतिक यात्रा २०३८ सालमा सुरु भयो । पाल्पाको तानसेनमा पढ्न थालेदेखि नै कोर्सका भन्दा राजनीतिका किताब बढी पढ्थिन् । ‘कोर्सको किताब त बुर्जुवा शिक्षा हो, नपढेर केही हुँदैन । तपाईंहरूजस्ता युवाले प्रगतिशील किताव पढ्नुपर्छ’ भनेर प्रशिक्षण दिइन्थ्यो । ‘युवा मन, हामीलाई पनि हो जस्तो लाग्ने’ सरस्वतीले भनिन् ।

राजनीतिमा लगाव बढ्दैजाँदा आमा, अग्निदीक्षा, जेनी माक्र्स, नारी बन्धन र मुक्ति जस्ता क्रान्तिकारी किताब पढिन् । तानसेनमा भित्ते लेखन र पर्चा टाँस्ने काममा धेरै गल्ली हिँडिन् । रातबिरात गाउँगाउँ पुगेर संगठन बिस्तारको काम गरिन् ।

महिलालाई मान्छे नै नगन्ने त्यो समाजका आमा, दिदीबहिनीले भोगिरहेको सबै खाले बन्धन कसरी तोड्ने भन्ने लागिरहन्थ्यो उनलाई । त्यसैले नारी मुक्ति र न्यायको सपना देख्न थालेकी उनी तत्कालिन मालेको भूमिगत राजनीतिको रापमा तातिदै गइन् । पार्टीले देखाएको वर्गीय मुक्तिको कोरो सपना साकार गर्न दिलो ज्यान लगाउने अठोटका साथ लागिरहिन्, निरन्तर पार्टी काममा ।

गुल्मीमा पार्टीको गाउँ कमिटी सदस्य, अनेमसंघ गुल्मीको संस्थापक अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी सदस्य, नवलपरासी र रुपन्देही नगर कमिटी सचिव, पार्टीको रुपन्देही वार्ड कमिटी सदस्य, काठमाडौं–रुपन्देही सम्पर्क मञ्चको सदस्य तथा महिला विभाग प्रमुख लगायत पार्टीका विभिन्न कमिटीमा कसेर संगठन विस्तार गरिन् ।

त्यसो त नेपालका हरेक राजनीतिक आन्दोलनमा उनको सक्रिय सहभागीता सधै रह्यो । प्रतिगमन विरुद्धको आन्दोलनमा सहभागी हुने क्रममा काठमाडौंको भद्रकालीमा प्रहरीको लाठीबाट घाइते हुँदा १५ दिनसम्म निरन्तर वान्ता भई अस्पतालमा भर्ना भइन् ।

२०६२\०६३ को जनआन्दोलनमा पनि उनको सक्रियता कम भएन । एकातिर जनआन्दोलनमा भौतिक रुपमै सहभागी हुन मन, अर्कोतिर श्रीमान प्रदिप ज्ञवाली घरबाटै र कोटेश्वरबाट गिरफ्तार हुँदा एक्लै अभिावकत्व ग्रहण गर्नुपर्ने जिम्मेवारी । त्यही बेलामा काठमाडौंको कौशलटारमा रहेको एक तले कच्ची घर पनि टपक्कै टोपी उठाए झैँ हावाहुरीले उडाइदिएपछि सरस्वतीले आकाश आफ्नै थाप्लोमा खस्यो कि भन्ने सहसुस गरिन् । तर पारिवारिक जिम्मेवारीले उनलाई दुःख मान्ने फूर्सदै भएन ।

शशिसँग विहे

२०४० साल अन्तराष्ट्रिय नारी दिवसको दिन । तानसेनमा कार्यक्रमको चाँजोपाँजो मिलाउने जिम्मा सरसरस्वतीको थियो । कार्यक्रम सकेर झपेन्द्र जीसीको आग्रहसहितको निर्देशनमा पार्टीका एक जना नेतालाई भेट्न पठाइयो उनलाई । कारण रहेछ, तिनै नेतासँग सरस्वतीको विहेको कुरा ।

उनले भेट्नुपर्ने नेता बसेको घरमा गएर सुरुमा उनीसँग हात मिलाउन भनेका थिए झपेन्द्र जीसीले । उनी भेट्न जाने घरको सिँढीमा बसेर करिब डेढ घण्टा टोलाइन् । डर, लाज र दोमन लिएर उनलाई कुरिरहेको मान्छेको अघि पुगिन् । बुक पढ्दै सरस्वतीलाई कुरिरहेका व्यक्तिले आफू ‘शशि’ भनेर परिचय दिए ।

