Please Update Your Browser.

कुरीतिजन्य हिंसाका कारण तीन महिनामा मात्रै ८ को ज्यान गयो

कोसेली समाचारदाता

ललितपुर । कुरीतिजन्य हिंसाका कारण नेपालमा तीन महिनामा ६५ मान्छे प्रभाबित भएका छन् । ८ जनाको ज्यान गएको छ । ज्यान जानेमा सबै महिला छन् ।

तीन महिनामा सबैभन्दा बढीे दाइजो प्रथाका कारण ५, जातिय विभेदका कारण १, कमलरी प्रथाका कारण १, छाउ प्रथाका कारण १ महिलाको मृत्यु भएको छ ।

यस्तै १६ जना (४ पुरुष, १२ महिला) ले शारीरिक हिंसा खेपेका छन् । ३६ जना (५ पुरुष, ३१ महिला) मानसिक रुपमा प्रभावित भएका छन् ।
कुरीतिजन्य हिंसाका पीडित ६५ जना मध्ये ५८ जना महिला छन् ।

मानववादी समाज (सोच) नेपालले कुरीतिजन्य हिंसाका बारेमा गरेको अध्ययन गरी आज सार्वजनिक गरेको प्रतिवेदनमा यो कुरा उल्लेख छ ।

२०७४ चैत १८ गते देखि २०७५ असार १७ गतेसम्म काठमाडौंबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकामा प्रकाशित समाचारहरुलाई आधार मानी सोच नेपालले अध्ययन प्रतिवेदन तयार गरेको जनाएको छ ।

यस्तै यो अवधिमा सबैभन्दा बढी जातीय छुवाछुत सम्बन्धिका १६ घटना घटेका छन् । बालविवाहका १५, दाइजो प्रथाका १०, लिङ्गविभेद प्रथाका ८, छाउ प्रथाका ६, बहुविवाहका ४, बोक्सी प्रथाका ३, कमलरी प्रथा १, जिब्रो छेड्ने प्रथा १ र धामी झाँक्रीको १ घटनाहरु सार्वजनिक भएका छन् ।

प्रतिवेदनमा १० प्रकारका कुरीतिका कारण ६५ जना मान्छे र ३ समुदाय पीडित भएको उल्लेख छ ।