Please Update Your Browser.

जन्म भूमिको सेवामा क्रियाशील शुष्मा, जसले २ सय बालिकालाई पढाइन्

–लोग्शरी कुँवर–

शुष्मा शाह अर्थात शुष्मा ओमाता । नेपालकी छोरी, जापानकी बुहारी । जापानीसँगको विहे पश्चात जापानलाई कर्मथलो बनाएकी उनलाई नेपाल ‘माइतीको देश’ मात्रै हो भनिदिँदा भने चित्त दुख्छ । गला अवरुद्ध हुन्छ । र झस्काइदिन्छन्, जन्मथलो अनि त्यहाँ बितेको बालापन र युवावस्थामा संगिनीसँगै बिताएका रमाईला पलहरूले ।

शुष्मा सन् १९४५ मे २७ मा काठमाडौंको बसन्तपुरमा जन्मिइन् । बुबा पूर्णजंग विक्रम शाह र आमा भगवती शाह (हाल बुबाआमा स्वर्गीय) का चार मध्ये तेस्रो सन्तान उनी । जेठी दिज्यू, माइला दाजु, साइली शुष्मा र भाइ ।

चौतरिया शाह खानदानकी छोरी शुष्माको बाल्यकाल दुखद् रहेन । राजाका नजिकका भाइबन्धु थिए, चौतरिया शाह खानदान । तत्कालिन समयमा चौतरिया शाह भनेपछि रोब रवाफ नै बेग्लै थियो । चिन्ने जान्नेले निकै मान, सम्मान गर्थे ।

अहिलेको जस्तो हो र ! ७३ वर्ष अघिको राज नातेदार । छोरीलाई आफू खुसी हिँड्न, कुद्न, उफ्रिन कहाँ छुट थियो र ? बस्, घरको पर्खालभित्र मात्रै हो खेल्न, रमाउन पाउने त । त्यो पनि घरपरिवार र आफन्तसँग मात्रै । सडक, गल्ली र पार्कतिर त सामान्यका छोराछोरी खेल्थे । उनीहरूसँग खेल्ने, रमाउने छुट थिएन शुष्मालाई ।

सानोमा दाइ र भाइसँगै उनी पनि चंगा उडाउने, रुख चढ्ने, पर्खाल नाघ्ने, गुच्चा खेल्ने, टेबुलटेनिस, व्याटमिन्टन, चेस, पासा लगायतका खेल खेल्थिन् । त्यो बेलामा यी खेल प्राय केटाहरूले खेल्थे । छोरीहरू प्राय यी खेलहरू खेल्थेनन् । केटीहरू गुडिया, भाँडाकुटी खेल्थे । तर सानैदेखि दाइ र भाइको बीचमा जन्मे हुर्केको र परिवारमा कामको बोझ नभएर हो कि शुष्मालाई भने यस्तै खेलमा शौख थियो । साथी सर्कलमा पनि केटाहरू नै बढी थिए । उनी सानैदेखि अलि निडर र हक्की स्वभावकी थिइन् । सानातिना कुरामा चित्त दुखाइहाल्ने बानी थिएन उनको । त्यस्तै परे ठूलासँग पनि तर्क गरिहाल्थिन् ।

शिक्षा दिक्षा

त्यतिबेला छोरीलाई बाहिर पढाउने खासै चलन थिएन । हुने खानेहरु घरमै शिक्षक बोलाएर पढाउथे । धर्म ग्रन्थहरु पढ्न सक्ने भए त भइहाल्यो नी भनिन्थ्यो । त्यसमा पनि उच्च वर्गका छोरीहरूलाई लेखाईपढाई गराएर जागिर खुवाउने सोच त झन् कमैको हुन्थ्यो । समयको परिवर्तनसँगै शिक्षाको महत्व बढ्दै गयो । शुष्मामा परिवारलाई पनि छोरी पढाउनु पर्छ भन्ने सोच आयो । शुष्मालाई पनि स्कुल जान लाग्यो । त्यसैले अक्षर चिन्नकै लागि मात्रै शुष्मालाई पनि ११ वर्षको उमेरमा स्कुल पठाइयो ।

राजधानी काठमाडौंमा छोरीहरू मात्रै पढ्ने स्कुल दुईटा थिए – पद्मकन्या स्कुल डिल्लीबजार र नरदेवीमा रहेको कन्या मन्दिर । शुष्मालाई भने जेपी स्कुल क्षेत्रपाटीमा कक्षा तीनमा भर्ना गरियो । जहाँ बिहानको समयमा छात्रालाई मात्रै पढाइन्थ्यो ।