श्रीमान प्रदिप ज्ञवालीका साथमा सरस्वती ।

‘जिन्दगीको एउटा अवस्थामा पुगेपछि विवाहको आवश्यकता हुँदोरहेछ । मैले पार्टीमा कुरा राखेको थिएँ । कमरेडहरूले हाम्रो बीचमा विवाह गराउने प्रस्ताव ल्याउनुभएको छ । यसमा तपाईंको विचार के छ ?’ शशिले भद्र तरिकाले प्रश्न सोधे ।

दुवै जनाबिच एक अर्काको पारिवारिक, राजनीतिक पृष्ठभूमि लगायतका विषयमा कुरा भो । एक अर्काको विषयमा लागेका कुरा पार्टीलाई जानकारी दिने सहमति भो । छुट्टिने बेलामा सरस्वतीले सोधिन्, ‘तपाईं के जागिर गर्नुहुन्छ ?’

शशिले भने, ‘म केही जागिर गर्दिनँ । भूमिगत भएर हिँडेको छु ।’

त्यो बेला नेताहरूले कसैको पनि नाम, ठेगाना माग्ने र दिने चलन थिएन । तर सरस्वतीले शशिको नाम ठेगाना मागिन् ।

शशिले नाम प्रदिप ज्ञवाली । घर बलेटक्सार २, चौतारा, गुल्मी भनेर लेखिदिए । उनको सरलता देखेर सरस्वती अचम्म परिन् ।

शशि र सरस्वतीको जम्माजम्मी चार पटक भेट र कुराकानी भो । अन्ततः पार्टीले नै दुवैको विवाह तय गरिदियो । विवाह पक्का भो – २०४१ साल मंसिर १८ गते । मदनपोखरास्थित एकप्रसाद भण्डारीको घरमा । विवाहमा ३०\४० जना पार्टीकै नेता कार्यकर्ताको सहभागीता भो ।

सरस्वतीका लागि एकजोर लुगा, एक घडी ल्याएका थिए शशिले । एक अर्कालाई टीका र माला लगाए । सबैले ताली पिटे । विहे भो ।

सरस्वती भौतिक तथा सामाजिक विकासको दृष्टिले नमूना मानिने पाल्पाको मदनपोखराबाट अलि विकट मानिने गुल्मी जाँदै थिइन् । मनमा कताकता डर पनि थियो । विवाह समारोहमै उनले गित गाइन् ।

जनताको हितलाई सर्वश्व ठानी, अगाडि बढे म
शहर छोडी गाउँ कुना रोजी खुसी भई गएँ म ।

अनि शशिले पनि एउटा कविता वाचन गरेः

आउ प्रिय मेरो जीवनमा स्वागत छ……………..

यसरी सुख र दुःखमा एक अर्काको हात नछोड्ने वाचा गरेर विवाह गरेको यो जोडीको साढे तीन दशकको वैवाहिक जीवनमा कहिल्यै एक अर्कासँग मनमुटाव भएन । बरु एक अर्काको खुसीको लागि सोचिरहन्छन्, ‘म उसका लागि के गर्न सक्छु भनेर ।’ सरस्वतीले खुलेर भनिन्, ‘मैले उनलाई दोष लगाउँदा त पापै लाग्छ । जहिले पनि मेरै खुसीका लागि सोच्ने । आफूले केही गर्न नसकेको भन्दै  पश्चाताप गर्कछन् ।’ तर सरस्वती भने शशि अर्थात प्रदिप ज्ञवाली जस्ता श्रीमतीलाई इज्जत दिने श्रीमान धेरै कम छन् भन्छिन् ।

जागिरे जीन्दगी, गुमाउन नसकेको स्वाभिमान

विवाह पश्चात सरस्वती जागिर गर्न थालिन् । २०४२ देखि २०५३ सम्मको अवधिमा ११ संस्थामा जागिर गरिन् । ७५ रुपैयाँ तलवबाट सुरु भएको उनको जागिरे यात्रामा सबै भन्दा बढी ग्रामीण विकास बैंकमा सुब्बा पदमा रहँदा २३२० रुपैयाँ पाइन् ।

