Please Update Your Browser.

पाँचथरमा पनि बढ्यो महिला

–लेखनाथ खतिवडा–

पाँचथर । पदेशभरबाट बलात्कार, हत्या, यौन शोषणका समाचारहरु ह्वारह्वारर्ती आइरहेका छन् ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषी पत्ता लगाई कारबाही हुन नसक्दा सरकारको चर्को आलोचना हुँदै आएको छ । सरकारले दोषीको संरक्षण गरेको आरोप लागिरहँदा देशैभर बलात्कार र हत्याका घटनामा समेत उल्लेख्य रुपमा वृद्धि भएको छ ।

निर्मलाको बलात्कार र हत्याको घण्टाले देश तातिरहेकै बेला पाँचथरमा समेत बलात्कारका घटना नभएका होइनन् । फिदिम नगरपालिकामा २ जना बालिका वलात्कृत भएका छन् । १२ वर्षीया ति बालिकाहरु अभिभावकवाटै बलात्कृत भएका हुन् । तर, अभियुक्तहरुलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । यो संगै याङवरकमा एक बालिका वलात्कृत भएकि छन् । दोषीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

देशका अन्य जिल्लामा जस्तै पाँचथरमा पनि महिला हिंसाका घटनामा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङ्कले देखाएका छ । प्रत्येक वर्ष पाँचथरमा बलात्कार घटनामा वृद्धि भइरहेको प्रहरीको तथ्याङ्क छ । चालू आर्थिक वर्षका साउन, भदौ र असोज महिनामा मात्रै पाँचथरमा बलात्कारका ३ घटना भएका छन्।

यस्तै बलात्कार प्रयासका पनि ३ वटै घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७२\०७३ मा पाँचथरमा बलात्कार ८ वटा घटना भएकामा आर्थिक वर्ष २०७३\०७४ मा ११ वटा घटना भए । गत आर्थिक वर्ष २०७४\०७५ मा बलात्कारका १९ वटा घटना भएका छन् । बलात्कार प्रयासका घटनाको संख्यापनि उस्तै छ । बलात्कार प्रयासका घटना आर्थिक वर्ष २०७२\०७३ मा ५ वटा, आर्थिक वर्ष २०७३\०७४ मा पनि ५ वटै र आर्थिक वर्ष २०७४\०७५ मा ३ ओटा भएका छन् । यौन दुराचारका घटना यी तीन आर्थिक वर्षमा क्रमशः १, २ र ३ वटा भएका छन् ।

यौन दुराचारका घटना क्रमश बढेको तथ्याङ्कले देखाउँछ । तीनै आर्थिक वर्षमा २÷२ जना महिलाको हत्या भएको छ ।

महिला हिंसाका घटनामा वृद्धि भएपनि यस्ता घटना न्यूनिकरणका लागि ठोस प्रयास भने हुन सकेका छैनन । शुक्रवार पाँचथरमा भएको अन्तरकृयाका सहभागीहरुले विशेषत बालिका बलात्कार घटना र घरेलु हिंसाका घटना अत्याधिक रुपमा वृद्धि भएको भन्दै चिन्ता व्यक्त गरे ।

उनीहरुले हिंसा न्यूनिकरणका लागि राज्य संयन्त्रदेखि नागरिक संघ संस्थासम्मले प्रयत्न गर्नुपर्नेमा जोड दिए । सरोकारवालाहरुले गाँउ केन्द्रीत भएर सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनीहरुले कानूनी ज्ञानको अभावमा धेरै महिला हिंसाका घटना भइरहेको भन्दै स्थानीय तहहरुको अगुवाईमा सचेतनाका कार्यक्रम घर–घरमा पु¥याउनुपर्नेमा जोड दिए ।

फिदिम नगरपालिकाको महिला शाखाकी प्रमुख निर्मला दाहाले महिला तथा बालबालिकाहरुलाई हिंसा र बलात्कारको शिकार हुनबाट बचाउन आत्मरक्षाको तालिम दिनुपर्नेमा जोड दिइन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ मुना नेम्वाङले कानूनको प्रभावकारी कार्यान्वयन र सचेतनामा जोड दिइन ।

हुकोडेक नेपालले आयोजना गरेको ‘महिला अधिकार, राजनीति, निर्वाचन र निर्णायक तहमा महिला सहभागिता’ विषयक कार्यक्रमका सहभागीहरुले जनचेतनामा अभिवृद्धि गर्नुपर्ने, समाजमा अन्तरसम्वादका कार्यक्रम चलाउनुपर्ने, पुरुषवादी मानसिकतामा परिवर्तन ल्याउनुपर्ने, महिलामैत्री पाठ्यपुस्तक निर्माण गर्नुपर्ने, कानून कार्यान्वयनलाई सवल बनाउनुपर्ने, बलात्कारसम्बन्धी सजायलाई थप गर्नुपर्ने जस्ता धारणा राखे । यसका लागि स्थानीय तह, प्रशासन, नागरिक संस्था र राजनीतिक दल जिम्मेवार भएर लाग्नुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले विद्यालयबाट चेतना अभिवृद्धि तथा कानूनी ज्ञान विस्तार गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थी र सुरक्षा निकायवीच सहकार्य र समन्वयबाट चेतना अभिवृद्धिमा सघाउ पुग्ने वताए । स्थानीय तहले सचेतनालाई प्राथमिकतामा राखेर कार्य गर्नुपर्नेमा जोड दिँदै प्रमुख सापकोटाले आवश्यक परे जिल्ला समन्वय समितिले स्थानीय तहहरुको भेला आयोजना गर्ने वताए ।

महिला तथा बालिका हिंसा न्यूनिकरण गर्न जिल्ला बालकल्याण समितिले सचेतनाको प्याकेज तयार पारेर कार्य गर्दै आएको छ । सो कार्यक्रममले विद्यालय केन्द्रीत सचेतनाका कार्यक्रमबाट समाजमा चेतना विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय तहले सचेतना लगायत कार्य गर्नुपर्ने, यसका लागि जिल्ला समन्वय समितिले समन्वय गर्नुपर्ने तथा नागरिक संघ संस्थाहरुले सहयोग गर्नुपर्ने आवश्यकता देखिएको सहभागीहरुको भनाइथियो ।