विद्यालयका शिक्षक सबै पुरुष । त्यो स्कुलमा प्राय सबै वर्गका छोराछोरी पढ्थे । शुष्मालाई याद छ स्कुलमा सम्पन्न भन्दा निम्न वर्गका छोरीहरू निकै मेहनत गरेर पढ्थे । ‘च्यातिएका लुगा र फाटेका चप्पल लगाएर आउने केटीहरू निकै ट्यालेन्ट’ शुष्माले भनिन्, ‘हामी त अक्षर चिन्न स्कुल ग’का । छोरीहरूलाई पढाएर करिअर बनाउने उद्देश्यले अभिभावकले स्कुल पठाएकै थिएनन् । अनि हाम्लाई के को रुची हुन्थ्यो र ?’

शुष्माले सन् १९६४ मा एसएलसी पास गरिन् । रत्नराज्य लक्ष्मी क्याम्पसमा ११ मा भर्ना भइन् । रत्नराज्य भर्खरै स्थापना भएको । उनी दोस्रो व्याजकी स्टुडेन्ट । ११ र १२ कक्षा गरेर ३० जना छात्रा मात्रै थिए क्याम्पसमा । त्यतिबेला रत्नराज्यमा केटाहरू पढ्न पाउँदैनथे । पहिलो व्याजका केटीहरूको कुनै ड्रेस थिएन । जे पनि लगाउन पाउथे । बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको जन्मोत्सवको प्रशिक्षणमा जानका लागि शुष्मा र उनकी साथी साबित्रीले क्याम्पसको पोसाक बनाउने योजना बनाए । सेतो सारीमा ढाकाको बोर्डर राखेर सारी चोलो बनाइयो । त्यही सारीलाई क्याम्पसको पोसाक बनाइयो ।

रत्नराज्यमा १२ मा पढ्दै गर्दा शुष्माले गोरखापत्रमा सूचना देखिन्, भारतले ‘सांस्कृतिक छात्रवृत्ति’ दिने सम्बन्धमा । उनले फर्म भरिन्, नाम निस्क्यो । तर अभिभावक भने उनलाई भारतमा, त्यो पनि संगितमा पठ्न पठाउन राजी भएनन् ।

गाउने, बजाउने काम त सामान्यत मान्छेले पो गर्छन् भन्ने बुझाइ थियो शुष्माका परिवारको । महिला संगितमा लागेको झन् मन पर्थेन सबैलाई । बिग्रेका महिलाहरू यो क्षेत्र रोज्छन् भन्ने गलत बुझाइ थियो । तर शास्त्रीय संगितमा छात्रवृत्ति पाएको र शुष्माले अति नै जिद्दी गरेपछि उनीहरूको केही लागेन । उनी भारत गएर कलकत्तास्थित रविन्द्रनाथ टैगोरको यूनिभर्सिटी ‘शान्ति निकेतन’ मा भर्ना भइन् ।

शान्ति निकेतनमा पनि उनी एक वर्ष मात्रै पढिन् । त्यसपछि फेरि भारतकै बरोडास्थित महाराजा सायाजीराओ यूनिभर्सिटीमा सितार मुख्य विषय लिएर पढ्न थालिन् । त्यहाँबाट शास्त्रीय बाधन ‘सितार’मा स्नातक गरेर सन् १९७० मा नेपाल फर्किन् ।

पहिलो जागिर, बुबाआमाले तलव बुझेनन्

नेपाल आएपछि शुष्माले राष्ट्रिय नाचघरमा सेक्सन अफिसरको जागिर पाइन् । तनखा थियो ४ सय २५ रुपैयाँ ।

त्यसका साथसाथै उनले रेडियो नेपालमा सितार बजाउने मौका पाइन् । उनी महिनाको एक दुई पटक सितार बजाउँथिन् । ए ग्रेडको काम थियो त्यो । एक पटक बजाएको ३५ रुपैयाँ दिइन्थ्यो ।

यस्तै पद्यमकन्या क्याम्पसमा पनि सितारको कक्षा लिन बोलाइयो ।

शुष्माले पहिलो पटक राष्ट्रिय नाचघरबाट जागिर बापत बुझेको तलव बुबामुमालाई दिइन् । बुबामुमाले उनको तलब समातेनन् । छोरीको बजाउने कामप्रति असन्तुष्ट उनीहरूले राष्ट्रिय नाचघरमा जागिर गरेको त झन् पटक्कै मन पराएका थिएनन् । त्यसमा पनि छोरीको कमाइ खानुहुन्न भन्ने रुढिवादी सोच ।