घर व्यवहार चलाउन नोकरी गर्नुपर्ने भएपछिको जीवनमा महिला, श्रीमती र जागिरे महिला भएर काम गर्दाको अनुभव अलि नमिठो छ । ‘सपोर्ट भन्दा धेरै खोइरो खन्ने, असहयोग गर्ने आम प्रवृत्ति ।’ काम नगर्दा भन्दा इमान्दारिताका साथ खटेर काम गर्दा समस्या हुने । त्यो पनि काम नगर्ने व्यक्तिबाटै । उनी भन्छिन्, ‘महिलालाई त झन् टिक्नै नदिने । हिजो पनि त्यस्तै थियो, अहिले पनि त्यस्तै छ ।’ त्यसैले त चाकरीको जागिर भन्दा आदर्शको जीवन ठिक ठानेर धेरै जागिर छोडिन् उनले । आत्मसम्मान र स्वाभिमान गुमाउन नसक्दा स्थायी भएर काम गर्न सकिनन् उनले । तर पनि भन्छिन्, ‘पश्चात रतीभर छैन मलाई, स्वाभिमानका खातिर ।’

लुकेर शशिसँग भेट

विहेको साढे दुई वर्ष बितिसक्यो । सासूलाई नातिनातिनाको मुख हेर्ने धोको पलाउन थाल्यो । मालेका कार्यकर्ता खोज्न प्रहरी गाउँ केन्द्रित हुँदै थिए । पूर्ण भूमिगत शशिलाई घर आउन सजिलो थिएन । त्यसैले छेउछाउका गाउँमा सरस्वती र शशिको रातीको समयमा लुकिछिपी भेट हुन्थ्यो ।

एकपटक पार्टी कामको सिलसिलामा पाल्पामा भेट भो । साथीहरूले सँगै बस्ने व्यवस्था गरिदिए । सरस्वतीले सासूआमाले सन्तानको रहर गरेको र गाउँघरमा आफूहरूको सन्तान नजन्मेको बारेमा चर्चा चल्ने गरेको सुनाइन् । शशि र सरस्वतीलाई पनि कताकता सन्तानको इच्छा जागिसकेको थियो । त्यो रात दुवैले भविष्यका केही योजना बनाए ।

भोलीपल्ट गुल्मी फर्किइन् सरस्वती । शशि पनि गोप्य रुपमै घरमा आए । राती टहटह जून लागिरहेको थियो । सरस्वतीले भावुक हुँदै भनिन्, ‘तिमी आकाशको जूनजस्तै छौ, मैले छुनै नसक्ने गरि कता हो कता टाढा । म त यहाँ धरतीमा छु । खोई अब कहिले भेट हुने हो !’
‘आकाश र धरती जोडिने बिन्दु पनि त छ नि– क्षितिज’ शशिले भने ।

भावी सन्तानको नाम जुराइयो – क्षितिज । दुवैको चाहाना थियो पहिलो सन्तान छोरी नै होस् । छोरा होस् या छोरी सन्तानको यही नाम राख्ने निधो गरे ।

आमा बन्दा

२०४४ चैत्र ४ गते छोरी जन्मिइन् । सायद सरस्वती र शशिको चाहाना बुझे दैवले । छोरी त जन्मिइन् । अपसोच ! उनीहरूले कल्पना गरे भन्दा बिलकुल भिन्न ।

शिशु जन्मिने बित्तिकै रुनुपर्ने, रोइनन् । तौल पनि एक किलो जस्तै । इन्तु न चिन्तु । सबै अचम्म परे । केहीबेर टाउकाे तल पारेर पैतालामा थपथप पार्ने, हल्लाउने गरेपछि थोरै रोइन् । जिवितै छन् भन्ने अड्कल काटियो । सरस्वतीको मन शान्त भो ।

आज, भोली, पर्सी । दिन जति बित्दै गए पनि छोरीको अवस्थामा सुधार आएन । उनी आम शिशु जस्तै थिइनन् । दूध पिउनै नसक्ने । भेट्न आउनेहरू छोरी देखेर अनुहार मलिन बनाउथे र आमासँग खासखुस गर्थे । त्यसले सरस्वतीलाई थप पीडा दिन्थ्यो । छोरी बाँच्दिन कि भन्ने पीरले ज्वरो नै आयो । न्वारान भयो । छोरीको नाम राखियो – क्षितिज ।

छोरी जन्मेको ९ दिनमा शशि घर पुगे । आमाले भनिन्, ‘बच्चा हेर ।’ शशि छोरी त के हेर्थे, सरस्वतीलाई समेत हेर्न सकेनन् । अनुहार निकै मलिन थियो । कारण उनले छोरीको अवस्था बारे पहिले नै खबर पाइसकेका रहेछन् ।

