Please Update Your Browser.

तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक

काठमाडौं । तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक भएको छ । श्रेष्ठको जन्मदिनको अवसर पारेर घोष्ट राइटिङ नेपालले भूमिका (तेस्रोलिंगीको आत्मकथा) सार्वजनिक गरेको हो । श्रेष्ठको आत्मकथा शुक्रबार काठमाडौंमा कलाकार रमेश उप्रेती, नायिका रेखा थापा, पूर्व मिस नेपाल माल्भिका सुब्बा, नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले संयुक्त विमोचन गरे।

श्रेष्ठको आत्मकथा सबै तेस्रोलिंगीको प्रतिनिधित्व गर्ने पुस्तक हुने भन्दै कलाकार, लेखक, सहित्यकार, यौनिक तथा लैंगिक अल्पसंख्यकले शुभकामना दिएका छन् ।

भूमिकालाई जन्म दिने आमा निश्चय नै हिरो भएको नायिका एवं चलचित्र निर्माता रेखा थापाले बताइन । ‘म भूमिका श्रेष्ठ जस्तो बन्न सक्दिन, न भूमिका म जस्तो बन्न सक्छिन नायिका थापाले भनिन्, सबैलाई आफ्नो युनिक पनमा बाच्ने अधिकार हुन्छ ।’ उनले भूमिकाको आत्मकथा हरेक गाउँ, बस्ती, टोल टोलमा पुग्नु पर्ने बताइन ।

थापाले भुमिकालाई आफुले पहिलेदेखि चिनेको तर आज किताबको रुपमा र लेखकको रुपमा चिन्न पाउदा गर्व लागेको बताइन । स्टेजमा रहेकी भुमिकाकी आमालाई देखाउदै आमाले छोरी जन्माएको तर उ हिरो भएको रेखाले बताइन ।

नायक एवं चलचित्र निर्माता रमेश उप्रेतीले भूमिकाको आँट देखेर सेल्युट गर्न मन लागेको बताए । उनले लिंगले समाजमा कुनै फरक नपार्ने भन्दै यो समुदायका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताए । भूमिकाको किताब सबैका लागि उदाहरण बनोस भनेर उप्रेतीले शुभकामना दिए । उप्रेतीले किताबले मानवीय जनजीवनको महत्वपुर्ण पाटो समेटेको बताए ।

पूर्व मिस नेपाल माल्भिका सुब्बाले भूमिका श्रेष्ठको नाममा नागरिकता लिएको हेर्ने मन भएको बताइन । ‘उनले अहिले पनि कैलास श्रेष्ठकै नाममा नागरिकता लिएकी छन् उनले भनिन्, अब भूमिका श्रेष्ठकै नाममा नागरिकता लिएको हेर्न मन छ ।’ सुुब्बाले भुमिकाले भुमिकाको रुपमा नागरिकता पाएको दिन अझ खुशी लाग्ने बताइन ।

उनले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि विवाहको कानून बनेर लागू हुनु पर्ने माग गरिन । विवाहको कानून बन्दैन भने उनीहरुको पार्टनरशिपले बैधानिकता पाओस सुब्बाले भनिन् । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग आफ्नै परिवार जस्तो भएर बसेको बताइन ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले तेस्रोलिंगीको जीवनलाई किताबमा उतारिएको यो पहिलो पटक भएको बताइन । ‘भूमिकाको यो किताब सबै तेस्रोलिंगीसँग मिल्न जान्छ उनले खुशी व्यक्त गर्दै भनिन्, मैले टिपेको कोपिला आज सुन्दर फुलमा परिणत भएको छ, मलाई गर्व लागेको छ ।’

उनले यो किताब किताब मात्रै नभएर किताबले सबै तेस्रोलिंगीको जीवनको पाना पल्टाउने बताइन । उनले लेखन र साहित्यको माध्यमबाट तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँदै लैजान सकिने बताइन । उनले नेपालमा आफुहरुलाई अझै अपहेलित र तल्लो दर्जाको रुपमा हेरिएकोमा रोष ब्यक्त गर्दै यो किताबका माध्यमबाट त्यो कुरा चिरिने बताइन ।

साहित्यकार तथा पत्रकार अश्विनी कोईरालाले पुस्तकले धर्मका कुरा देखि ल्याएर विकास र साहित्यमा जोडेकोमा खुशी ब्यक्त गर्दै पुुस्तकको सफलताको शुुभकामना ब्यक्त गरे । कोइरालाले भूमिकाको कितावमा महाराभारत, रामायण, नेवारी संस्कृतीदेखि लिएर अन्तराष्ट्रिय बिषय समेत राखिएकाले पुस्तक पठनिय भएको बताए ।

पुस्तकका सम्पादक पदम श्रेष्ठले पुस्तकमा तेस्रोलिंगी मात्रै नभएर एलजिबिटिआई सबैको ब्याख्या गरिएको बताए । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार लेखेर मात्रै नहुने भन्दै कार्यान्वयन हुनुपर्ने बताए ।

घोष्ट राइटिङ नेपालका अध्यक्ष एवं लेखन कुन्जका कमल ढकालले हरेक मान्छेलाई किताबमा बदल्ने अभियानको पछिल्लो कडिको रुपमा भुमिका श्रेष्ठको आत्मकथा आएको बताए । तेस्रोलिंगीलाई बुझ्ने माध्यमको रुपमा यो किताब कोशेढुंगा हुनेमा उनको बिश्वास छ ।

ढकालले भूमिकाको जीवनको पुस्तक मात्रै नभएर यौनिक तथा लैंगिक अल्पसंख्यककै जीवनको पुस्तकको रुपमा तेस्रोलिंगीको आत्मकथा विमोचन भएको बताए ।

लेखक श्रेष्ठले भावुक हुँदै आफ्नो समूदायको पीडा बेदना समेटिएको पुस्तक तेस्रोलिंगीको आत्मकथा पढिदिन आग्रह गरिन । आत्मकथामा ३५  बिषय समावेश छन् । २ सय ४० पृष्ठको पुस्तकको मुल्य ३ सय ५० रुपैयाँ राखिएको छ ।