राष्ट्रिय नाचघरमा शुष्मा कै नेतृत्वमा पहिलो पटक क्लासिक शो पनि आयोजना गरियो । प्रतिव्यक्ति एकदेखि तीन सयसम्म टिकट शुल्क राखेर गरिएको त्यो कार्यक्रमले त्यतिबेला निकै चर्चा बटुलेको थियो ।

शुष्माले फुर्सदको समयमा सितार सिक्न चाहानेलाई घरमै पनि सितार सिकाउन थालिन । अलिअलि नेपाली र नेपालमा रहेका विदेशीहरू सितार सिक्न आउँथे ।

नेपालस्थित जापानका राजदुतकी श्रीमती सितारमा निकै रुची राख्थिन् । शुष्मालाई राजदुतावासमा सितार सिकाउन बोलाइयो । राजदुतावासले नै गाडी पठाइदिन्थ्यो । उनी राजदुतकी श्रीमतीलाई सितार सिकाउन जान्थिन् ।

तोमीनोरी ओमातासँगको भेट

शुष्माले घरमै सितार सिकाउन थालेपछि उनीकहाँ जापानी नागरिक तोमीनोरी ओमाता पनि सितार सिक्न आए । जापानकै फुजी टीभीमा कार्यरत तोमीनोरी ‘हिप्पीहरूको डकुमेन्ट्री’ बनाउन नेपाल पुगेका थिए ।

शुष्माको उमेरका सबै केटीहरूको विवाह भइसकेको थियो । घरमा पनि दिदी, दाजु र उनी भन्दा कान्छा भाइको समेत विहे भइसक्यो । उनी २६ वर्ष पुगिसकेकी थिइन् । उनको विवाहका लागि थुप्रै प्रस्ताव आउथे । अभिभावक पनि उनको विहे गर्न आतुर थिए । तर शुष्मा विहे गर्न राजी थिइनन् । युवावस्थाको सुरुआतमै भारतमा पढ्ने अवसर पाएकी उनलाई भारत अलि विकसित लाग्थ्यो । उनले पढेको ठाउँमा यहाँ भन्दा महिला स्वतन्त्र थिए । उनले पनि स्वतन्त्रताको महत्व बुझिसकेकी थिइन् ।

‘मान्छेको सबैभन्दा ठूलो खुसी नै स्वतन्त्रता रहेछ’ शुष्माले भनिन्, ‘नेपाली केटासँग विहे गरेर म खुसी हुन्छु भन्ने लागेन । त्यसमा पनि हामी जस्ता परिवारभित्र बुहारी भनेका चौघेराभित्रका शो–पिस हुन्थे ।’ त्यसैले शुष्मालाई त्यस्तो शो–पिस हुन मन लागेन । नेपाली केटासँग विहे गरेर महिलालाई दास ठान्ने मानसिकताको सिकार हुने आँट भएन ।

सितार सिक्ने र सिकाउने क्रममा शुष्मा र तोमीनोरी नजिकिए । तोमीनोरीले शुष्मालाई विवाहको प्रस्ताव राखे । तोमीनोरी शुष्मा भन्दा दुई वर्ष कान्छा थिए । शुष्माले निर्णय दिन सकिनन् । परिवारले हुन्छ भने नाई नभन्ने बताइन् । तोमीनोरीले शुष्माका बुबासँग कुरा राखे । विहे गर्न इन्कार गर्दै आइरहेकी छोरीले विहेका लागि हुन्छ भनेपछि शुष्माका बुबामुमा विदेशी केटालाई ज्वाइँ मान्न विवश भए । शुष्मा र तोमीनोरीको विहे भो । नेपाली संस्कार अनुसार स्वयंवर गरेर शुष्माको विहे भो ।

जापानमा बुहारी भई भित्रिदा

सन् १९७३ अगस्ट २८ मा शुष्मा श्रीमानसँगै जापान गइन् । सासू ससुरा उनलाई लिन एअरपोर्टमै पुगेका थिए । अंगालो हाल्दै बुहारी भित्र्याए । ससुराले ‘हात खर्च’ भन्दै शुष्मालाई केही रकम दिए । जुन जापानीले बुहारी भित्र्याउदा दिन्छन् । शुष्मा सामान्य पहिरनमा थिइन् । सासूले जापानी पोसाकसहित सृंगारका सामान दिइन् ।