गाउँदेखि जिल्लासम्म जाने सुनेको सबै उपचार गरियो । क्षितिजमा सुधार भएन । शशि र सरस्वती लुम्बिनी अस्पताल पुगे । वरिष्ठ बालविशेषज्ञ रामेश्वर श्रेष्ठले सरस्वती गर्भवती हुँदा कतै लडेको, चोटपटक लागेको हो कि भनेर सोधे । सरस्वती सम्झिइन्, भर्याङ्बाट लडेको कुरा ।

शशि र सरस्वती स्तब्ध भए । एक अर्कासँग बोल्नै सकेनन् । जुनेली रातमा देखेको सपना अन्धकार कालरात्रीमा परिणत भएको महसुस गरे । ‘पहिलो सन्तानको पीडाले भित्रैदेखि रुने बनायो’ सरस्वती यसो भनिरहँदा निकै भावुक भइन् ।

सरस्वतीका अनुसार उनी सात महिनाकी गर्भवती हुँदा घरमा प्रहरी छापा मार्न आएको खबर आए । शशिका किताब, पार्टीका पर्चा पम्पलेट लगायत सबै कागजात र सामान लुकाउनु पर्ने भो । सासूआमा घरमा थिइनन् । ससुरा खासै हात नबढाउने । उनी हतारहतार सामान लुकाउन लिस्नोमा तलमाथि गर्दैथिइन् । चिप्लिइन् । होस आउँदा आफन्तले घेरेका थिए । बेलुकी साढे पाँच बजेतिर लडेकी उनी होस खुल्दा रातीको ११ बजेको थियो ।

‘कारण त्यही हो, तपाईं लड्दा नानीको मस्तिष्कमा गहिरो चोट पुगेको छ । यसको खासै उपचार छैन । तर पनि यी औषधि खुवाउनुस् । बेलाबेलामा जँचाउँदै गर्नुस्,’ घटना सुनेर डाक्टर श्रेष्ठले भने ।

शशि र सरस्वती स्तब्ध भए । एक अर्कासँग बोल्नै सकेनन् । जुनेली रातमा देखेको सपना अन्धकार कालरात्रीमा परिणत भएको महसुस गरे । ‘पहिलो सन्तानको पीडाले भित्रैदेखि रुने बनायो’ सरस्वती यसो भनिरहँदा निकै भावुक भइन् ।

त्यतिबेला क्षितिजलाई हेर्ने प्राय सबै डाक्टरले भनेका थिए, उनी १२ वर्ष भन्दा बढी बाँच्दिनन् । ‘उनीहरूका यस्ता कुराले कति ठूलो पीडा दिन्थ्यो, व्यक्त गर्न सक्दिन’ सरस्वतीले भनिन् ।

क्षितिज अहिले ३० वर्ष पुगिन् । तर उनी एक शब्द बोलेकी छैनन् । सरस्वतीले भनिन्, ‘छोरीको मुखबाट आमा भन्ने शब्द सुन्न पाएको दिन संसारकै भाग्यमानी ठान्थे आफूलाई ।’ सास रहेसम्म आस रहन्छ भने झैं सरस्वतीलाई पनि लाग्छ रे ‘कतै चमत्कार हुन्छ कि, क्षितिजले आमा भन्छिन् कि ।’ तर छोरीको मुखबाट आमा शब्द सुन्नका लागि पर्खेका ३० वर्ष उनका लागि युग बिताए झैँ भएका छन् । क्षितिज बोल्दिनन् र भन्नै सक्दिनन् ‘आमा’ भनेर ।

सरस्वतीले यसो भन्दै तपतप आँसु चुहाइरहँदा मलाई भने मेरो पाँच वर्षको छोरीले फिल्मको डायलग कण्ठ पारेर मलाई फुर्काउन ‘माँ आप दुनियाकी सब से अच्छी माँ हो’ भनेको झल्झली याद आयो । र लाग्यो छोरीको मुखबाट आमा भन्ने शब्द सुन्न वर्षौदेखि कुरिरहेकी सरस्वती यदि छोरीबाट यस्तै शब्द सुन्थिन् भने कति खुसी हुन्थिन् होला भनेर ।

सरस्वती र शशिका तीन सन्तान । जेठो छोरी । माइलो छोरा प्रशान्त र कान्छो छोरा स्वागत । प्रशान्तले डिग्री सके । स्वागतले स्नातक ।

