Please Update Your Browser.

महिला नेतृत्वको पत्रिका मर्निङ् बेलले मनायो ‘कालो तीज’

धनगढी । महिलाको नेतृत्वमा संचालन भइरहेको मर्निङ् बेल नेपाली दैनिकको पहलमा कैलालीका अधिकारकर्मी महिलाहरुले ‘कालो तीज’ मनाएका छन् ।

महिलामाथि बलात्कार, हत्या, हिंसाका घटना बढ्दै गएको र कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता नलागेको अवस्थामा महिलाहरुले हर्ष बढाइका साथ तीज मनाउनुको सार्थकता नरहेको भन्दै ‘कालो तीज’ मनाएका हुन् ।

मर्निङ् बेल नेपाली दैनिककी प्रकाशक रमा भट्टराईले सकारात्मक जागरण र चेतनाको पक्षमा आवाज उठाउनु सञ्चार माध्यमको पनि दायित्व भएका कारण अधिकारको पक्षमा एक हुन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताइन् ।

धनगढीबाट प्रकाशित हुने मर्निङ् बेल नेपाली दैनिकले हिजो धनगढीमा आयोजना गरेको ‘महिला अस्मिताको सवाल’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा महिला अधिकारकर्मीहरुले हत्या, हिंसा र बलात्कारका घटना न्यूनिकरणमा बल पुगोस् भनेर यस वर्षको तीजलाई कालो तीजका रुपमा मनाइएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले दण्डहिनताको अन्त्य र मानवअधिकारको सुरक्षा गर्न सरकार प्रतिवद्ध हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘महिलामाथि बलात्कार र बलात्कारपछि हत्या जस्ता जघन्य अपराध भइरहेका छन् । पीडितले न्यायको प्रत्याभू ितगर्न पाएका छैनन् । यो अवस्थामा हामीले हर्षका साथ तीज मनाउनुको अर्थ छैन ।’

वर्षमा एक दिन मनाइने तीज पनि महिलाहरुले खुसीका साथ नमनाएर ‘कालो तीज’का रुपमा मनाउनुपर्ने दुखद् स्थितिले हामी महिलाको मानवअधिकार कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आएको उपमेयर भट्टले बताइन् ।

अधिकारकर्मी शान्ति अधिकारीले प्रदेश नम्बर ७ मा महिलाहरुमाथि बढ्दै गएको जघन्य अपराधले महिलाहरु घरभित्र र बाहिर कहिँकतै सुरक्षित नरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।

अधिकारकर्मी निर्मला बागचन्दले मर्निङ् बेल दैनिकले महिलाहरुलाई आफ्नो अस्मिता र अस्तीत्व रक्षाका लागि जागरुक बनाउन थालेको अभियान सराकात्मक भएको धारणा राखिन् ।

कार्यक्रममा अधिकारकर्मी, पत्रकार, समाजसेवीहरुको उपस्थिती रहेको थियो ।