नेपाल जस्तो सासू ससुराको लागि नसक्दा पनि गर्नै पर्ने अवस्था थिएन जापानमा । ‘सबै सँगै खाना खाने, एक अर्कालाई सहयोग गर्ने चलन रहेछ’ शुष्माले जापानमा बुहारी भएर जाँदाको अनुभव सुनाइन्, ‘म खाँदै छु भने सासूले अगाडि खाइसकेपछि भाँडा बटुलेर धुन सुरु गरिहाल्ने । सासूले शुष्माले थाहा नपाउने गरी वासिङ् मेसिनमा लुगा समेत धोइदिने । यो काम बुहारीले गर्नुपर्छ भन्ने कुनै खालको विभेदै नहुने ।’ कामलाई प्राथमिकता दिने जापानी बानी शुष्मालाई सुरुदेखि नै मन पर्यो ।

बसन्तपुर जस्तो ठाउँमा जन्मे हुर्केकी उनी मध्यम वर्गीय परिवारमा बुहारी भएर भित्रिएकी थिइन् । घर पनि सानै थियो ।स–साना कोठा थिए । एउटा कोठामा बोलेको कुरा अर्को कोठामा प्रष्टै सुनिने । तर पनि मन परेको व्यक्तिसँग विहे भई गएकी उनी निकै रमाइन् त्यहाँ । आफ्ना छोरी नभएकाले सासू ससुराले पनि निकै माया दिए ।

जापानमा जागिर

शुष्माले जापान जानेबित्तिकै काम पाइन्, त्यो पनि आफ्नै फिल्डको । श्रीमानका साथीहरूले सितार सम्बन्धी स–साना कन्सर्ट आयोजना गरिदिन्थे । त्यसबाट उनलाई अलिअलि पैसा आउथ्यो ।

शुष्माले जापानमा जओसीभी (हाल जाइका) को कार्यक्रम अन्तरगत नेपालमा चुनिएर आउने स्वयम्सेवकलाई नेपाली भाषा सिकाइन् ।

सन् १९८० मा शुष्मालाई पाएपछि टोकियो युनिभर्सिटी अफ फाइन आर्टस एण्ड म्यूजिक विभागले सितारलाई पाठ्यक्रममै समावेश गरिदियो । टोकियो युनिभर्सिटी अफ फाइन आर्टस् जस्तो प्रतिष्ठित विश्वविद्यालयमा सितार संगितलाई ऐच्छिक विषयको पाठ्यक्रममा राख्न सफल भएकोमा गर्व अनुभूति हुन्छ उनलाई ।

छिमेकी राष्ट्र भारतको शास्त्रीय संगित ‘सितार’को जापान लगायत आफू गएका देशहरुमा प्रचार गर्न पाएकोमा निकै गौरव गर्छिन् उनी । ‘त्यसैले भारतले शास्त्रीय संगित सितारमा मलाई छात्रवृत्ति दिएको ऋण तिरिरहेको महसुस गर्छु’ शुष्माले भनिन् ।

नेपाली भाषा सिक्न चाहने र नेपाल आउने जापानीहरूका लागि जापानी नागरिक प्रोफेसर इसीहिरोसीसँगको सहकार्यमा नेपाली भाषाको सहयोगी बुक पनि प्रकाशन गरिन् ।

शुष्मा जहाँजहाँ जान्छिन्, त्यहाँत्यहाँ नेपालको कला, संस्कृति र रहनसहनका बारेमा लेक्चर पनि दिन्छिन् । त्यसो गर्दा मातृ भूमिको बारेमा केही गर्न सकेको अनुभूति हुन्छ उनलाई ।

नेपाली खानाको प्रचार

शुष्मा हरेक क्रिसमस र नयाँ वर्षमा जापानीहरूलाई बोलाएर नेपाली खाना बनाउन सिकाउँछिन् र ख्वाउँछिन् । त्यसका साथै नेपाली पोसाक गुन्यु चोली र दाउरा सुरुवाल लगाइदिन्छिन् । त्यो लगाएर जापानीहरु फोटो खिच्छन् । त्यो उनले आफ्नो खुसी र जापानीसँगको सम्बन्ध गहिरो बनाउनका लागि गर्छिन् ।

मातृ भूमिको ऋण तिर्न छात्रवृत्ति

जन्मदिने आमा र जन्म भूमि भन्दा ठूलो कोही हुँदैन भन्ने कुरामा विश्वास छ शुष्मालाई । ‘सायद विहे गरेर बाहिर बस्नु परेकोले पनि मातृ भूमिको यतिविघ्न माया लाग्दो हो’ उनले भनिन्, ‘त्यसैले नेपालका लागि केही गरिरहुँ लाग्छ ।’