छोरी क्षितिजको साथमा सरस्वती ।

जिउँदो भगवानकी सुसारे

बौद्धिक अपांग छोरी जन्मेपछि एक जना उनको स्याहारमा जुट्नुपर्ने । उनी बोल्न, हिँड्न सक्दिनन् । शौचालय पनि अरुले नै गराइदिनुपर्छ ।

क्षितिजलाई धेर थोर कुरा थाहा हुन्छ । बाबालाई देख्नेवित्तिकै असाध्यै खुसी हुन्छिन् । ‘तिमी कस्ती राम्री छ्यौं’ भन्दा खुसी हुन्छिन् । मोबाइल, टीभीमा संगित बज्दा ध्यान दिएर सुन्छिन् ।

छोरीको यो अवस्थाले राजनीतिमा सक्रिय एउटा योद्धालाई निष्क्रिय हुनुपर्दा कुनै पश्चाताप छ कि ? सरस्वतीले हत्तपत्त जवाफ दिइन्, ‘पटक्कै छैन । भगवान त देखेकी छैन । जिउँदो आत्मा (छोरी) लाई वेवास्ता गरेर मैले अरु कसैका लागि केही गर्न सक्दिन । म मेरो सन्तानको रेखदेखमै सन्तुष्ट छु । साक्षात भगवानको सेवा गर्न पाएकोमा दुखी हुने कुरै छैन ।’

अरुका छोरीहरूको बोली, नाँच, प्रेम, विवाह देख्दा मुटु दुख्छ रे सरस्वतीको । छोरीहरूको विवाहमा उनी खासै सरिक हुँदिनन् । आफ्नो छोरीलाई पनि अरुका दुलही भएका छोरीको ठाउँमा राख्न खोज्छिन्, झन् पीडा दिन्छ त्यो दृश्यले । ‘सात वर्षपछि अस्ती एउटा आफन्तको छोरीको विहेमा गएँ । छोरी सम्झेर आँसु नै खसे’ सरस्वतीले सुनाइन् ।

बौद्धिक अपांगता भएका सबैका सन्तानले क्षितिज जस्तो माया ममता कहाँ पाएका छन् र । झन् कतिपय त आमाबुबाकै विवशताले अनाथालायमा मिल्काइएका छन् । उपचारको अभावमा ज्यान गुमाएका छन् । यसर्थमा सरस्वती र शशिलाई कुनै पश्चाताप छैन – छोरीको उपचारमा कुनै पहल बाँकी रह्यो कि भन्ने ।

भावी योजना

सरस्वतीको आत्मकथा ‘लालटिनको उज्यालोमा’ गएको चैत्र महिनामा सार्वजनिक भो ।

उनी राजनीतिक कार्यकर्ता । श्रीमानको प्रगति, सफलता र खुसीका लागि जागिर, राजनीति आकांक्षा बिर्सिएकी श्रीमती र ३० वर्षको उमेरसम्म पहिलो सन्तानबाट ‘आमा’ सुन्न नपाएकी आमा ।

पुस्तक सार्वजनिक कार्यक्रममा पुस्तक बारे बोल्दै सरस्वतीले भनेकी थिइन, ‘कलमको मसीले होइन यो मेरो आत्माको आँसुले लेखेको हो ।’ उनको यो कुरा अधिकांश संचारमाध्यमले कभरेज गरे । तर यति हुँदाहुँदै पनि एउटा मूलधारको पत्रिकामा छापियो ‘नेताकी श्रीमतीको पुस्तक बजारमा’ भनेर ।

यो कुराले सरस्वतीको मन निकै कुडायो । ‘राज्यको चौथो अंग संचारमाध्यम पनि महिलाको भोगाइ हुन्छ, उनीहरू लेख्न सक्छन् भन्ने कुरामा विस्वस्त छैनन् ।’ सरस्वतीले चित्त दुखाइन्, ‘मैले नेताकी श्रीमती भएर लेखेको जस्तो । मेरो भोगाइमै प्रश्न लगाइदियो ।’

सरस्वतीका कुनै ठूला भावी योजना छैनन् । पुस्तकको बढ्दो मागप्रति अत्यन्तै खुसी उनी साहित्य लेखनमा रुची राख्छिन् ।

‘छोरी नै खुसी हो । छोरी नै आनन्द । उ भन्दा बाहिरको संसार मेरो लागि फिक्का छ’ सरस्वतीले भनिन्, ‘छोरी बाचुञ्जेल उसकै समीपमा रहन्छु ।’ महिला खबरबाट