नेपालमा शुष्माले पढे बेलाको जस्तै गरिवी छैन । तर पनि कापी, कलम र डे«स नपाएर स्कुल जान नसक्ने केटाकेटी नेपालमा अहिले पनि थुप्रै छन् भन्ने थाहा छ उनलाई ।

गरिवी, अभाव र पीडाका दृश्यले चाँडै मन पगाल्छ शुष्माको । आफूले अभावको जीन्दगी कहिल्यै नभोगेकी उनी अभावमा बाच्नेहरूसँग भने नजिक छन् । त्यसैले त्यो पीडा महसुस गर्छिन् उनी । र अभाव भोगिरहेकाहरूका लागि केही सहयोग गर्ने तत्परता देखाउँछिन् ।

शुष्माले सन् १९९३ मा काठमाडौंको फर्पिङ्मा रहेको कामधेनु स्कुलमा पढिरहेका गरिब र विपन्न वर्गका पाँच जना केटाकेटीका लागि छात्रवृत्ति उपलब्ध गराइन् । यो कुराले सन्तुष्टि दियो उनलाई । यसलाई अभियानको रुपमा चलाउने निधो गरिन् । आफूसँगै अन्य जापानीलाई पनि यो अभियानमा सहयोग गर्न सुझाइन् । र अहिलेसम्म आइपुग्दा यसमा करिब ३५ जना जापानी सहभागी छन् । ५ जना नेपाली विद्यार्थीबाट सुरु भएको यो अभियानबाट २ सय जना छात्राहरू छात्रवृत्तिमा पढिसकेका छन् । छात्रवृत्तिमा पढेकाहरू कोही नर्स छन् । कोही शिक्षक । कोही बैंकर ।

छात्रवृत्तिमा पढिरहेका छात्राहरू शुष्मालाई बेलाबेलामा हस्तलिखित चिठी पढाउँछन् । शुष्माकै कारण जीवनमा उज्यालो छाएको अनुभूति दिलाउँछन् । शिक्षामा उनको सहयोग नभएको भए जीवन अन्धकारमा धकेलिने निश्चित भएको महसुस गराउँछन् । उनीहरूका यस्ता कुराले मन पगाल्छ शुष्माको । प्रफूल्ल हुन्छिन् उनी । र यस्ता सुखद कुराहरु जापानी साथीहरुलाई सुनाउँछिन् र उनीहरुप्रति कृतज्ञ हुनिछन् । अनि उनलाई यो अभियान नेपालका गाउँगाउँसम्म पुर्याउने प्रेरणा मिल्छ । ‘यी नानीहरूकै आर्शिवादले होला अहिलेसम्म डाक्टरको औषधि खानुपरेको छैन’ शुष्माले सुनाइन् ।

भावी योजना

शुष्माको एक छोरी र एक नातिनी छन् । छोरी सुजाताबाट १३ वर्षकी नातिनी छन् ।

शुष्मालाई देश विदेश घुम्न मन लाग्छ । ४४ वर्षे जापान बसाइले उनलाई कमाईको केही रकम समाजसेवामा खर्चिनु पर्छ भन्ने पाठ पनि सिकाएको छ । त्यतिमात्रै होइन उनी फुर्सदै निकालेर जापानका विभिन्न वृद्धाश्रम र सहयोग दिन सकिने स्थानमा जान्छिन् । सहयोग गर्छिन् र त्यहाँ आश्रय लिइरहेका वृद्धवृद्धाका कुरा सुनिदिन्छिन् ।

जीवनका ७ दशक बढी खुसीका साथ बिताइसकेकी शुष्मालाई सास रहँदासम्म जन्म भूमि र कर्म भूमिका लागि काम गरेर हाँसेर बाच्ने मन छ ।

महिलाहरूलाई विहेअघि बुवाको, विहेपछि श्रीमानको र वृद्धावस्थामा छोराको अधिनमा बाँच्न प्रेरित गरिरहने नेपाली परम्पराले महिलाको गतिशिलतामा पर्खाल हाल्छ भन्ने बुझाइ छ उनको । र भन्छिन्, ‘आवश्यकता भन्दा आडम्बरका पर्खाल नाघ्ने हिम्मत नगरेको भए म यो जुनीमा यति धेरै खुसी कसरी हुन्थेँ र ? मेरा पनि प्वाख काट्ने प्रयास नभएका त कहाँ हुन् र । तर मैले हारिन र जितें स्वतन्त्रताको लडाइँ ।’ महिला खबरबाट